‘स्थानीय उत्पादनलाई प्राथमिकता देऊ’

शुक्रवारदेखि वीरेन्द्रनगरमा प्रदेशस्तरीय औद्योगिक तथा व्यापार मेला सुरु भएको छ । हरेक वर्ष यस्ता मेला र महोत्सवहरू सञ्चालन हुने गरेका छन् । महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने आयोजकले दाबी गर्दै आएका छन् । तर कतिपयले यस्ता महोत्सवले आयोजकलाई मात्रै नाफा हुने र स्थानीय उत्पादनले प्राथमिकता नपाउने गरेको गुनासो गर्दै आएका छन् । यही विषयमा केन्द्रित रहेर हामीले महोसत्वमा स्टल राखेका व्यवसायी र अवलोकनका लागि पुगेका दर्शकलाई ‘महोत्सव कति सान्दर्भिक ?’ भनेर सोधेका थियौं । प्रस्तुत छ उनीहरूको धारणा जस्ताको त्यस्तैः

जगत ज्ञवाली
कहिले काहीं हुने मेला महोत्सवबाट व्यापार व्यवसाय प्रबद्र्धन गर्न सहयोग पुगेको छ । मेला महोत्सव एउटा व्यापार व्यवसायका लागि मात्रै नभइ बजारमा क्रेता र बिक्रेता बीचको सम्बन्धलाई जोड्ने माध्याम बनेको छ । स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुगेको छ । तर, स्थानीय उत्पादनलाई केही छुट हुनुपर्छ । जसले गर्दा कृषकलाई पनि उत्पादन गर्न हौसला प्रदान गर्छ र देश विकास हुन्छ । उत्पादन हुन्छ तर बजारका लागि समस्या छ, मूल्य पाउँदैन । यस्ता मेला बिक्री वितरणका केन्द्र हुन् । स्थानीय उत्पादन अझै पनि प्राथमिकतामा पर्न सकेको छैन ।

 

लालबहादुर डाँगी
वर्षेनी मेला महोत्सव आयोजना हुन्छन् तर, यी सबै व्यापार व्यवसायमूखी भएका छन् । स्थानीय उत्पादनलाई खासै प्राथमिकतामा राखिएको पाइदैन । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि विशेष मेला वा प्रदर्शन गर्नुपर्ने हो । तर, यसो नहुँदा हामीले उत्पादन गरेको वस्तु घरमै सडेर जाने, बजार नपाउने समस्या छ । जसले गर्दा आय–आर्जनमा ठूलो धक्का परेको छ । घरेलु तथा साना उद्यमीहरू हिजो मात्रै होइन आज पनि मारमा छन् । राज्यले व्यापारिक महोत्सव भन्दा पनि वस्तुगत प्रदर्शनी तथा मेलाहरू गर्नुपर्दछ ।

 

कल्पना थापा
व्यापार प्रबद्र्धनका लागि भनेर लाग्ने महोत्सव बाह्य व्यापार फस्टाउने र स्थानीय व्यापार आझेलमा पारेको जस्तो देखिन्छ । विगतदेखि सुर्खेतमा वर्षेनी एक÷दुई वटा महोत्सव लाग्छन् तर, स्थानीय उत्पादनलाई खासै बजारीकरण वा प्रोत्साहन दिन सकेका पाइदैन । घरेलु तथा साना उद्योगहरू आज पनि ओझेलमा छन् । उद्यमीले उद्यम गरेवापतको प्रतिफल पाउन सकेको छैनन् । जसको पहिलो कारण भनेको स्थानीय उत्पादन प्रोत्साहन गर्न नसक्नु हो । यस्ता महोत्सवबाट खासै स्थानीय उत्पादन प्रबद्र्धन भएको पाइदैंन । स्थानीय उत्पादनले आज पनि बजार पाउन सकेको छैन ।

 

मञ्जु थापा
देश विकास र आत्मनिर्भरमा सहयोग पुग्ने उद्देश्य राखेर नै महोत्सव गरिन्छ । वीरेन्द्रनगरमा सुरु भएको महोत्सव पनि प्रदेशमा आर्थिक समृद्धिको नारा लिएर आयोजना गरिएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने समाचार निकै सुनियो । तर, यहाँ खासै स्थानीय उत्पादन देख्न सकिएको छैन । भए पनि स्टलको व्यवस्थापन हुनसकेको छैन । सरकारी तथा गरैसरकारी संघ–संस्थासँग सहकार्य गरेरै मात्रै स्टल राख्न दिइएको छ । जसले गर्दा व्यापारीहरू र आयोजकबीच नै समन्वय हुन सकेको छैन । अर्काेतर्फ स्थानीय उत्पादनलाई बजारीकरण होस् भन्ने हो भने सहुलियतमा स्टलहरू बुकिङ्ग हुनुपर्छ । तर यसो हुन सकेको छैन ।

 

दानबहादुर विक
आज बाह्य मुलुकको सामग्री लोकप्रिय बनेको छ । नेपाल र नेपालकै उत्पादनले बजार पाएको छैन । जसले गर्दा अरबौं रूपैयाँ बाह्य मुलुक गइरहेको छ । घरेलु उत्पादनमा उद्यमीहरूले निराश हुनुपर्ने अवस्था छ । यसको कारण भनेको स्थानीय उत्पादनको प्रबद्र्धन र प्रोत्साहन हुन नसक्नु नै हो । जसको असर प्रत्यक्ष रूपमा उद्यमीमा परेको छ । आम्दानी बढ्न सकेको छैन । लगानी गर्ने र त्यसको प्रतिफल आउन सकेको छैन । यसतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्छ । सरकारले कलाकार बोलाउने महोत्सव भन्दा पनि छुट्टै स्थानीय उत्पादन प्रबद्र्धनका लागि विशेष प्रदर्शनी गर्न आवश्यक छ ।

 

भद्री रावत
स्थानीयस्तरमा उत्पादन भएको कृषिबालीले बजार पाउन सकेको छैन । उत्पादन स्थलमा व्यापारीहरू पुग्छन् तर, कृषकको लगानी सुरक्षित हुनसकेको छैन । आम्दानी र आय–आर्जनका लागि लगाइएको कृषि उत्पादनले बजार नपाउनु भनेको कृषि उत्पादनको प्रचार–प्रसार हुन नसक्नु नै हो । कृषकको खेतबारीमा पुगेर कृषि उत्पादन खरिद गर्ने व्यापारीबाट कृषकहरू ठगिनुपर्ने अवस्था छ । कृषि उत्पादनमा दलालीकरण गरिन्छ । किसानसँग सस्तो भन्दा सस्तो मूल्यमा खरिद गर्ने र महँगोमा बिक्री गर्ने गरिएको छ । यसले कृषि क्षेत्रमा लागेका किसानलाई प्रोत्साहन भन्दा पनि निराश बनाएको छ । यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।

 

तिला राना
स्थानीय उत्पादनले मूल्य नपाउनु नै प्रमुख समस्या छ । जसले गर्दा स्थानीयस्तरका उद्योगहरू फस्टाउन सकेका छैनन् । बेलाबखत हुने महोत्सवबाट पनि स्थानीय उत्पादनले खासै प्रबद्र्धन हुनसकेको छैन । नाममा मात्रै सीमित गरिने तर, बाह्य जिल्लाबाट स्टलहरू ल्याउने गरिएको छ । स्थानीयस्तरमा उत्पादन भएको वस्तु आज पनि बजारको मुख ताकेरै बसेको छ । उत्पादन ग¥यो त्यसै खेर जान्छ । यो समस्या हिजो मात्रै होइन आज पनि कायम छ । अहिले स्थानीय उत्पादनले बजार पाउन नसक्नु भनेको नेपाली उत्पादनप्रति बाह्य मुलुकको उत्पादनले बजार पाउनु हो । अबका दिनमा स्थानीय उत्पादनलाई मात्रै प्राथमिकतामा राखेर मेला महोत्सव गरिनुपर्छ ।

 

कर्णप्रसाद रूपाखेती
महोत्सवबाट स्थानीय उत्पादनले कमै मात्रामा प्रचार गरिएको पाइन्छ । हिजोआज लाग्ने महोत्सवहरूबाट कलाकारहरू बोलाउने र आम्दनी गर्ने माध्याम बनेको छ । जसले गर्दा स्थानीय उत्पादनको प्रबद्र्धन हुने भन्दा पनि झनै ओझेलमा पारिरहेको छ । उचित प्रचार–प्रसार गर्नसके मात्रै स्थानीय उद्यमीले उत्पादन गरेको वस्तुहरूको बिक्री वितरण र उपभोग बढ्छ । अबका दिनमा सरकारले स्थानीय उत्पादनलाई लक्षित गरी मेला, प्रदर्शनी गर्नुपर्छ । होइन भने जति नारा लगाए पनि विदेशी सामानप्रति नेपालीको मोह घट्ने छैन । त्यसैले सम्बन्धित निकायले समयमा नै यसतर्फ सोच्न जरुरी छ ।

 

केपी दाहाल
स्थानीय उत्पादन प्रबद्र्धन नहुँदा साना तथा मझौला उद्योग फस्टाउन सकेका छैनन् । देश समृद्ध बनाउने आधार भनेकै उद्योग व्यवसाय हो । तर, स्थानीय उत्पादन बजारीकरण धेरै हुनुपर्ने हो त्यति हुनसकेको छैन । कहिले कसो हुने मेला महोत्सवले पनि केही मात्रामा स्थानीय उत्पादनको प्रबद्र्धन भएको छ । तर, यो प्रयाप्त होइन् । देश संघीय संरचनामा गएसँगै प्रदेश समृद्ध बनाउनका लागि साना तथा मझौला उद्योगको विकास आवश्यक छ । जसले गर्दा प्रदेशलाई समृद्ध बनाउन मद्दत पुग्नेछ । स्थानीय उत्पादनको बिक्री वितरणको सहजताका लागि वर्षमा होइन् मासिक रूपमा विशेष प्रदर्शनी तथा मेला महोत्सव आवश्यक छ ।