असारे विकास सक्ने चटारो
साझा बिसौनी संवाददाता
सुर्खेत, २० वैशाख ।
आर्थिक वर्ष सकिन करिब तीन महिना बाँकी छँदै सुर्खेतमा विकास निर्माणको काम सक्ने चटारो सुरु भइसकेको छ । विकास आयोजनाको भुक्तानी समयमै लिन ठेकेदार कम्पनीदेखि उपभोक्ता समितिसमेत लागिपरेका छन् । संघीय संरचना अनुसार अधिकार सम्पन्न स्थानीय सरकार आएसँगै विकासे योजनामा लाखौं रकम विनियोजन भएको छ । विगतका वर्षभन्दा धेरै बजेट करिब दोब्बरले चालु आर्थिक वर्षका विकासे योजनाहरू निर्माण थालिएका छन् ।
भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिकताका साथ स्थानीय सरकारबाट बजेट विनियोजन भएको छ । स्थानीय तहका सबै वडाहरूमा सडक निर्माण, खानेपानी आयोजना, सिँचाइ कुलो, विद्यालयका भवन मर्मतलगायतका विकास योजनामा स्थानीय तहले करोडौं बजेट खर्चिन लागेका छन् । विकास आयोजना निर्माण बजेट फ्रिज हुने भन्दा पनि काम कसरी समयमा सक्ने र रकम कुम्ल्याउने भन्ने योजनामा निर्माण समितिहरू लागेका छन् । जसले गर्दा विगतका वर्षझै यस आर्थिक वर्षमा पनि विकास निर्माणका कामहरूमा हुने बेथिति रोकिएको छैन । हतारमा रातारात आयोजना निर्माण सक्ने र रकम निकासा लिने प्रचलन अन्त्य हुन सकेको छैन ।
रकम भुक्तानी लिने दाउमा रहेका निर्माण समितिदेखि ठेकेदारबाट हुने गुणस्तरहीन काम रोक्न स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई चुनौती बनेको छ । विकास आयोजना निर्माण कार्य धमाधम भइरहेका बेला जनप्रतिनिधिहरूले निगरानी बढाएका छन् । विकास योजना गुणस्तरीय बनाउन र लापरबाही हुन नदिन जनप्रतिनिधिले नियमित अनुगमन गरिरहेका छन् । अनुगमनका क्रममा मापदण्ड विपरित निर्माण भएका योजनाहरूको पुनर्निर्माण गर्नसमेत जनप्रतिनिधिले निर्देशन दिने गरेका छन् । जनप्रतिनिधिको आँखा छलेर योजना निर्माण गर्दा
गुणस्तरीय काम नहुने भएकाले अनुगमन तीव्र पारिएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले बताइन् । उनले विकासे बजेट भुक्तानी लिने चटारो सुरु भइसकेको बताइन् ।
अनुगमनका क्रममा स्टिमेट अनुसार काम नभएको पाइएमा निर्देशन समेत दिने गरेको बताइन् । विकासे आयोजनाको नियमित अनुगमनमा व्यस्त बनेकी उनले भेरीगंगा–८ स्थित निर्माणाधीन रंगशालाको अनुगमन गरेकी छन् । अनुगमनका क्रममा रंगशाला निर्माणमा लापरबाही भएको पाइएको उनले बताइन् । वडा नम्बर ८ मा निर्माण भइरहेको नगरस्तरीय रंगशालामा नगरका जनप्रतिनिधिहरू अनुगमनमा जाँदा गुणस्तरहीन भएको पाइएपछि काम नै रोकिएको उनले बताइन् । निरन्तर वडा अध्यक्ष लगायत सदस्यहरूले अनुगमन गर्ने गरेका
छन् । उपभोक्ता समितिमार्फत् निर्माण थालिएको उक्त रंगशाला जनप्रतिनिधि नभएको समय छोपेर गुणस्तरहीन काम गरिएकाले सचेत गराउन काम रोकिएको बताइन् । उपप्रमुख आचार्यले गुणस्तरहीन भएको भन्दै निर्माण भएको पाँच मिटर पर्खालसमेत भत्काएकी थिइन् ।
आचार्यको नेतृत्वमा गएको अनुगमन टोलीले काम गुणस्तरहीन भेटाएपछि निर्माण कार्य अगाडि नबढाउन निर्देशन दिएको छ । उपप्रमुख आचार्यले दीर्घकालीन सोच अनुसार निर्माण गर्न थालिएका योजनाहरू निर्माण चरणमै गुणस्तरहीन भेटेपछि काम रोक्नुपरेको बताइन् । ‘सुरुमै यस्तो काम हुँदा कति दिनसम्म टिक्ने हो ?’ उनले भनिन्, ‘अब पनि चुप लागेर बसेमा राज्यको पैसा बालुवामा पानी खन्याए जस्तै हुन्छ । तसर्थ हामी विकासे आयोजनामा निगरानी बढाएका छौं ।’ विकासे आयोजनाको अनुगमनका क्रममा मापदण्ड अनुसार काम नभएको भेटिएकाले मापदण्ड अनुसारको काम गर्न उपभोक्ता समितिलाईसमेत आग्रह गरिएको भेरीगंगा नगरपालिका–८ का वडा अध्यक्ष पदमबहादुर खत्रीले बताए ।
‘निर्माण हुँदा दैनिक निरीक्षण भइरहेको थियो, दुई÷तीन दिन तालिम परेकाले बाहिर जाँदा मापदण्ड अनुसार मिच्ने काम भएछ’ अध्यक्ष खत्रीले भने, ‘जनप्रतिनिधि नभएको मौकाछोपी पर्खाल निर्माण र पिल्लर उठाउँदा मापदण्ड भन्दा कमशल सामग्री प्रयोग गरेको पाइयो, उपभोक्ता समिति नसच्चिएसम्म काम अगाडि बढ्दैन ।’ नगरपालिकाको ५० लाख रूपैयाँ लागतमा उक्त योजनाको निर्माण थालिएको हो । ठेकेदार कम्पनीले स्टिमेट अनुसार काम नगर्दा गुणस्तरहीन हुने भएकाले उपभोक्ता समितिले समेत विकास निर्माणमा लापरबाही गर्न थालेको उनले बताए । रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र नगाललाई कमजोरीका विषयमा सच्याउनका लागि नगरपालिकाले अनुरोध गरेको छ । गुणस्तरहीन भएको ठाउँमा उपभोक्ता समितिसँग छलफल गरी पुनः निर्माण गर्न लगाउने अध्यक्ष खत्रीले बताए । आफ्नो क्षेत्रमा भएका सबै विकास निर्माणका योजनाहरूमा कडाइका साथ निगरानी गर्ने जनप्रतिनिधिहरूले बताएका छन् ।
साझा बिसौनी संवाददाता ।