वीरेन्द्रनगर असुरक्षित कहिलेसम्म ?

प्रतिज्ञा थापा
यही माघ २४ गते बिहान क्याम्पस जानका लागि म घरबाट निस्कएँ । त्यतिबेला बिहानको साढे ५ बजेका थियो । बाटोमा साथीसँग भेट भयो । हामहरू क्याम्पसतर्फ हँडिरहेका थियौं । त्यति नै बेला एउटा मोटरसाइकलमा आएका मान्छेहरूले मेरो हात समातेर ताने । उनीहरूले हामीहरूलाई सँगै नहिड्न भन्दै धम्काए । मैले घरदेखि क्याम्पस जान लागेको भनेर जवाफ दिएँ । त्यतिकैमा उनीहरूले आउँदा दिनमा हामीहरूलाई छुट्टाछुट्टै भएर हिँड्नु, सँगै नहिँड्नु भन्दै धम्की दिएर गए ।
यो घटनाले मेरो मनमा त्रास पैदा भयो । हामीले त्यस्तो के अपराध गरका थियौ र ? सुरक्षितसँग निर्धक्क भएर क्याम्पससम्म जान नपाइने । उनीहरूको धम्की र शैली हेदा प्रहरी जस्ता देखिन्थे । घरदेखि क्याम्पससम्म पुग्न असुरक्षित महशुस गरिरहेकै अवस्थामा अर्को यस्तै घटना दोहोरियो । यही माघ २५ गतेका दिन दैलेख सामान पठाउनका लागि सुर्खेत बसपार्क गएकी थिएँ । फर्किदा बाटोमा शिक्षा क्याम्पसको होस्टेल नजिकै पुनः दुई जना लुटेराहरूले मेरो फोन खोसे । विहानको समयम थियो । मलाई पिटेर मेरो फोन नै लिएर लुटेराहरू भागे ।
मैले यही स्थानमा यो भन्दा अगाडी पनि खुकरी देखाएर लुटेराले मोवाइल लुट्ने गरेको सुनेकी थिएँ । जब म आफै घटनामा परेँ, यसको पुष्टी पनि भयो । हो मलाई केही भएन त्यतिबेला, मेरा ज्यान त बच्यो । तर यदी मेरो हत्या नै भएको भए ? ममाथि बलात्कार नै भएको भए ? त्यसको जिम्मेवार को हुन्थ्यो ? जनताको सुरक्षाको जिम्मेवारी लिएको स्थानीय प्रशासन र प्रहरीको शून्य उपस्थितिले आज धेरै प्रश्न उब्जाएको छ । प्रदेश ६ को राजधानी वीरेन्द्रनगर । तर म आफैले भोगेका यी दुई घटनाले वीरेन्द्रनगर कति असुरक्षित शहर रहेछ भन्ने गतिलो उदाहरण देखाएको छ ।
कहिलेसम्म हामी सुर्खेतीले एक्लै घरदेखि बाहिर निस्कन डराउने ? अनि कहिलेसम्म बाटोमा कोहीले केही गर्ने हुन् कि भन्दै डरको पोको बोकेर हिँड्ने ? त्यसमा पनि महिलालाई ढुक्क भएर हिँड्न सक्ने अवस्था छैन । मेरो स्थानीय प्रहरी र प्रशासनलाई आग्रह छ । वीरेन्द्रनगरभित्रका कइनेपानीको गेट, शिक्षा क्याम्पसको होस्टेल, कालूञ्चौक, धमलाचौकलगायतका स्थानहरू बढी असुरक्षित छन् । यस्तो स्थानमा प्रहरीको उपस्थिती हुनु पर्दछ ।
तर आजसम्म देखिएको छैन, ति स्थानमा प्रहरीको सुरक्षा । अन्य जोखिम ठाउँमा पनि प्रहरी पठाउनुस् । जसले गर्दा फेरि म जस्तो अनकौं छोरी र छोराले यो समस्या भोग्न नपरोस् । सक्नुहुन्छ भने जोखिम ठाउँमा सुरक्षाकर्मी खटाएर सुरक्षा दिनुस् । होइन भने स्थानीय प्रशासनले भन्न सक्नु्पर्यो अब, हामी सुरक्षा दिन सक्दैनौं, जनताले आफ्नो सुरक्षा आफै गर । नत्र प्रहरीले सुरक्षाको प्रत्याभूति दिन जरुरी छ ।
आज एउटा विद्यार्थी सुरक्षित छैन । एउटा कर्मचारी सुरक्षित छैन । एउटा छोरी सुरक्षित छैन भने घुम्ने कुर्चीमा बसेर मात्र जिल्लाको सुरक्षा व्यवस्थापन गर्न सक्नुहुन्न । अर्कोतर्फ जनताको सेवा गछौ्र्र भन्ने माननीहरूले पनि अब गम्भिर हुन जरुरी छ । संसद र सरकारमा नीति तथा नियम बनाउने जिम्मेवारी बोक्नु भएका नेताहरूले पनि अब वीरेन्द्रनगरलाई सुरक्षित शहरका रूपमा स्थापित गर्न पहल थाल्नु आवश्यक छ । आफ्नो सुरक्षका लागि गार्ड पछाडि लगाएर हिँड्ने नेताहरूले अब जनताको सुरक्षाका लागि सोच्नु परेन र ? यहाँहरूले पनि आफ्नो विजयलाई सर्वश्व जितेको नठान्नुस् । सक्नुहुन्छ भने देशमा राम्रो सुरक्षा नीतिको व्यवस्था गरिदिनुस् । जसले गर्दा एउटा आमाको आँखामा बलात्कृत छोरी अनि हत्या भएको छोराको वियोगमा रोएको आँसु देख्ने अवस्था कहिल्यै नआओस् ।
सुरक्षा उपस्थितिको हिसावले नगर प्रहरी, जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयहरू वीरेन्द्रनगरमै छन् । सेना र सशस्त्रका क्षेत्रीय स्तरका कार्यालयहरू पनि यहाँ नै छन् । तर वीरेन्द्रनगर लुटपाट र चोरीका घटनाले पीडित बनेको छ । वास्तवमा यो जिल्लाको लागि राम्रो सन्देश दिँदैन । मलाई लाग्छ प्रशासन र सुरक्षा अधिकारीहरू निदाएर बसेका छन् । अन्याय, अत्याचार, लुटपाट, शोषण, चोरी र डकैटी नियन्त्रणमा यहाँहरू अब गम्भिर हुनै पर्दछ । राज्यले दिएको जिम्मेवारी पूरा गर्ने दायीत्व यहाँहरूको नै हो । मेरो आग्रह, विहान घरबाट निस्केर बेलुकी सुरक्षित रूपमा घरसम्म फिर्ता हुनसक्ने वातावरण निर्माणमा सबैको ध्यान पुगोस् । अनिमात्र हाम्रो वीरेन्द्रनगर, राम्रो वीरेन्द्रनगर बन्नेछ ।

(लेखक वीरेन्द्रनगरस्थ्ति साहारा क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्यनर विद्यार्थी हुन् ।)

प्रकाशित मितिः   २८ माघ २०७४, आईतवार १४:२२