संघीयतामा लघु उद्यम र स्थानीय तह

नर्मजंग रोकाया
आज हाम्रो देश नेपाल गरिवी, भोक, शोक र संकटकालीन संक्रमणको चपेटामा पिरलिदै संघिय संरचनामा गएको छ । देशमा भ्रष्टाचार, पक्षपात, वेरोजगारी, सामाजिक कुरीति, छुवाछुत, छाउपडी, लैगिक विवेद, भौगोलिक विवेद र विविध कुप्रथामा रुमलिदै जनताको सेवामा समानता, समता, पारदर्शीता, सुशासनका नारा उठ्दै परिवर्तनको दिशामा बढिरहेको छ । नेपाली जनताको प्रमुख गरिबी भनेको चेतनामा कमी नै हो । आजको वैज्ञानिक युगमा समाज परिवर्तन हुन आधुनिक र सरल प्रविधि, ज्ञान प्राप्त प्रविधिकको आधारमा गतिशील रूपमा परिर्वतन हुँदै अगाडि बढिरहेको छ । समाज परिवर्तन भइ देश विकास हुन पारिवारिक वातावरणमा आमा र बाबा पहिलो उपदेशकर्ता शिक्षक हुन्, घर पाठशाला हो, घरभित्रको वातावरण उसको पाठ्यपुस्तक हो । आर्दश र आत्मनिर्भर समाजको निर्माण गर्न प्रत्येक व्यक्तिहरूलाई प्राविधिक ज्ञान र प्रविधिहरूसँग खुशी गराउँदै प्रविधि चलाउन सक्ने, योजनासहितको आर्थिक क्रियाकलाप वा व्यवसायमा सहभागी गराउन सके मात्र सम्भव छ ।
सभ्य समाज निर्माणको पहिलो गुरु परिवारको बाबु आमा, घर पाठशाल र घरभित्रको वातावरण पुस्तक भए जस्तै आत्मनिर्भर एउटा लघु उद्यमीका लागि उद्यम विकास सहजकर्ता शिक्षक हो, उद्यम उसको पाठशाला हो र लघु उद्यमका लागि वातावरण पाठ्यपुस्तक हो । देशका लघु उद्यमीहरूको प्रगतिले साना, मझौला र ठूला उद्योगको भविष्यवाणी गर्दछ । समुन्नत समाजका लागि घर र आत्मनिर्भर व्यक्तिका लागि उसको उद्यमको गुरु र उसको वातावरण भए झै संघीय सरकार र केन्द्रीय सरकारको भविष्य कस्तो हुने भन्ने संकेत संघीय संरचनामा सञ्चालित स्थानीय तहको सरकारको कार्ययोजनामा निर्भर रहन्छ । रुखको फेद जस्तो हुन्छ उसको हाँगा, पात र फलको अनुमान तथा भविष्यवाणी त्यसै अनुसार गर्न सकिन्छ । स्थानीय तहको सरकार संघीय र केन्द्रीय सरकारको फेद हो । संघीय र केन्द्रीय सरकारको स्थानीय सरकारमा कुन क्षेत्रमा कस्तो प्राविधिक राख्ने, कस्तो पाठशाला तयार गर्ने कस्ता पाठ्य सामग्री तयार गर्ने भन्ने कुरामा चुक्ने बित्तिकै संघीयता नै ढल्नसक्ने खतरा हुन्छ ।
स्थानीय तह संघीय संरचनामा वास्तविक फेद भए जस्तैै सबैखाले उद्योगको फेद लघु उद्यम हो । स्थानीय तहको सरकारसँग जति नजिक जनता छ त्यसैअनुसार लघुउद्यमसँग स्थानीय कच्चा स्रोत साधन, स्थानीय लघुउद्यमी र स्थानीय ग्राहक वा बजार छ । कुनै पनी राज्य बलियो हुन उसका राज्यमा बसोबास गर्ने जनता बलियो हुन आवश्यक छ । जनता बलियो हुन उसको देशको स्रोत साधन अनुसार प्राविधिक ज्ञान प्रविधि सहितको उद्यम आवश्यक हुन्छ । हाम्रो देशको सन्दर्भमा हेर्दा, देख्दा र पढ्दा वनजंगल, जल, जमिन र जडिबुटीले भरिएको तर नखोलेको घैटाका रूपमा देख्नसक्छौ । हाम्रो सोचाइमा विश्लेषण गर्दा ‘प्रयोग गर्दा रित्तिन्छ, प्रयोग नगर्दा बढ्छ’ भन्ने मानसिकता देखिन्छ । प्रयोग गरिहाले पनी घैटा नै फुटालेर उपयोग गर्ने बानी परेको छ । अबको स्थानीय तहले घैंटा नफुटाली, प्रयोग गर्दा हजारौं हजार स्रोतको संरक्षण र उत्पादन हुने गरी स्थानीय जनतालाई स्थानीय स्रोत परिचालन गर्न दक्ष उद्यम विकास सहजकर्ताको व्यवसायिक परामर्श, योजना अनुसार भरिएको घैंटा फुटालेर स्थानीय जनतालाई उद्यम सञ्चालन गर्न योजना आवश्यक छ । नेपालका मुख्यतया चार वटा स्रोतहरू रित्तिएर जाने स्रोतहरू होइनन् प्रयोग सँगै पुनस्र्थापना गर्न मिल्ने खाले छन् ।
जमिन प्रयोग गरेर खाद्यमा आधारित कृषि उद्यमहरू सञ्चालन गर्न सकिन्छ । बनलाई प्रयोग गरेर फर्निचर, वनस्पती तेल र इन्धनमा आधारित उद्यमहरू सञ्चालन गर्न सकिन्छि । पानीलाई प्रयोग गरेर कृषि र वन उत्पादनमा प्रयोग गर्न मिल्छ भने वन विकास र कृषिको विकासले जमिनको आद्रतामा वृद्धि भइ पानीका स्रोतको भण्डार भरिने हुन्छ । हिमाली जिल्लाका स्थानीय तहहरूले उच्च हिमाल र हिमालका काखमा रहेका पाटनहरूमा उत्पादन हुने बहुमूल्य जडिबुटीको प्रशोधन र व्यवसाय खेती गर्ने उद्यम सिर्जना गर्दा जडिबुटी रित्तिएर जान्दैन बरु उत्पादन बढ्दै जान्छ । कृषि र वनमा आधारित उद्यमले पशु उद्यमको माग गर्दछ । पशुपालन उद्यमले कृषि, वन, जडिबुटी उद्यमलाई खाना
(मल) दिन सहयोग गर्छ भने यी उद्यमहरूले पशु उद्यमलाई घाँस दिन्छ । जलमा आधारित उद्यमले कृषि, पशु र वनमा आधारित उद्यमलाई सिँचाइ र ऊर्जा शक्ति दिन्छ भने यी उद्यमहरूले पानीका स्रोत बढाउन सहयोग गर्छ ।
स्थानीय सरकारको नजिक स्थानीय जनता छ, स्थानीय जनतासँग स्थानीय वन, जल, जमिन, जडिबुटी छ । स्थानीय जनताको नजिकको स्थानीय स्रोतलाई लघु उद्यममा रूपान्तरण गरी जनतालाई मालिकको अनुभूति दिँदा स्थानीय सरकारलाई स्थानीय जनताले अधिकतम शुल्क दिनेछन् । स्थानीय सरकार बलियो भए राज्य सञ्चालनमा सहजता हुनेछ । स्थानीय सरकारले उद्यमको नीति प्राविधिक रूपमा मेल खाने तरिकाले निर्माण गरी प्रभावकारी रूपमा प्राविधिक दक्ष जनशक्तिबाट कार्यान्वयन गर्नसके संघीय संरचना अनुसरा स्थानीय जनता मालिक हुने पक्का छ ।
के हो त लघु उद्यमी, लघु उद्यम र उद्यम विकास सहजकर्ता ?
नेपाल सरकार उद्योग मन्त्रालयद्वारा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) सञ्चालन निर्देशिका २०७० संशोधनसहित २०७३ अनुसार लघुउद्यमीः नाफा कमाउने उद्देश्यले उद्योग व्यवसाय सञ्चालनका लागि जोखिम बहन गरी लगानी गर्ने व्याक्ति वा समूहलाई जनाउँछ । लघु उद्यमः भन्नाले जग्गा बाहेक बढीमा पाँच लाखसम्म स्थिर पूँजी लगानी हुने, वार्षिक ५० लाख रूपैयाँ भन्दा कम आर्थिक कारोबार हुने, उद्यमीसमेत नौ जनासम्म कामदार रहने र इन्जिन उपकरण प्रयोग हुने भएमा त्यस्तो इन्जिन वा उपकरणको विद्युत मोटर वा इन्जिन शक्ति क्षमता २० किलोवाट भन्दा कम रहने व्यवसायलाई जनाउँछ । उद्यम विकस सहजकर्ताः भन्नाले लघु उद्यम स्थापना, विकास, तथा प्रवद्र्धन गर्नका लागि आवश्यक योग्यता पुगेको जनशक्ति भन्ने सम्झनुपर्दछ ।
(लेखक घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतका उद्यम विकास अधिकृत हुन् ।)

प्रकाशित मितिः   १७ फाल्गुन २०७४, बिहीबार १३:५५