ठेला व्यापारले धानेको जीवन
दैनिक दुई हजार आम्दानी, घरखर्चदेखि भविष्यका लागि बचत सम्म
साझा बिसौनी संवाददाता
सुर्खेत, २४ वैशाख ।
वीरेन्द्रनगर ३ तातापानीकी कमला ज्ञवाली हरेक बिहान झिसमिसेमै ठेला धकेल्दै मंगलगढीचौकमा आइपुग्छिन् । उनको ठेलामा करिब १०÷१२ केजी स्याऊ, सुन्तला लगायत अन्य फलफूल हुन्छन् । दिनभर सडक किनारमा उभिएर फलफूल बेच्छिन्, साँझ परेपछि घर फर्किन्छिन् । उनको दैनिकी हो, यो ।
कमलाको यही काम नै उनको परिवारको आम्दानीको प्रमुख स्दानी गर्छिन् । व्यापार गर्ने ठाउँको भाडा र महिनाभरीको खर्च कटाएर विभिन्न सहकारीमा र समूहमा भविष्यका लागि बचत समेत गर%Aन् । ३९ वर्षीया ज्ञावलीले सुरुमा तीन हजारको फलफूल बेचेर व्यापार सुरु गरेकी हुन् । हाल उनले एक हजारको फलफूल खरिद गरी बेच्दा दुई हजार आम्दानी गर्छिन् । व्यापार गर्ने ठाउँको भाडा र महिनाभरीको खर्च कटाएर विभिन्न सहकारीमा र समूहमा भविष्यका लागि बचत समेत गरेकी छिन् । उनले भनिन्, ‘घर खर्चबाट बचेको पैसा सहकारी र समूहमा बचत गर्ने गरेकी छु ।’
लाटीकोइलीकी अमृता वलामी मगरले पनि ठेला व्यापारबाटै सात जनाको परिवार पालेकी छिन् । त्यति मात्र होइन भविष्यका लागि सहकारीमा बचत समेत गर्दै आएको उनी बताउँछन् । ‘वीरेन्द्रनगरको बसाइँ, महँगी बढ्दै गएको छ, सबै कुरा किन्नुपर्छ तर पनि बिहानदेखि साँझसम्म खट्न सके राम्रौ आम्दानी हुन्छ’ अमृताले भनिन् । उनले सुरुमा १० हजार ऋण झिकेर ठेला व्यवसाय सुरु गरेकी हुन् । १० हजारबाट सुरु गरेको ठेला व्यापारबाट हाल उनले दुई हजार रूपैयाँ दैनिक आम्दानी गर्छिन् । पसलबाट आएको आम्दानीले दुई छोरीलाई बोर्डिङ्ग स्कुलमा पढाउँदै आएकी छन् । उनले भनिन्, ‘छोराछोरीको पढाइ शुल्क तिर्छु, परिवारका सदस्यहरू बिरामी हुँदा उपचार र अन्य खर्च पनि यही व्यापारबाट हो ।’
कमला र अमृता त उदाहरण मात्रै हुन् वीरेन्द्रनगरमा यसरी ठेला व्यवसायबाटै जीवन धानिरहेकाहरूको संख्या उल्लेख्य छ । मेहेनत गर्ने हो भने पैसा कमाउनलाई विदेश जानु तथा कुनै ठूलो कार्यालयमा जागिर खानुपर्दैन भन्ने गतिलो उदाहरण समेत हुन्, उनीहरू । भन्छन्, ‘पहिचान गर्न सके काम र दाम यहीं छ ।’ वीरेन्द्रनगरका विभिन्न सडक छेउमा ठेला–व्यापार गर्ने महिलाले आफ्नो परिश्रमबाट जीविकोपार्जन मात्र होइन् आफ्नो घर खर्चसमेत चलाउनसक्ने भएका छन् । यति मात्र होइन बालबच्चालाई निजी विद्यालयमा समेत पढाउन सफल छन् । ठेलामा चना–चटपटे बेच्नेदेखि चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागि समेत आफ्नै कमाइले पुग्ने हुँदा खुशी छन् उनीहरू ।
सानै भए पनि आफैले व्यवसाय गर्दा सजिलो पनि भएको कमलाको अनुभव छ । घरपरिवार बिरामी हुँदा वा काम परेको समयमा नगर्न पनि मिल्ने तथा स्वतन्त्र रूपमा सञ्चालन गर्न पाइने भएकाले अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सजिलो लाग्ने उनले बताइन् । ‘हातखुट्टा राम्रोसँग चल्नेले पनि माग्दै हिँड्छन्, मलाई त्यो मन पर्दैन । सानोतिनो काम गरेर जीविकोपार्जन गर्न सकिने हुनाले देशमा केही गर्नसके सबैलाई फाइदा हुन्छ,’ उनी भन्छिन्, ‘जाँगर चलाउनेलाई कहीं पनि भोकै मर्नुपर्दैन । कामलाई सम्मान गर्नसके त्यसबाट आम्दानी राम्रो हुन्छ ।’ उनले ठेला व्यापार सञ्चालन गरेको करिब दुई वर्ष पुग्न लागेको छ ।
कमला जस्तै अमृता पनि रोजगारीका लागि विदेश जाने युवायुवतिहरूलाई नेपालमा पनि थुप्रै सम्भावना भएको बताउछिँन् । उनी भन्छिन्, ‘परिवारलाई खर्च धान्नका लागि सबैभन्दा उत्तम काम यही लाग्यो, जाँगर चलाउन सके १५÷२० हजार खेलाउन विदेश गइरहनुपर्दैन ।’ जागिरका लागि कसैलाई सिफारिस गरिरहनुभन्दा स्वाभिमानको यस्तो पेसाले सबैलाई फाइदा पु¥याउने उनको भनाइ छ । सानोतिनो काम देशमा गर्न लाज मान्दै ऋण
खोजेर विदेश पुग्नेहरू दर्दनाक पीडा लिएर घर फर्केको देखेर बरु आफ्नो परिवारको साथ बसेर केही गरौं भन्ने सोचले व्यापार सुरु गरेकी हुन् उनले । ‘मेहेनत र लगानी गरे विदेश नै कुद्नु पर्दैन’ उनले भनिन्, ‘कमाइ गर्न र पेट पाल्न विदेशिनु नै पर्दैन । घरपरिवार पाल्न र दैनिक खर्च सञ्चालनका लागि ठेला व्यापारले निकै सहयोग पुगेको छ ।’ घरखर्चसँगै दैनिक रूपमा सहकारीमा बचत गरेर दैनिक एक सय रूपैयाँ बचत गर्दै आएकी छन् उनी । तरकारी, चियानास्ता मात्र होइन ठेलामा चना–चटपटे बेच्ने व्यापारीहरूले वीरेन्द्रनगरमा राम्रो आम्दानी गरेका छन् । ‘वास्तवमा कामको कमी कहीं पनि छैन, त्यसलाई पहिचान र सम्मान गर्नसके जाँगर चलाउनेलाई जहाँ पनि काम र दाम दुवै छ’ उनले भनिन् ।
साझा बिसौनी ।