‘एसएलसी दिएपछि भागेर जनयुद्धमा होमिएँ’

कृष्णा शाह कर्णाली प्रदेशकी सांसद हुन् । उनको जन्म वि.सं. २०४० साल वैशाख ३ गते बुबा थीरजंग शाह र आमा सम्झना शाहको कोखबाट जाजरकोटमा भयो । विद्यार्थी छँदादेखि नै राजनीतिमा लागेकी शाहले माओवादीले सञ्चालन गरेको सशस्त्रद्वन्द्वमा जनमुक्ति सेनाको कम्पनी कमाण्डरसम्मको जिम्मेवारीमा रहेर युद्ध लडिन् । अहिले नेकपा माओवादी केन्द्रको पार्टी राजनीतिमा सक्रिय शाहले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेकी छिन्ः


मेरो जन्म किसान परिवारमा भयो । परिवारमा दुई भाई र पाँच दिदीबहिनी छौं । बाल्यकालको सधैं सम्झिरहने एउटा क्षण अझै पनि ताजा नै छ । पहिले गाउँघरमा अहिलेको जस्तो विद्यालयहरू थिएनन् । वि.सं. २०४५ सालमा गाउँमा विद्यालय स्थापना भयो । त्यसभन्दा अघि गाउँमा विद्यालय नभएका कारण मेरो दाई–दिदीले पढ्न पाउनुभएको थिएन । मेरो दाई–दिदीले मात्र होइन गाउँका कसैले पनि पढ्न पाएका थिएनन् । गाउँमा विद्यालय स्थापना भएपछि भने आफ्ना छोराछोरीलाई पढाउने लहर नै चलेको थियो ।
म पाँच वर्षको हुँदा मलाई पनि बुबाले पहिलो पटक बोकेर विद्यालय पु¥याउन जानुभएको थियो । अरु गाउँलेहरूले पनि आफ्ना छोराछोरीलाई उत्साहका साथ विद्यालय पु¥याउन गएका थिए । घरबाट विद्यालय पुग्न त्यस्तै आधा घण्टा लाग्थ्यो । सम्झना ताजा नै छ । मैले कक्षा १ मा गाउँकै विद्यालय जनता प्राविमा पढें । त्यहाँ मैले कक्षा पाँचसम्म पढें । म त्यो गाउँबाट एसएलसी उत्तीर्ण गर्ने छात्रा पनि हुँ ।
बुबाआमाले कृषि पेशा गर्ने भएका कारण घरमा कामको चाप बढी नै हुन्थ्यो । घरको काममा पनि समय दिनुपथ्र्यो । ठूलो हुँदै गएपछि घरको कामसँगै पढाइ अघि बढाएँ । भाईबहिनी हेर्ने, मेला, गाईगोठालो जानुपथ्र्यो । खेल्ने, रमाइलो गर्ने भन्ने समय धेरै भएन । घरको काम सघाएर विद्यालयको गृहकार्य गर्नुपर्ने हुन्थ्यो । म अलि अन्तरमुखी स्वभावको थिएँ । खाली समय त्यसै बस्दैन्थें । कि घरको काममा लाग्थे कि होमर्वक गरेर बस्थें । साथीहरूसँग खेल्ने समय भने त्यत्ति भएन । सानैदेखि विद्यार्थी संगठनमा लागेका कारण पनि धेरै जसो संगठनकै काममा हुन्थें ।
सात कक्षा पढ्दै गर्दा राजनीतिमा
म १३ वर्षकी थिएँ । त्यस बेलामा म कक्षा ७ मा पढ्थें । श्री शंकर माध्यमिक विद्यालय बाहुन्थानमा पढ्दै थिएँ । विद्यालयमा अखिल क्रान्तिकारीको माावि ईकाइ समिति गठन भयो । म त्यसको सदस्य भएर विद्यार्थी राजनीति सुरु गरें । घरपरिवारभन्दा फरक पार्टीको भातृ संगठनमा लाग्न मलाई चुनौती थियो । त्यसमाथि अझ देशमा जनयुद्ध सुरु भएको थियो । घरबाट संगठन र पार्टीका कार्यक्रममा जान दिनु हुँदैनथ्यो । लुकिलुकी राजनीतिक कार्यक्रममा सहभागी हुन्थें । राती घरमा सबै सुतिसकेपछि पार्टीको कार्यक्रममा सहभागी हुन्थें भने बिहानै कोही पनि नउठ्दै घर आइपुगेर सुतेको जस्तो अभिनय गर्थें । बुबाले रातीमा कतै कार्यक्रममा गएकी छ की भनेर मेरो कोठामा बिहानै हेर्न आउनुन्थ्यो ।
कक्षा ८ मा पढ्दै थिएँ । २०५५ इकाई कमिटी एरिया कोषाध्यक्ष थिएँ । एक दिन प्रहरीले मलाई गिरफ्तार ग¥यो । त्यस दिन रातीको १२ बजेको थियो । राती घरमा प्रहरी एक्कासी आएर मलाई लिएर गए । त्यसबेलामा १० वटा औलामा पिनहरूले खोप्ने, पिट्ने, सिस्नो पानी लगाएर यातना दिने गर्थे । घाउँ भएका ठाउँमा नुन खुर्सानी लगाएर पनि याताना दिने गर्थे । पार्टीको बारेमा सबै भन्न लगाइन्थ्यो तर मैले विद्यार्थी संगठनमा मात्र लागेको छु भन्थें । पार्टीको सूचना भन्न मलाई धेरै कर गरियो तर मैले केही भनिनँ । म करिब एक हप्तासम्म खलंगामा प्रहरीको हिरासतमा बसें । पछि बुबाले १५ हजार धरौटी राखेर प्रहरी हिरासतबाट निकाल्नुभयो । त्यसपछि घरमा प्रहरी आइरहन्थे ।
नर्स बन्ने सपना अधुरै
सानैदेखि स्टाफ नर्स बन्ने सपना थियो । तर म जनयुद्धका क्रियाकलापमा सहभागी भइसकेको थिएँ । मेरो फुपु र दिदीहरूले सेतो कपडा लगाएर अस्तालमा बिरामी सेवा गरेको देख्दा त्यस्तै बन्न मन लाग्थ्यो । व्यवहारले राजनीतितिर डोरायो । प्रहरीबाट छुटिसकेपछि तारिखमा गइरहनुपथ्र्यो । माओवादीमा गएकी भनेर प्रहरीले बारम्बार ‘टार्गेट’ गराइरहन्थ्यो । त्यसपछि गाउँमा जातीय भेद्भाव, महिलामा माथि हुने भेद्भाव देख्दा यसका विरुद्ध अब केही गर्नुपर्छ भनेर राजनीतिमा सक्रिय भएँ । एसएलसी हुनेबेलासम्म मैले धेरै पटक यातना भोग्न बाध्य भएँ ।
भागेर जनयुद्धमा
बुबाआमाले पार्टीमा नलाग्न धेरै कर गर्नुभएको थियो । घरजग्गा बेचेर भए पनि पढाउने भन्नुभएको थियो । तर मैले एसएलसीको परीक्षा दिएलगत्तै जनयुद्धमा गएँ । त्यस राती म बुबाआमालाई साथीकोमा जान्छु भनेर भागेर गएको थिएँ । बुबाले माओवादीका सबै सेल्टर खोज्नुभएछ । आमाले बुबालाई खोज्न पठाउनु भएको थियो । वि.सं. २०५७ साल जेठदेखि म जनयुद्धमा सहभागी भएको थिएँ । बुबाले तीन दिनपछि भेटाउनुभयो । घर जान धेरै कर गर्नुभएको थियो । तर मैले घर जान मानिनँ । जनयुद्धमा गएको त्यसै वर्षको चैतमा मैले विवाह गरें । कार्य क्षेत्र सुर्खेतमा थियो । विद्यालय पोशाक लगाएर काम गर्नुपथ्र्यो । प्रहरीबाट घेरिएको र प्रहरीले नलखटेको दिन हुँदैन्थ्यो । भोकै पनि बस्नुपथ्र्यो । प्रहरीले समात्यो भने फर्किएर कोही साथीहरू आउँदैन्थे ।
जनमुक्ति सेनामा रहँदा महिलाहरूलाई प्रशिक्षण दिने गर्थें । सेनामा कम्पनी कमाण्डर थिएँ । त्यसपछि जाजरकोटमा पार्टीको जिल्ला समिति सदस्य भएर आएँ । सशस्त्र विद्रोहको गणतान्त्रिक सम्पर्क पञ्चमा काम गर्ने भएर जिल्ला सदस्य भएर काठमाडौं गएँ । २०६४ मा नेवा राज्य समितिको सदस्य भएर काम गरें । अहिले पार्टीके केन्द्रीय सदस्य छु । जाजरकोटबाट समानुपातिक तर्फबाट प्रदेश सांसद भएकीछु । बाल्यकाल सम्झदा अहिले खुशी लाग्छ । म यो ठाउँमा आइपुग्न बाल्यकालमा गरेका संघर्षले धेरै सहयोग गरेका छन् ।

प्रकाशित मितिः   २१ फाल्गुन २०७४, सोमबार १६:०५