ठेकेदारको चरम लापरबाही

गोविन्द देवकोटा
जुम्ला, १९ चैत ।
कर्णाली राजमार्ग सञ्चालनमा आएको ११ वर्ष बितिसकेको छ । नेपाली सेनाको नेतृत्वमा निर्माण भएको राजमार्ग सञ्चालनमा आएको यति धेरै समय हुँदा पनि यात्रुले ढुक्क भएर यात्रा गर्ने अवस्था छैन । यो राजमार्गमा भएका दुर्घटनामा हालसम्म सयौं यात्रुको मृत्यु भइसकेको छ । जसका कारण यो राजमार्गलाई मृत्युमार्गको रूपमा परिभाषित गरियो ।


सुर्खेतदेखि जुम्ला जोड्ने यो राजमार्गमा पछिल्लो दुई वर्षदेखि दुर्घटनामा कमी आएको छ । तर सडको हालत सुध्रिन नसक्दा भने यात्रुहरूले सास्ती भोग्नुपरेको छ । सुर्खेतदेखि जुम्लासम्मको दुई सय ३२ किलोटिरमध्ये करिब ९५ प्रतिशत सडक ओटाशिल गरिएको छ । दूरीका हिसाबले बढीमा आठ घण्टाको यात्रामा पुग्न सकिने यो राजमार्गमा दुई दिन लगाएर यात्रा गर्नुपर्ने बाध्यता छ । साँघुरो सडकका कारण दोहोरो सवारी चल्न नसक्ने बाध्यता त छँदै थियो, त्यसमाथी सडकमा निर्माणाधिन पुलहरू नबन्दा समस्या बल्झिएको छ ।
यो राजमार्ग अन्तर्गत दैलेखदेखि जुम्लासम्मको खण्डमा जम्मा नौ वटा खोलामा पुल निर्माण गर्नुपर्ने अवस्था छ । ती मध्ये हालसम्म जम्मा तीन वटा मात्र पुल निर्माण भइ सञ्चालनमा छन् । तर मुख्य खोलाहरू जहाँ वर्षातमा गाडी सञ्चालन हुनैसक्ने अवस्था छैन, त्यहाँका पुलहरू निर्माण नहुँदा यातायात नै अवरोध हुने गरेको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सडकको जिम्मेवारीमा रहेका पुलहरूको हाल निर्माण कार्य जारी रहेको छ । टाकुल्ला खोलाको पुलमा भने विवादका कारण निर्माण सुरु भएको छैन । हाल ६ वटा पुलमध्ये टाकुल्लाको ठेकेदारले समयमै काम सम्पन्न नगर्दा सडकले कालो सूचीमा समावेश गर्न सिफारिस गरेको थियो । तर सर्वोच्व अदालतले कालो सूचीमा नराख्न आदेश गरेको सडक डिभिजन प्रमुख माधवप्रसाद अधिकारीले बताए ।
‘ठेकेदारले पुलको काम अलपत्र छाड्यो, अहिले काम गर्न पाउनुपर्छ भनी मुद्दा हालेको छ,’ उनले भने । ठेकेदारले सडकबाट दुई वटा पिल्लर ठड्याउने बेलासम्मको सात लाख रकम पाउनुपर्ने र काम पुनः गर्न पाउनुपर्ने भन्दै विवाद निकालेको अधिकारीले बताए । आर्थिक वर्ष २०६८÷०६९ मा टाकुल्ला खोलामा निर्माण सुरु गरेको जागृति–तुल्छी दुर्गा जेभीले काम पूरा नगर्दा सात वर्षसम्म पनि पुलको दुई वटा पिल्लरमुनी खोलाबाटै सवारी गुड्दै आएका छन् । यस्तै सबैभन्दा प्रमुख समस्याका रूपमा रहेको घट्टेखोला पुलको निर्माण कार्य भने हाल सुरु भएको छ । याक्थुम्हाङ गोल्डेनगुड जेभीले सात वर्षअघि जग खनेर अलपत्र पारेको पुनः आफैले सुरु गरेको छ । चार करोड ५१ लाख लागतको घट्टेखोला पुल निर्माणका सम्झौता भए पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन ।
१५ महिनामा काम सक्ने गरी जिम्मेवारी लिएको कम्पनीले सात वर्षसम्म नसक्दा विभागले कालो सूचीका लागि तयारी थालेपछि अहिले निर्माणको काम सुरु गरेको छ । लामो समयसम्म अल्झाएका कारण निर्माण कम्पनीले नै अब सम्पूर्ण खर्च बेहोर्ने र काम सम्पन्न भएपछि मात्रै भुक्तानी पाउने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । वर्षातमा ठूलो पहिरोका कारण हप्तौंसम्म यही खोलामा सवारी रोकिने गरेका छन् । राजमार्गका पुलहरू बन्न नसक्दा ढुक्कसँग सवारी चलाउन सकिने अवस्था नभएको सवारी चालकहरूको गुनासो छ । सबैभन्दा पछि सुरु भएको बालीघाट पुलको काम भने धमाधम भइरहेको छ । आव ७२÷०७३ देखि जगत निर्माण सेवाले सुरु गरेको काम समयमै सम्पन्न गराउने उद्देश्यका साथ धमाधम काम गरिरहेको छ । बालीघाटको पुलको काम करिब ५० प्रतिशत सम्पन्न भएको छ ।
हालकै रफ्तारमा काम भए अबको एक वर्षभित्रै पुल सम्पन्न हुने प्रुमख अधिकारीको बताउँछन् । सात वर्षअघिबाट सुरु गरिएको पुल हालसम्म निर्माण नसक्ने कम्पनीलाई सरकारले भने कारबाही गर्न नसकेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर
महतले बताए । ‘साँघुरो बाटोले हैरानी भएको राजमार्गमा पुल नबन्दा झन् पीडा भएको छ,’ उनले भने, ‘अहिलेसम्म काम नगर्ने ठेकेदारलाई राजनीतिक दलको आडमा संरक्षण गरेकै कारण काम हुन नसकेको हो, यदी कर्णालीका जनताको राज्यले हित चाहान्छ भने राजमार्गको स्तरोन्नति आवश्यक छ ।’ कर्णाली राजमार्गमा निर्माणधिन अवस्थामा रहेका पाँच वटा पुल नेपाल सरकारको १५ करोड लागतमा बन्दै छन् । यस्तै १८ वटा पुल बिश्व बैंकको सहयोगमा ६० करोड लागतमा बन्दै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
तीन वटा पुल सम्पन्न हुँदै
सडक डिभिजनको निरन्तर प्रयासका कारण राजमार्गमा रहेका ठूला खोलामाथिका तीन वटा पुलको काम भने अन्तिम चरणमा पुगेको छ । आफ्नो जिम्मेवारीमा आएको एक वर्षमा नै सडकले पुल निर्माण सम्पन्न गराउने कार्यलाई प्राथामिकता दिएको थियो । गत माघमा नेपाली सेनाको नेतृत्वबाट आफ्नो जिम्मेवारीमा लिएको सडक डिजिजनले अधुरा पुल निर्माण कार्य र सडक चौडाइ गर्ने कार्यलाई तीव्रता दिएको हो ।
जस अनुसार यसै आर्थिक वर्षमा तीन वटा पुल सञ्चालनमा आउने भएका छन् । सबैभन्दा ठूलो समस्या निम्ती खल्लागाडको पुलको काम करिब सम्पन्न भएको छ । ‘खल्लागाडको पुलको निर्माण सकिसकेको छ, तर माटो अभावका कारण सबै काम पुरा हुन सकेन’ सडक डिभिजन प्रमुख अधिकारीले भने । कालिकोटमा माटो नपाइएका कारण पुलको साइडमा फिलिङ गर्न नसकिएको उनको भनाइ । ‘निर्माण कम्पनी माटो खोजीका लागि दौडिरहेको छ, तर यहाँ कसैले पनि माटो नदिँदा समस्या भएको छ । माटो पाउनासाथ पुलको काम सकिनेछ,’ उनले थपे । अधिकारीका अनुसार आगामी असारसम्म खल्लागाडको पुल सञ्चालनमा आउनेछ । यस्तै सम्लेखोला पुल र छिडेना पुलको काम पनि लगभग सम्पन्न भएको छ ।
केही प्राविधिक कामहरू बाँकी रहेकाले असारसम्म यी दुई पुल पनि सञ्चालनमा आउने कार्यालयको भनाइ छ । बाँकी रहेका ६ वटा पुलमध्ये यसै आर्थिक वर्ष भित्रमा तीनवटा पुल सञ्चालनमा आउने तयारी भइरहेको अधिकारीको भनाइ छ । सडक स्तरोन्नतिका लागि आवश्यक बजेट नहुँदा समस्या परेको कार्यालय बताउँछ । थोरै रकम कर्मचारी खटनपटनदेखि निर्माण कार्यमा खर्च गर्नुपर्ने भएकाले साँचे अनुसारको स्तरउन्नती हुन नसकेको बताइएको छ । कार्यालयले भौगोलिक विकटता र नाकाबन्दीका कारण पनि पुल समयमै निर्माण हुन नसकेको बताएको छ ।
(क्रियाशील पत्रकार मञ्च
नेपालका लागि)

प्रकाशित मितिः   २० चैत्र २०७४, मंगलवार १५:२९