‘पौडी खेल्दा भण्डै बगेको थिएँ’

रत्नबहादुर बुढा भेरी माध्यमिक विद्यालय रानीघाटका प्राधानाध्यापक हुन् । वि.सं. २०५२ सालदेखि शिक्षण पेसा सुरु गरेका उनी अहिले नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतको अध्यक्ष समेत छन् । बुबा दरबहादुर बुढा र आमा ठुङ्रीकला बुढाको कोखबाट वि.सं. २०२८ पुस ८ गते बराहताल गाउँपालिका–२ हरिहरपुरमा जन्मिएका बुढाले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन् ।

मेरो जन्म हरिहरपुरमा (हाल बराहताल गाउँपालिका–२) भयो । हामी चार भाइबहिनी छौं । म घरको जेठो सन्तानका रूपमा जन्मिएको हुँ । तीन भाइ र एक बहिनी छौं । बाल्यकाल मेरो रानीघाटमा नै बित्यो । बाल्यकालमा पढाइप्रति मेरो रुचि धेरै थियो । म पाँच वर्षको उमेरमा विद्यालय जान थालेको हुँ । त्यसबेलामा गाउँमा कक्षा एकसम्म मात्र पढाइ हुन्थ्यो । गाउँमै कक्षा एकसम्म पढेपछि दुुई कक्षा पढ्न अर्कै गाउँमा जानुपथ्र्यो । विद्यालय घर भन्दा धेरै टाढा थियो । हिँडेर जान धेरै समय लाग्ने भएको कारणले मैले सानै उमेरमा घर छोडनुप¥यो । दुई कक्षादेखि पढ्न म श्रीचौरमा गएँ । त्यहाँ आफन्तको घरमा बसेर पढ्थें । बुबा–आमाको काखमा बसेको एक्कासी टाढा बस्नुपर्दा सुरुमा त धेरै गाह्रो भयो । दिनभरी साथीभाइहरूसँग हुँदा खासै घरको सम्झना आउँदैन्थ्यो । जब रात पर्दै जान्थ्यो अनि घरको सम्झना आउँथ्यो । निन्द्रा लाग्दैनथ्यो । नरमाइलो लाग्ने हुन्थ्यो । १०÷१५ दिनमा बुबा लिन जानुहुन्थ्यो । त्यसबेलामा नुनतेल लिन राजापुर जानुपथ्र्यो । बुबा प्रायः राजपुर गइरहनुहुन्थ्यो । बाटो त्यही पर्ने भएको कारण पनि सजिलो हुन्थ्यो । बुबासँग भेट भइरहन्थ्यो । बुबाले केही समानहरू किनेरर छोडिदिनुहुन्थ्यो ।
कक्षा ४ पढ्दा विजयश्वरी मावि पाम्का पढ्न सुरु गरें । त्यहाँ पढ्न जानेबेलामा धेरै जसो घरबाट हिँडेर नै जाने गथ्यौं । घरबाट विद्यालय जान डेढ घण्टा लाग्थ्यो । वर्खाको समयमा भने उतै बस्थ्यौं । भेरीको किनारा भएर जानुपथ्र्यो । बाटो अप्ठ्यारो थियो । आफन्तको घरमा बस्नुपथ्र्यो कहिले काहीं छात्रबासमा पनि बस्थ्यौं ।
म कक्षा पाँचमा पढ्दा बुबा बित्नु भयो । बाल्यकालमै घरको अभिभावक गुमाउनु धेरै नै दुःखको क्षण थियो । अहिले पनि सम्झदा नरमाइलो लाग्छ । बुुबाको मृत्यु भएपछि पढाइसँगै घरको जिम्मेवारी पनि थपियो । बुबा नभए पनि आमाले हामीलाई पढाउने साहस भने त्याग्नु भएन् । म घरको काम गरेर पनि विद्यालय पढ्न जान्थें । त्यसबेलामा मेरो फुपु–पुसाजु, मामाहरू लगायत आफन्तहरूले साथ दिनुभयो ।
बुबा बित्नु भएपछि गाउँघरमा हुने साना विकासका कामहरूमा कुनै बैठक भयो भने जानुपथ्र्यो । खेल्न रुचि त केटाकेटी हुँदा हुन्थ्यो नै । साथीहरूसंग खेल्थें पनि तर बुबा नभएकाले घरको कामसँगै बाहिरका कामहरूमा पनि सहभागी हुनुपर्ने हुन्थ्यो । गाउँमा हुने बाटो खन्दा, पानी ल्याउने लगायतका कामहरूमा जनश्रमदान, वडा भेलाहरू, सार्वजनिक कामहरूमा प्रायः बुबा जानुहुन्थ्यो । पछि बुबाको मृत्यु भएपछि सबै ठाउँमा म जान्थें । त्यसकारण पनि साथीहरूसँग धेरै खेल्न भने पाइन । कहिल काहीं साथीहरूसँग डन्डीबियो, भलिबल खेल्ने गथ्र्यौं । मैले धेरै खेल्ने, रमाउने भन्दा पनि व्यवहारिक कुराहरू सिक्ने मौका पनि पाएँ । गाउँघरमा सत्यनारायणका पूजा लगाउँदा खुब जान मनपथ्र्यो । सधैंभरी सत्यनारायाणको पूजा लगाएको भए हुन्थ्यो भन्ने लाग्थ्यो ।
कक्षा पाँचसम्म पढ्ने बेलामा त कहिले काहीं बदमासी पनि गरियो । केटाकेटीको मन केही देख्यो भने खान मन लागिहाल्ने हुन्थ्यो । कहिले उखु पनि चोरेर खाइयो । तर त्यति ठुलो सजाय नै पाउने गरी गल्ति भने गरेनौं । हामी प्रायः पौडी खेल्न भेरीमा जान्थ्यौं । बुबाआमाले पौडी नखेल भनेर गाली गर्नुहुन्थ्यो । पहिलो पटक पौडी खेल्नेबेलामा झण्डै पानी खाएर बगेको थिएँ । त्यसबेला एक जना मेरो दाई हुनुहुन्थ्यो । उहाँले बचाउनुभयो । पछि त सजिलैसँग पौडिन र तैरिन सक्थे । अझै पनि पौडी खेल्नसक्छु ।
९ र १० पढ्न वीरेन्द्रनगर आएँ । भैरवमाविमा पढें । यहाँ कोठा लिएर बस्नुपथ्र्यो । हिलेखालीमा बसेर पढ्थ्यौं । एक जना साथीसँगै बसेर पढ्थें । यहाँ बस्दा पनि धेरै दुःख पाएको थिएँ । कोठाभाडा सस्तो पर्छ भनेर आफन्तकोमा काठा लिएर बसेको थियौं । वर्खाका समयमा कोठा चुहिने हुन्थ्यो । कहिले काहीं त रात भरी नै नसुतेर बस्नु पनि पथ्र्यो । यहाँ बसेर पढ्दा एक हप्ताको शनिवार रासन लिन घर जान्थ्यौं भने अर्को हप्ताको शनिवार दाउरा लिन जंगल जाने गथ्र्यौं । मैले भैरव माविबाटै २०४६ सालमा एसएलसी गरेको हुँ ।
म पढाइमा राम्रो विद्यार्थी थिएँ । सानो छँदा स्वास्थ्यकर्मी बन्ने मेरो सपना थियो । स्वास्थ्यकर्मीहरूको व्यक्तित्वदेखि म धेरै प्रभावित थिएँ । ९÷१० मा पढ्ने बेलामा अनिवार्य विज्ञान पढेकाले मात्र स्वास्थ्य क्षेत्र पढ्न पाउने रहेछ । पछि स्वास्थ्यकर्मी बन्ने सपना पूरा भएन । एसएलसीपछि आइकम पढें । आइकम पढेपछि गाउँकै विद्यालयमा शिक्षण पेसा सुरु गरें । २०५२ सालबाट मैले शिक्षण पेसा सुरु गरेको हुँ । अहिलेसम्म शिक्षण पेसामा नै आवद्ध छु ।

प्रकाशित मितिः   १० बैशाख २०७५, सोमबार १३:४५