‘पढ्न नपाएकोमा पछुतो लाग्छ’
अमृता शाही कर्णाली प्रदेशसभाकी सदस्य हुन् । नेपाली कांग्रेसको समानुपातिक कोटाबाट उनी सांसद बनेकी हुन् । वि.सं. २०२३ असार १ गते दैलखको तत्कालीन कट्टी गाविस सुनीगाउँमा बुबा रत्नबहादुर चन्द र आमा देविसरा चन्दको कोखबाट जन्मिएकी उनले औपचारिक शिक्षा पढ्न पाइनन् । १४ वर्षको उमेर पुगेपछि भने प्रौढ शिक्षा पढिन् । जीवनमा पढाइको महत्व अत्यन्तै धेरै रहेको बताउने शाहीले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेकी छिन्ः
मेरो जन्म दैलेखको कट्टीमा भयो । गाउँमा विद्यालय थिएन । विद्यालय जान पाइदैनथ्यो । म १४ वर्षको हुनेबेलासम्म विद्यालय देख्न समेत पाइन । छोेरीलाई पढाउनुपर्छ भन्ने कसैमा चेतना थिएन । छोराहरू विद्यालय पढ्न जान्थे । मेरो काम भनेको भाइहरू हेर्ने हुन्थ्यो । म घरको एक्ली छोरी । पाँच जना दाईभाई हुनुन्थ्यो । बुबाआमा दाजुभाई सबैले माया गर्नुहुन्थ्यो । घरको काम गर्नुपर्दैनथ्यो । एक्ली छोरी भाइबहिनी हेरेर नै बालापन बित्यो ।
आफू विद्यालय जान नपाए पनि भाइहरूको किताब हेरेर पढ्न सिक्थें । त्यसबेलामा पढ्नुपर्छ भन्ने चेतना थिएन । तर पनि भाइहरूको किताब हेरेर पढ्थें । मैले भाइहरूलाई पढ्नमा जित्थें । मेरो सानैदेखिको स्वभाव प्रायः कसैसँग नबोल्ने मिलनसार थिएँ । कसैसँग पनि झगडा गर्दैनथें । साथीभाइहरूसँग मिलेर खेल्ने गर्थे । त्यस बेलामा हामीले घर बनाइ, बेहुला–बेहुली हुने लगायतका खेल खेल्थ्यौं । बाल्यकालका ती रमाइला पल अझै पनि ताजा नै छन् । हामी धैरै जसो मेलामा जाने गथ्र्यौं । मेलामा साथीहरूसँग रमाएको खेलेको क्षणहरू अझै पनि ताजा नै छन् ।
म बाल्यकालमा सहयोगी स्वभावको पनि थिएँ । कसैको दुःख देख्न सक्दिनथे, सहयोग गर्न अघि सर्ने मेरो स्वभाव थियो । बुढाबुढी र केटाकेटीहरूको दुःख देख्न सक्दैन्थे । आफूले खाने खाजा भए पनि दिन्थें । कहिले काहीं घरबाट भए पनि खानेकुराहरू सहयोग गथें । मलाई सबै साथीभाइहरू र आफन्तहरूले माया गर्नुहुन्थ्यो ।
१०–११ वर्षको हुँदा बुबासँग सुर्खेत बजार घुम्न आएँ । बुबाले लैजान्न भन्दाभन्दै जिद्दी गरेर बुबाको पछिपछि लागेर आएँ । घरबाट सुर्खेत बजार आउन तीन दिन लाग्थ्यो । हिँडेर नै सुर्खेत बजार
आयौं । यातायातको सुविधा थिएन । जहाँ जान पनि हिँडेर नै जानुपथ्र्यो । आवश्यक पर्ने समानहरू किन्न कि सुर्खेत बजार कि नेपालगन्ज जानुपथ्र्यो । पहिलो पटक सुर्खेत बजार आउँदा यहाँ यस्तो बजार थिएन । टाढा–टाढा घरहरू थिए । बजार पनि गाउँ जस्तो रहेछ जस्तो लागेको थियो । बजारमा कपडा र जुत्ता किनेको सम्झना आउँछ । त्यस बेलामा हामी गुन्यूचोली र जुत्ता लगाउँथ्यौं । एक हात लामो जुत्ता किनेको सम्झना अझै पनि ताजा नै छ । बजारबाट घर फर्किदा २ दिनमै पुग्यौं । आउँदा हिँडेर आउने भएकाले गाह्रो भएको थियो । जाने बेलामा सजिलो भयो ।
सुर्खेत आएपछि प्रौढ शिक्षा पढ्न पाएँ । वि.सं. २०३८ सालमा हामी सुर्खेतको रामघाटमा आयौं । रामघाट आउँदा विद्यालय नजिक थियो । सबै विद्यालय गएको देख्थें । भाइहरू पनि नजिक विद्यालय भएपछि जान्थे । मेरो उमेर १४ वर्षको भइसकेको थियो । त्यही भएर म विद्यालय गइन । अहिले आएर पछुतो पनि लाग्छ । त्यसबेलामा ठूलो भइसके लाज लाग्छ भनेर पढ्न गएनँ । त्यसबेलामा गाउँमा ठूलालाई पौढ शिक्षा पढाइन्थ्यो । पछि मैले पौढ शिक्षा पढें । म रामघाटमै जन्मिएको भए पनि पढ्न पाउँथे भन्ने लाग्छ ।
मेरो बिबाह सानै उमेरमा भयो । भर्खरै १७ वर्षको थिएँ । छिन्चुमा विवाह भयो । छोराछोरी पनि भइहाले । घरमै बस्ने काम हुन्थ्यो । श्रीमान् गणेश शाही नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति गर्नुहुन्थ्यो । त्यस बेलामा म यसरी राजनीतिमा आउँछु भन्ने नै लागेको थिएन । द्वन्द्वकालमा श्रीमान् मारिनुभयो । त्यसपछि मैले राजनीति यात्रा सुरु गरेको हुँ । २०६३ साल पछि मैले राजनीति यात्रा सुरु गरे । सुरुमा महिला संघमा आवद्ध भएँ । अहिले क्षेत्र नम्बर १ को नेपाल महिला संघको क्षेत्रीय सभापति छु । कर्णाली प्रदेशको प्रदेशसभा सदस्य छु । आफूले त्यसबेलामा पढ्न नपाएको सबैभन्दा ठूलो पीर अझै पनि लाग्छ । छोरा र छोरी बराबर हुन् भन्ने लाग्छ । सबैलाई यही भन्छु । छोरा र छोरीलाई बराबर शिक्षा दिउँ । अहिले छोरीहरू पनि डाक्टर–पाइलट भएको देख्दा खुशी लाग्छ । हामी अहिलेको समयमा जन्मिएको भए कति धेरै पढ्थ्यौं होला भन्ने पनि लाग्छ ।
साझा बिसौनी ।