एक महिनाभित्र स्थायी भवन निर्माण

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ वैशाख ।
करिब तीन महिनासम्म चलेको कर्णाली प्रदेशको पहिलो संसद अधिवेशन मंगलवारदेखि अन्त्य भएको छ । प्रदेशको नाम र राजधानीको टुङ्गो लगाउनेदेखि सरकारको नीति तथा कार्यक्रमसहित बजेट पारित गर्दै सकिएको पहिलो अधिवेशनका २२ वटा बैठक भने अस्थायी संसद भवनमा नै सम्पन्न भएका छन् । स्थायी भवन मर्मतमा भएको ढिलाइका कारण पहिलो संसद अधिवेशन अस्थायी भवनमा सकिएको हो ।


भौतिक संरचना र कर्मचारी अभाव झेलेको कर्णाली प्रदेशसभा सचिवालयले पहिलो हिउँदे अधिवेशन अस्थायी संसद भवनमा नै सम्पन्न गरेको हो । प्रदेश सरकार सञ्चालनका लागि भौतिक व्यवस्थापनको जिम्मेवारी पाएको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले स्थायी संसद भवनका लागि क्षेत्रीय शैक्षिक तालिम केन्द्रलाई उपयुक्त भएको प्रतिवेदन केन्द्र सरकारलाई बुझाएको थियो । प्रतिवेदनमा उक्त भवन ‘इको साउण्ड’ का कारण संसद बैठकहरू बस्न नमिल्ने उल्लेख भएसँगै यो अधिवेशनका २२ वटा बैठक नै अस्थायी संसद भवनको रूपमा प्रयोग गरिएको क्षेत्रीय सिँचाइ डिभिजन कार्यालयमा सकिएका हुन् ।

पर्याप्त भौतिक संरचना र सुरक्षाको दृष्टिकोणले उपयुक्त मानिएको तालिम केन्द्रको भवन प्रतिवेदन पेश गरेको करिब सात महिना बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । उक्त भवनको स्तरोन्नतिको काम भने अझै अधुरै छ । मर्मत र सुधार लगायतका काममा ढिलाइ हुँदा स्थायी संसद भवन बैठक सञ्चालनमा आउन नसकेको हो ।

प्रदेशसभा सदस्यहरूले पनि पटक–पटक संसद भवनको व्यवस्थापन गर्न आवाज उठाउँदै आएका छन् । अधिवेशन समापनका क्रममा बोल्ने अधिकांश सांसदहरूले पनि आगामी संसद बैठक स्थायी भवनमा बसाल्ने गरी कर्णाली प्रदेश सरकारले काम गर्न ध्यानाकर्षण गराएका थिए । अस्थायी संसदमा व्यवस्थित नहुँदा समस्या भएको भन्दै उनीहरूले तत्काल स्थायी संसद भवनको निमार्णतर्फ सरकार गम्भीर हुन आग्रह गरे ।
भवनको व्यवस्थापनको जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण डिभिजन क्षेत्रीय कार्यालय सुर्खेतले सरकारी प्रक्रिया पूरा गर्दा भवन मर्मतमा ढिलाइ भएको बताएको छ । कार्यालयका अनुसार गुणस्तरीय र उत्कृष्ट भवनका निर्माणका लागि टेण्डर आव्हान गर्दा ढिलाइ भएको हो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख थम्बराज श्रेष्ठले भवन मर्मत सुधारका लागि टेण्डर आव्हानसँगै काम तीव्र पारिएको बताए । जतिसक्दो छिटो संसद बैठक सञ्चालन गर्न सकिने गरी काम अघि बढाइएको उनले बताए । ‘भवन मर्मत कार्यलाई पाँच भागमा विभाजन गरिएको छ’ उनले भने, ‘एक महिनाभित्रै बैठक बस्न सक्ने गरी निर्माण थालिएको हो ।’ प्रदेशसभा हलभित्रको दर्शक दीर्घाको लेभल राइज गर्ने तथा अन्य सिभिल काम, स्तरोन्नति कार्य अन्तर्गत इको व्यवस्थापन सम्बन्धी काम, आवश्यक पर्ने फिनिसिंग सम्बन्धी काम, पर्खाल रंगरोगन, रेलिङ्ग सम्बन्धी काम र इलेक्ट्रिकल व्यवस्थापनको काम तीव्र पारिएको उनले जानकारी दिए ।
भवनको मर्मत कार्यमा बी एण्ड पी निर्माण सेवाले १९ लाख ५७ हजार एक सय ७० रूपैयाँ लागतमा दर्शक दीर्घाको लेभल गर्ने तथा सिभिलको काम निर्माण थालेको छ । १९ लाख ८३ हजार ४० रूपैयाँमा पीएस कन्स्ट्रक्सनले भवनको स्तरोन्नति अन्तर्गत साउन्ड ‘इको’ व्यवस्थापन गर्ने काम तीव्र पारेको छ । प्रविन निर्माण सेवा सुर्खेतले १९ लाख २३ हजार पाँच सय ३३ रूपैयाँ लागतमा प्रदेश सभाहलको लागि आवश्यक पर्ने फिनिसिङ्गको काम थालेको छ । सभाहलको स्तरोन्नति कार्य अन्तर्गत वाल पेन्टिङ्ग तथा रेलिङ्ग व्यवस्थापनका लागि बबिता निर्माण सेवाले काम गरेको छ । जसका लागि १८ लाख ९० हजार ८ सय ४३ रूपैयाँमा ठेक्का सम्झौता गरिएको कार्यालयले जनाएको छ । यस्तै, पीएस कन्स्ट्रक्सन सुर्खेतले सभाहलभित्र विद्युत जडानको काम सुरु गरेको छ । १९ लाख ९३ हजार तीन सय ३२ रूपैयाँ लागतमा उक्त काम थालिएको हो ।
आगामी दोस्रो संसद अधिवेशन उक्त भवनमा बसाल्ने गरी मर्मतको तीव्र तयारी भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । तालिम केन्द्र परिसरमा प्रदेश सभा सचिवालय भने करिब एक महिना पहिले नै सरिसकेको छ ।

प्रकाशित मितिः   २० बैशाख २०७५, बिहीबार १६:२४