टेलर्सले ल्यायो समृद्धि

‘मैले व्यवसाय र श्रीमानले घर धान्नु भएकोछ’


वीरेन्द्रनगर–६ न्यूरोड सुर्खेतकी मनमाया नेपाली ३५ वर्षकी भइन् । बुबा प्रताप नेपाली र आमा खीमा नेपालीको कोखबाट वि.सं. २०४० साउन २६ गते बाँकेमा उनको जन्म भयो । १५ वर्षको उमेरमा सुर्खेतका खिमबहादुर नेपालीसँग वि.सं. २०५५ सालमा विवाह बन्धनमा बाँधिएकी मनमायाले सुरुमा त घरमै तरकारी खेती गर्दै आएकी थिइन् । श्रीमान् खिमबहादुरको सल्लाह र सहयोगमा उनले विकास सिलाइ–कटाइ तालिम केन्द्रबाट सिलाइ–कटाइ सिकिन् । करिब तीन वर्षजति मनिषा टेलर्स वीरेन्द्रनगरमा उनले काम गरिन् । मासिक ६ हजार कमाउँथिन् मनिषाले त्यो बेलामा ।
श्रीमान्कै सहयोगमा आफ्नै व्यवसाय सुरु गरेकी मनिषाले दैनिक ६ हजारसम्म कमाउन थालेकी छन् । कक्षा ८ सम्म मात्रै पढेकी उनले आफूमात्रै होइन आफूजस्तै अन्य सात जना दिदीबहिनीहरूलाई रोजगार पनि दिएकी छन् । वीरेन्द्रनगर–६ वीरेन्द्रचौकमा माया लेडिज टेलर्स सञ्चालन गर्दै आएकी मनिषाले आफ्नो पेसा र सफलताको कथा साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी सुनाइन्ः
म बाँकेमा जन्मिएको मान्छे, कर्मथलो भने सुर्खेत बनेको छ । १५ वर्षको उमेरमा विवाह गरेर म सुर्खेत आएकी हुँ । पढाइ–लेखाइ खासै गर्न सकिएन, कक्षा ८ सम्म पढेकी छु । श्रीमान्को पनि जागिर छैन तर मेरो परिवार धान्न कुनै अप्ठ्यारो छैन ।
मैलै विवाह गरिसकेपछि घरमै बसेर तरकारी खेती गरेकी थिएँ । त्यसमा मेरो श्रीमान्ले पनि सघाउनु हुन्थ्यो । मेरा दुईवटा छोरा छन् । सानैदेखि भविष्यमा यस्तो गरौंला भन्ने कहिल्यै सोच आएन । कुनै पेशा र व्यवसायप्रति मैले खासै चासो राखिनँ । तर वि.सं. २०६४ सालतिर मेरो श्रीमान्ले मलाई सिलाइ–कटाइ सिक्न सल्लाह दिनुभयो । श्रीमान्कै सल्लाह बमोजिम मैलै सिलाइ–कटाइ सिकें ।


करिब तीन वर्षजति मैले मनिषा टेलर्समा काम गरें । त्यहाँ काम गरेर महिनाको ६ हजार जति कमाइ हुन्थ्यो । वि.सं. २०६७ सालमा ५० हजार रूपैयाँ लगानी गरेर मैले माया लेडिज टेलर्स सञ्चालनमा ल्याएँ । सुरुसुरुमा त खासै परिचित नभएर पनि होला ग्राहक कमै आउँथे । अहिले ग्राहकहरू पनि धेरै आउँछन् र दैनिक ६ हजार जति कमाइ गर्ने भएकी छु । म आफू मात्र रोजगार भएकी छैन आफूजस्तै बेरोजगार अरु सात जना दिदीबहिनीहरूलाई रोजगार दिएकी छु । मैले काम गर्दा त खासै पैसा थिएन एकजोरको जम्मा ४० रूपैयाँ पाउँथे । तर मेरो पसलमा मैले एकजोर कपडा तयार गरेबापत एक सय १० रूपैयाँ ज्याला दिने गरेकी छु ।
दैनिक २० जोर जति शुट र अन्य ‘लेडिज आइटम’ का कपडाहरू तयार गर्दछौं । एक जोर कुर्तासुरुवालको तीन सय रूपैयाँ लिन्छौं अन्य आइटमको हेरीहेरी मूल्य छ । वर्तमान समयमा जो कसैको टेलर्स व्यवसाय राम्रै फस्टाएको छ । म मेरो पेसाप्रति सन्तुष्ट छु । दुई छोरा, श्रीमान् र म गरी चार जनाको परिवारलाई कुनै कुराको कमी भएको छैन । सिजनको बेलामा अलि हतार हुन्छ । बिहान ६ बजेदेखि बेलुकी करिब ८ बजेसम्म पनि म पसलमै हुन्छु । पसलमा म व्यस्त हुने भएकोले घरको काममा समेत मेरो श्रीमान्ले सघाउँनुहुन्छ । मलाई मेरो पेसाप्रति गर्व छ ।
यही पेसा जसले मेरो परिवारमा समृद्धि ल्याएको छ । मेरो परिवारको साथ र सहयोग नभएको भए आज म यो अवस्थामा हुने थिइनँ । मैलै व्यवसाय धानेकी छु, मेरो श्रीमान्ले घर धान्नुभएको छ । कहिले काहीं पसलमा पनि सघाउनुहुन्छ । पुरुषले कमाउने र महिलाले घरमा बसेर खानुपर्छ भन्ने पुरानो सोचलाई तोड्न पाउँदा झन् खुशी लाग्छ । हामी महिलालाई परनिर्भर ठान्ने परम्परा तोड्न जरुरी छ । जसका लागि हामी महिलाहरू आफै जागरुक भएर लाग्नुपर्दछ ।

प्रकाशित मितिः   २६ बैशाख २०७५, बुधबार १५:१३