वीरेन्द्रनगरमा घर निर्माणसँगै बढ्यो अवैध काठ तस्करी

सुर्खेत, १० चैत ।
कर्णाली प्रदेशको राजधानी भएसँगै वीरेन्द्रनगरमा घर निर्माणको दर बढेको छ । एकाएक घर निर्माण गर्नेहरूको संख्या बढेपछि जिल्लामा अवैध रूपमा काठ तस्करी पनि बढेको हो । वीरेन्द्रनगरमा काठको माग बढेपछि तस्करहरूले जिल्लाको ग्रामीण क्षेत्रबाट अवैध रूपमा वीरेन्द्रनगरमा काठ भिœयाउन थालेका छन् ।


तस्करसँग सस्तो मूल्यमा पाइने भएकाले पनि उपभोक्ताले तस्करसँग नै काठ खरिद गर्ने गरेका छन् । बजारमा माग बढेपछि तस्करहरूले रातको समयमा प्रहरी जिल्ला वन कार्यालयका कर्मचारीलाई छलेर काठ ओसार्ने गरेका हुन् । यही क्रममा वन कार्यालयका कर्मचारी र प्रहरीले बेलाबेलामा तस्करलाई काठसहित समात्ने गरेको छ । तर तस्करले सवारी साधनमा लुकाएर काठ भिœयाउने र प्रहरीले फेला नपार्ने भएकाले पनि पछिल्लो समय वीरेन्द्रनगरमा काठ तस्करी बढ्दै गएको छ ।
हिजोआज वीरेन्द्रनगरमा नयाँ घर निर्माणको क्रम एकाएक बढेको छ । तर त्यहाँ प्रयोग हुने अधिकांश काठ तस्करले ओसारेको हुन् । जिल्ला वन कार्यालयले वीरेन्द्रनगरमा घर बनाउने क्रम बढेको र केही हदसम्म काठ तस्करी पनि बढेको जनाएको छ । जिल्ला वन अधिकृत हेमराज विष्टले प्रदेश राजधानी भएकाले पनि वीरेन्द्रनगरमा काठको माग बढेको बताए । उनका अनुसार वन कर्मचारी र प्रहरी सक्रिय भएका कारण तस्करहरू पनि पक्राउ पर्न थालेको बताए । उनका अनुसार अवैध रूपमा काठ भित्रिने नाकामा वन कर्मचारी र सुरक्षाकर्मीले गस्ती बढाएका छन् । अवैध रूपमा भइरहेको काठ तस्करी रोक्नका लागि आफूहरू सक्रिय भएको भन्दै कार्यालयले तस्करी नियन्त्रणका लागि प्रयास जारी रहेको उल्लेख गरेको छ ।
वन संरक्षण र काठ तस्करी रोक्न कार्यालयले विभिन्न रणनीतिहरू अपनाएको छ । कार्यालयका अनुसार यो आर्थिक वर्षको सात महिनामा २६ जना काठ तस्कर समातिएका छन् । साउनदेखि फागुनसम्मको अवधीमा काठ तस्करी गरिरहेका २६ जनालाई पक्राउ गरेर अदालतमा मुद्दा नै चलाइएको छ । जिल्लाका सामुदायिक वनबाट विना ईजाजत वन पैदावार र चिरान काठ ओसार–पसारमा संलग्नहरूलाई पक्राउ गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनीहरूबाट ६ सय १७ थान काठ पनि बरामत गरिएको छ । यस्तै तीन सय १७ क्यूफिट चिरान र दुई सय नौ दशमलब ७२ क्यूफिट गोलिया काठ बरामत गरिएको छ । यस्तै काठ ओसार–पसारमा प्रयोग भएका पाँच वटा सवारी साधनहरू पनि नियन्त्रणमा लिइएको छ ।
जिल्ला वन अधिकृत हेमराज विष्ट जिल्लाका तीन वटा नाकाबाट वीरेन्दनगरमा काठ भित्रिने गरेको बताए । नगरमा बढ्दो बसाई–सराईका कारण पनि काठ तस्करी बढेको उनी बताउँछन् । ‘कर्णाली प्रदेशको राजधानी बनेपछि अत्याधिक घर निर्माण भइरहेका छन्’ उनले भने, ‘वैधानिक रूपमा किन्दा महंगोपर्ने भएकाले पनि अवैधानिक रूपमा काठको प्रयोग हुने गरेको छ ।’ उनका अनुसार वीरेन्द्रनगरका पूर्वीक्षेत्र धुलियाविट, पश्चिमको बाङ्गेसिमल र सानो सुर्खेत नाकाबाट अवैधरूपमा काठ भित्रिने गरेको छ । अब सामुदायिक वनबाट काठको चोकीनिकासी रोक्न जिल्ला वनले विशेष अभियान थाल्ने भएको छ । अवैधानिक काठ तस्करीलाई रोक्न आपुर्ती समितिले सहुलियतमा वितरण गर्ने भएको हो । आवैधानिक रूपमा काठ तस्कर हुनेक्रम न्यूनीकरण गर्न जिल्ला वन कार्यालयले काठ वितरण थाल्ने जनाएको छ ।
डढेलो रोक्न अभियान
डढेलोबाट वनमा हुने क्षति रोक्न विशेष अभियान थालिने भएको छ । गर्मी तथा शुख्खा मौसम सुरु भएसँगै डढेलो नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न लागिएको हो । जिल्ला वन कार्यालयले सुर्खेतका सामुदायिक वनहरूमा विशेष जनचेतनामूलक कार्यक्रमहरू गरिने जनाएको छ ।
डढेलो लाग्नै नदिने, लागेपछि कसरी जोगाउने, डढेलो कसरी नियन्त्रण लिने भन्ने बारेमा पूर्व तयारी गराइने भएको छ । विशेष संरक्षित क्षेत्र काँक्रेविहार जंगल, गोठिकाँडा वनमा डढेलो नियन्त्रणबारे तयारी गरिने भएको हो ।
जिल्ला वन अधिकृत हेमराज विष्टले वनमा डढेलो लागे नियन्त्रण गर्ने उपकरणसमेत वितरण गरिने बताए । उनले डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण वितरण सँगै सामुदायिक वनका पदाधिकारी लगायत वडाहरूमा गएर सचेतना गोष्ठी, अन्तरक्रिया थालिएको
बताए । गर्मी मौसम सुरु भएसँगै सल्लो, साल लगायतका पोत झर्ने र सुक्ने भएकाले पनि वन डढेलोको उच्च जोखिम हुन्छ ।

प्रकाशित मितिः   ११ चैत्र २०७४, आईतवार १४:१८