बालबालिकाको सुरक्षा

नेपालमा मानव तस्करी आजको मात्र समस्या होइन, विगतबाटै मानवहरू मानवबाटै बेचिदैं आएका छन् । त्यसमा पनि आर्थिक प्रलोभनमा परेर महिला तथा बालबालिकाहरू बेचबिखनमा परिरहेका छन् । ग्रामीण क्षेत्रका महिला तथा बालबालिकाहरूलाई विभिन्न प्रलोभन देखाएर तस्करहरूले उनीहरूलाई बेचेका धेरै घटनाहरू छन् । पछिल्लो समय नेपालका बालबालिकाहरू विदेशमा बेचिने गरेको तथ्य बाहिर आएको छ । विभिन्न चरण र अवस्थामा नेपालबाट मानव तस्करी हुने गरेका छन् । सरदर १० हजार नेपाली महिला अहिले पनि ‘भारतीय बजार’ मा यौनधन्धाका लागि बेचिने गरेका तथ्याङ्क प्राप्त भएका छन् । सार्कको मानव तस्करीविरुद्धको अडान, सरकारबीच समन्वयका लागि संयन्त्रहरू निर्माणसँगै मानव तस्करीविरुद्ध गैरसरकारी सङ्गठनहरूको सक्रियताले महिला तस्करीको संख्यामा कमी आए पनि मानव तस्करीले नयाँ रूप लिएको छ । नेपालको फितलो कानुन र निगरानी संयन्त्रको अभावले भारत हुँदै या सिधै नेपालबाट खाडी मुलुकहरूमा मानव तस्करी बढ्न थालेको छ । 
एकातिर लैङ्गिक समानताको नीतिका कारण महिलालाई बाहिर जान बन्देज लगाउन नमिल्ने अवस्था छ कानुनतः भने अर्कोतिर बाहिरी दुनियाँमा श्रमिकको रूपमा गएका महिलाले सामना गर्नुपर्ने जोखिमपूर्ण परिस्थितिलाई सरकारले कसरी फेरि महिलामैत्री बनाउने, त्यो एउटा जटिल दायित्व हो । अक्सर बेचबिखन र अपहरण कमजोर या जोखिममा परेकाहरूकै हुन्छ । मानव तस्करीको निशाना बनेको नेपालमा गतवर्षको भुईंचालोका कारण लाखौं मानिसले विस्थापित हुनुप¥यो, बेघर हुनुप¥यो । सरकारी आँकडाअनुसार कुल विस्थापित जनसंख्यामा झण्डै ७० प्रतिशतभन्दा माथि महिला र बालबालिका छन् । स्वभाविक रूपमा उनीहरू अरूभन्दा बढी असुरक्षित छन् र मानव तस्कर सञ्जाल तथा दलाल गिरोहहरूको सहज निशाना बनेका छन् उनीहरू । प्रारम्भिक ६ महिनाको आँकडाअनुसार करिब ६ सयजति बालबालिका अस्थायी शिविर पुनर्वास केन्द्रहरूबाट हराएका थिए । त्यसबेला पनि उनीहरू मानव बेचबिखनमा लिप्त गिरोहहरूको सिकार भएको आशंका गरिएको थियो । अहिले बेलायतको अनुसन्धानमूलक ‘सन’ पत्रिकाका अनुसार नेपालबाट भूकम्पपीडित बालबालिका दलालमार्फत् प्रति बच्चा आठ लाख रूपैयाँको हिसाबले बेचिने गरेका छन् । यसरी बेचिने बालबालिका कतिपय परिवारमा घरेलु नोकरका रूपमा कार्यरत छन् भने केही सम्बन्धित परिवारले धर्मपुत्र या धर्मपुत्रीका रूपमा पालेका छन् । धर्मपुत्र या धर्मपुत्री सम्बन्धी कानुन फरक छ र कुनै पनि हालतमा सम्बन्धित परिवारको जानकारी र सहमतिविना अनि कानुन विपरित त्यस्तो निर्णय लिन मिल्दैन । त्यसैले बेलायतमा बेचिएका नेपाली बालबालिकालाई धर्मपुत्र या धर्मपुत्री हैन, दास अर्थात् बिक्रीको वस्तुु बनाइएको छ । 
हुनसक्छ, भुइँचालोपछिको अनिश्चित र दयनीय अवस्थामा बालबालिकाको भविष्य सुनिश्चित हुने आशामा पीडित या आमाले दलालका हातमा आफ्ना बालबालिका सुम्पेको हुनसक्छ । तर व्यापार र मानव तस्करीबाट ‘कमिशन’ खान पल्केका दलालहरूले सहज र सामान्य अवस्थामा समेत बालबालिका अपहरण र नाजायज बेचबिखनको थलो बनाउनेछन् नेपाललाई । अहिलेको बेचबिखनको सूचनालाई एउटा गम्भीर सङ्केतका रूपमा लिँदै सरकारले बेचिएका बालबालिकालाई नेपाल फिर्ता ल्याउन बेलायत सरकारसँग तत्काल कुटनीतिक प्रक्रिया थाल्नुका साथै ती गिरोहहरूको पहिचान र तिनीहरूलाई कानुनको दायरामा ल्याउने काम पनि सरकारले गर्नु आवश्यक छ । वस्तुको जस्तै गरेर विदेशमा बेचिएका नेपाली बालबालिकाहरूको उद्धारमा सरकाले बेलैमा ध्यान दिन जरुरी छ । त्यतिमात्र होइन, आउँदा दिनमा अन्य बालबालिकाहरू यसरी नबेचिउन भन्नका लागि समेत राज्य र अभिभावकहरू सचेत हुन जरुरी छ । यसो नभएको खण्डमा नेपाली बालबालिकाहरू असुरक्षित नै हुनेछन् । उनीहरू पशु जस्तै गरी बेचिने छन् । यसतर्फ सरोकारवाला निकायहरू गम्भीर हुन जरुरी छ । 
प्रकाशित मितिः   २५ चैत्र २०७२, बिहीबार ०६:४९