‘महिला आन्दोलन आर्थिक सवलतामा केन्द्रित हुनुपर्छ’
हरेक वर्षको मार्च ८ तारिकलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने गरिन्छ । सन् १९०९ मा पहिलो पटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरूको आन्दोलनको समर्थनमा सम्मेलनको आयोजना गरियो, जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । सन् १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्वीट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो । त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रूपमा महिला दिवस मनाउने गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरू गरी महिला दिवस मनाउने गरिएको छ । महिला अधिकारका लागि पैरवी गर्ने दिवसको रूपमा मनाउने गरिएको श्रमिक महिला दिवसको सन्दर्भमा हाम्रा सहकर्मी डिलप्रसाद शर्माले नेपाली श्रमिक महिलाहरूको अवस्था, आन्दोलन, प्राप्त अधिकार, अवको महिला आन्दोलनको बाटो लगायतका विषयमा केन्द्रित रहेर लोकतान्त्रिक महिला सञ्जाल सुर्खेतका अध्यक्ष हरिमाया शर्मासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, उक्त कुराकानीको सारांशः
अन्तर्राष्ट्रिय महिला दिवसको सार्थकता के छ ?
महिला दिवस भनेको महिलाहरूको पर्व, एउटा उत्साह र उमंगका रूपमा मनाइने दिनको रूपमा बुझ्दछौं । महिलाहरूले संघर्षपछि अधिकार प्राप्त गरेको दिनको रूपमा यो अन्तर्राष्ट्रिय महिला दिवसलाई बुझ्ने गरिन्छ । श्रमिक महिलाहरूले कारखानामा गरेको आन्दोलनले श्रमको मूल्य र मताधिकार लगायतका थुप्रै मागहरू प्राप्त गरेको दिनका रूपमा यसको विश्वव्यापी मान्यता र महŒव छ ।
वर्षमा एक दिन दिवस मनाउँदैमा महिलाहरू अधिकार सम्पन्न होलान त ?
एक दिन दिवस मनाउँदैमा महिलाहरू पूर्ण अधिकारयुक्त हुन्छन भन्ने चाहीं होइन् । महिलाहरूलाई विविध कार्यक्रमका तवरबाट सक्रिय र जुझारु बनाउने कुरा निरन्तर उनीहरूको चेतनामा अभिवृद्धि गर्न मद्दत पुग्छ । दिवसीय कार्यक्रमबाट निरन्तर महिलाहरूलाई प्रेरणा थप्ने दिनको रूपमा हामी एउटा दिवसलाई बुझ्ने गर्छौं ।
महिलालाई कसरी अधिकार सम्पन्न बनाउन सकिएला ?
वास्तवमा महिलालाई अधिकार सम्पन्न बनाउन विगत लामो समयदेखि महिलाहरूले ठूलो आनदोलनहरू गरेका छन् । ग्रामीण क्षेत्रका महिलाहरूबाटै नेपालमा महिला आन्दोलनहरू भएका छन् । १० वर्ष जनयुद्ध चल्यो । त्यसपछि नै महिलाहरूको खास परिवर्तन भएको हो । विगतमा धिमा गतिमा भए पनि केही परिवर्तन देखा नपरेको होइन । तर, यो परिवर्तनले गति लिएको भने जनयुद्धको अवस्थादेखि नै हो । हामी सहरमा जन्मे पनि गाउँमा महिलाको चेतना अभिवृद्धि गर्न गयौं । हामीले राजनीतिक ज्ञान सिकायौं । अधिकारका कुरा सिकायौं । महिलाहरू संगठित हुनुपर्छ । संगठनबाट अधिकार प्राप्त हुन्छ भन्ने कुरा हामीले सिकायौं । जसले गर्दा उहाँहरूको चेतना वृद्धि भयो । त्यसका कारण नेपलामा परिवर्तन सुरु भएको छ । यो ग्रामीण क्षेत्रका महिलालाले गरेको परिवर्तन र पाएको अधिकार हो । अब महिलाहरूलाई राजनीतिक मात्रै होइन आर्थिक रूपमा पनि सवल बनाएपछि उनीहरूलाइ अधिकार पाएको प्रत्याभूत हुन्छ ।
सम्पत्तिमा समान अधिकार नहुनुले महिलामाथि हिंसा हुने गरेको भन्ने सुनिन्छ । यसमा कत्तिको सत्यता छ ।
एकदमै सही प्रश्न । वास्तवमा सम्पत्तिको अधिकार नै महिलाहरूका लागि पहिलो अधिकार हुनुपर्छ भन्ने हामीले उठाएको मूल एजेण्डा हो । वास्तवमा महिलासँग सम्पत्ति छ भने महिला आत्मनिर्भर हुन्छ । जब सम्पत्तिमा आत्मनिर्भर हुन्छ तब महिलामा आँट, वल र साहस आउँछ । जबसम्म महिला सम्पत्तिमा आत्मनिर्भर हुँदैन सम्पत्तिमा महिलाको अधिकार हुँदैन । त्यसपछि अपहेलनाका कुराहरू, मनोवैज्ञानिक हिसाबले पनि महिलाले आफूलाई कमजोर ठान्ने, आफूलाई समस्या पर्दा अर्काको हात थाप्नुपर्ने अवस्था हुन्छ त्यसपछि आफैमा विकास होइन विनासतर्फ लाग्छन् । त्यसकारण सम्पत्ति पहिलो महिला अधिकार हो । नेपालमा महिलाका अधिकारका लागि कानुन बनिसकेका छन् । कानुनी हिसाबले महिलाले सम्पत्ति पाएका छन् । तर, त्यकासे कार्यान्वयन पक्ष फितलो भएकाले अझै पनि पूर्ण रूपमा भएको देखिदैन ।
घरेलु हिंसाबाट महिलालाई मुक्त कसरी गर्ने ?
महिलामाथि घरभित्र हुने हिंसा नै घरेलु हिंसा हुन् । विभिन्न चिन्तन र सोचाइ भएका मान्छेहरू परिवारमा भए भने हिंसा हुन्छ । एउटै परिवारमा पनि विभिन्न नातागोता, इष्टमित्र, हुन्छन् । सबैभन्दा पहिले घरेलुहिंसा अन्त्य गर्ने हो भने उसको चेतनामा परिवर्तन गर्ने कुरा नै हो । परिवार सानातिना कामका सन्दर्भ, झै–झगडा, घरमा एकले अर्कालाई अपहेलना गर्ने, एकले अर्कोलाई होच्याउने जस्ता कार्य जबसम्म परिवारभित्र हुन्छ । त्यसलाई नै घरेलुहिंसा भनिन्छ । यसलाई अन्त्य गर्नका लागि स्वयम् त्यो परिवारको चेतनामा वृद्धि भएको हुनुपर्छ । अहिलेको जस्तो जमानामा पनि महिलामाथि घरभित्र हिंसा गर्नु भनेको यो अपराध हो । राम्रो कार्य होइन भन्ने जव त्यो परिवारले बुझ्न थाल्दछ तब घरेलुहिंसा अन्त्य हुनसक्छ । अर्को कुरा के हो भने, घरेलुहिंसालाई पूर्णरूपमा कानुनी दायराले नियन्त्रण गर्नुपर्दछ । कानुनमा एकदमै दण्डनीय व्यवस्था छ र दण्ड गर्नमा सरकारी सयन्त्र, जुनसुकै, निकाय पनि पछि पर्नु हुँदैन । यदी त्यसो गरियो भने घरेलु हिंसा गर्ने मान्छेको मनोबल पनि घट्छ । अबदेखि हिंसा गर्नु हुँदैन भन्ने चेतनाको वृद्धि हुन्छ । विस्तारै–विस्तारै घरेलु हिंसा कम हुनसक्छ ।
नेतृत्व तहमा पुग्न महिलाहरूले इच्छा नदेखाएको हो कि नदिइएको ?
पितृसत्तात्मक सोच भएको यो समाजमा अझै पनि परिवर्तन हुन सकेको छैन् । पृतिसत्तात्मक सोचको अवशेषका कारण महिलाहरूले नेतृत्वको अगुवाइ गर्न अवसर नपाएका हुन् । जसले गर्दा मुख्यभूमिकामा काम गर्ने सवालमा सोचेजस्तो प्राप्त भएको छैन । हामी सन्तुष्ट छैनांै ।
अबको महिला आन्दोलन कुन विषयमा केन्द्रित हुनुपर्छ जस्तो लाग्छ ?
आर्थिक आत्मनिर्भरताको कार्यक्रम नै पहिलो प्राथमिकता हो । महिलाले समावेशिताको अधिकार पाएसँगै राजनीतिक अधिकार प्राप्त गरिसकेका छन् । महिलालाई रोजगारीका सवालमा लोकसेवामा कोटा निर्धारण गरिएको छ । तर, सबै महिलाहरू आत्मनिर्भर भएका छैनन् । काम गर्ने महिलालाई आर्थिक समृद्धिको कुरा अगाडि बढाउनुपर्छ । त्यसका लागि राज्यले नयाँ नयाँ रोजगारी सिर्जना गर्नुप¥यो । लोकसेवा आयोग, राजनीतिमा सबै महिलाको प्रतिनिधित्व हुन सक्दैन । त्यसैले क्षमता हेरेर रोजगारी सिर्जना गर्नुपर्छ । महिलाको आत्मनिर्भरताका लागि रोजगारी सिर्जना गर्नुपर्छ । आर्थिक रूपमा सवल बनाउन अबको महिला आन्दोलन केन्द्रित हुनुपर्छ । र राज्यले पनि त्यसतर्फ ध्यान दिनुपर्छ ।
एउटा महिला सफल हुन परिवार, समाज र राज्यको कस्तो भूमिका जरुरी ठान्नुहन्छ ?
महिला सफल हुनको लागि पहिला स्वयम्मा आफूलाई मजबुत बनाउनुपर्छ । परिवारले महिलालाई काम गर्ने, बाहिर जाने वातावरण दिदैंन भने त्यो महिलाले विकास गर्न सक्दैन । त्यसैले परिवारको भूमिका महŒवपूर्ण हुन्छ । केही गर्ने इच्छाशक्ति भएका महिलालाई समाजले पनि साथ दिनुपर्छ । राज्यको नीति नियमबाट महिलालाई समेट्नुपर्छ । केही मात्रामा समेटिएको छ र बाँकी महिलालाई प्राथमिकतामा राखेर स्थानीय सरकारले काम गर्नुपर्छ ।
राजनीतिक आस्थाको आधारमा विभाजित हुँदा महिलाका मुद्दा पनि कमजोर भए की ?
राजनीतिक आस्थाका आधारमा हामी फरक–फरक रूपमा संगठित हुँदैमा महिलाका मुद्दाहरू कमजोर भएका छैनन्, बरु अझै बलिया भएका छन् । हरेक विषयको मूल नीति नै राजनीति भएकाले जब महिला राजनीतिमा पुग्न सक्छन तब मात्रै सक्षम हुन्छन् । पार्टीगत रूपमा महिलाहरू संगठित हुने र आफ्ना अधिकारलाई अगाडि बढाउने भएकाले महिलाका मुद्दा ओझेलमा परेका छैनन् । ओझेलमा पार्ने प्रवृति देखिएमा महिलाहरूले नै संगठित रूपमा संघर्ष गरेका छन् । पार्टीका मात्रै विषय उठाउँदा त महिलाहरू ओझेलमा छन् ।
अन्तमा के भन्न चाहनुहुन्छ ?
सम्पूर्ण श्रमिक महिलाहरूमा एक सय ८ औं श्रमिक महिला दिवसको शुभकामना भन्न चाहन्छु । राजयबाट महिलाको अधिकारलाई प्राप्त भएको छ । यो अधिकारलाई प्रयोग गर्ने, संस्थागत विकास गर्ने र प्रतिनिधित्व गर्ने कुरामा सबैलाई प्रेरण दिवसले मिलोस् भन्न चाहन्छु ।
साझा बिसौनी संवाददाता ।