‘क्लास बंक गरेर फिल्म हेर्थ्यौँ’
चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ आपरपाटा दैलेखमा जन्मिएका धुपेन्द्रबहादुर शाही परिवारका जेठा छोरा हुन् । २०४७ वैशाख २ गते आमा पारादेवी शाही र बुबा पदमबहादुर शाहीको कोखबाट जन्मिएका धुपेन्द्र सानैदेखि पढाइमा तेज थिए । दैलेखको विकट गाउँमा जन्मिएर त्यहीबाटै एसएलसी उत्तीर्ण गरेका उनी अहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा स्नातकोत्तर तहमा अध्ययनरत छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मार्फत् विद्यार्थी राजनीतिमा पनि सक्रिय धुपेन्द्र आफ्नो ‘कलेज लाइफ’का बारे साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी खुलेः
परिवारको चाहना शिक्षक, मेरो सपना डक्टर
मेरो सानैदेखिको सपना एमबीबीएस डक्टर बन्ने थियो । एलएलसी उत्तीर्ण भएपछि त्यही सपना बोकेर म उच्च शिक्षा अध्ययनका लागि सुर्खेत आएँ । बचपनदेखिको मेरो चाहानालाई पूरा गर्न जन उच्च माध्यमिक विद्यालयमा मैलै साइन्स विषय रोजेर पढ्न थालें । त्यतिबेला मलाई उच्च माध्यमिक तहसम्मको मेरो सपना पूरा भएको अनुभूति भएको थियो । मध्यम वर्गीय मेरो घरपरिवारको चाहना भने छोरो शिक्षक बनोस् भन्ने थियो ।
कलेजमा पहिलो दिन
दैलख जिल्ला, त्यसमा पनी विकट गाउँमा जन्मिएर त्यहीं हुर्किएको मलाई सुर्खेत बजारमा रहेको कलेजको पहिलो दिन नौलो लाग्यो । नयाँ मान्छे, नयाँ परिवेश, सबै–सबै नौलो लागिरहेको थियो । कता–कता असहज र एक्लोपनको महसुस मैले गरेको थिएँ । घरपरिवार र गाउँका साथीसंगी छोड्दाको पीडा बेग्लै हुँदोरहेछ । तर मेरो सपनाले मलाई ऊर्जा दिइरहन्थ्यो । कलेजको पहिलो दिन साथी पनी बनाउन सकिनँ, एक्लै भएँ । स्वाभाविक रूपमा विद्यालयको पढाइ र कलेजको पढाइ फरक हुन्छ । नयाँ पाठ्यक्रम, नयाँ शिक्षक अनी नयाँ वातावरणमा मैलै फरक महसुस गरें । कलेजको त शिक्षण शैली पनी फरक हुंदोरहेछ । तर म बच्चैदेखि पढाइमा बढी नै रुचि राख्ने भएकोले सहज पनी लाग्यो ।
क्लास बंक गरेर फिल्म हेर्न
साथीहरूसँग मिलेर क्लास बंक खुब गरिन्थ्यो । अगाडि शिक्षकले पढाइरहेको बेला पछाडिको ढोकाबाट सुटुक्क बाहिर निक्लिने गर्थें । एकपटक कक्षा कोठाको पछाडि ढोकाबाट निक्लिन लागेको बेला म्याडमले खुब गाली गर्नुभयो । त्यो दिन सम्झिंदा आज पनि रमाइलो लाग्छ । त्यसपछि एक÷दुई दिन त त्यसरी भाग्न छोडियो पनी तर मनले कहाँ मान्थ्यो र ! साथीहरूसँग मिल्यो हिँड्यो ।
मेरो लागि कलेज लाईफको सबैभन्दा मज्जा लाग्ने इभेन्ट नै क्लास बंक नै हो । क्लास बंक गरेर साथीहरूसँग फिल्म हेर्न गइन्थ्यो । कलेजबाट पिकनिक जान पनि रमाइलो नै लाग्थ्यो । कलेजका नराम्रा पक्ष मैले भेटेकै छैन ।
एकोहोरो प्रेम गरें, भन्न सकिनँ
जिन्दगीको सुरुवात नै कलेज लाइफबाट हुँदो रहेछ । जीवनको खुशी जति कलेज लाइफकै भागमा परेजस्तो लाग्छ मलाई । मन मिल्ने सथीसंगी हुन्छन् । सबै कुरा उनीहरूसँग साटासाट हुन्छ । प्रेम, दुःख, सुख साटासाट गर्ने माध्यम पनि रहेछ, कलेज लाइफ । मैले कलेज लाईफमा एक जनालाई एकोहोरो प्रेम गरें । प्लस टू पढ्दा एकजनालाई खुब मन पराउँथें तर भन्नै सकिनँ । उनको सामु गएर मनको कुरा खोल्नै सकिनँ । कसैलाई प्रेम त गरियो तर डेटिङ कहिल्यै गइनँ ।
भोकै सुत्नुपर्दा…
म मध्यम वर्गीय परिवारमा जन्मिएको हुँ । आर्थिक अवस्था मजबुत थिएन । त्यसैले पनि धेरै दुःख गर्नुप¥यो । कलेज लाईफमा धेरै नै संघर्ष गरियो । कतिदिन त भोकै पनी सुत्नुप¥यो । कापी कलम किन्न पैसा हुँदैनथ्यो । हामी चार भाइबहिनी छौं । दुई भाइ र दुई बहिनी । भनेको समयमा घरबाट पैसा आउँदैनथ्यो । कोठाभाडामा बस्नुपर्ने समस्या त आई नै हाल्थ्यो । तर मैलै कहिल्यै हार खाइनँ ।
…अनि बाटो मोडियो
मलाई समाज सेवा गर्न मन पर्छ । दुःखमा परेकालाई सहयोग गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । डक्टर बनेर समाज सेवा गर्ने सपना त मोडियो अब कुशल राजनीतिज्ञ बन्ने लक्ष्य छ । मध्यम परिवारमा जन्मिएकोले डाक्टर बन्ने सपना अँधुरो भयो । बीएस्सीसम्म त पढें त्यसपछि मेरो जीवनले अर्कै मोड लियो ।
अहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आईआरमा स्नातकोत्तर गर्दैछु । पब्लिक साईन्स क्याम्समा बीएस्सी पढ्दै गर्दा अन्जु शाहीसँग प्रेम विवाह गरें । हामी दुवै मिलेर पढाइ सँगसँगै व्ययावसाय पनि सञ्चालन गरेका छौं । अब राजनीतिबाटै समाज सेवा गर्ने सोचमा छु । अहिले अनेरास्वीयु जिल्ला सुर्खेतको अध्यक्ष भएर काम गरिरहेको छु । जीवनमा संघर्ष गर्न डराउने हो भने कहिल्यै प्रगति हुँदैन । सबैभन्दा रमाईलो र संघर्ष कलेज लाइफमा नै हुन्छ । त्यसैले कलेज लाइफलाई राम्रोसँग उपयोग गर्न सक्यो भने जिन्दगीमा प्रगतिले आंफै पछ्याउँछ । अहिले पढाइका लागि घरमा पनी मैलै थुप्रै समय बिताउने गर्छु । देशको राजनीतिबारे जान्न मन लाग्छ । त्यसैले पाठ्यक्रमका पढाइको अलवा पत्रपत्रिकाहरू खुब पढ्छु । गाउँबाट ठूलो सपना बोकेर आएको त्यसैले पनी होला जिन्दगीमा पढ्नै नपरे हुन्थ्यो जस्तो त कहिल्यै लागेन ।
साझा बिसौनी ।