स्कृतध्नता (लघुकथा)

‘होइन ए स्वाभिमान ! तिमी आजभोलि खुशी देखिन्नौ अनुहारमा विषादका रेखा कोरिएका छन् । के पीर प¥यो ?’ एन्जलले चौतारामा उसलाई एक्कासि प्रश्न सोधी । प्रश्न सुनेर स्वाभिमान झन् गम्भीर देखियो तर केही बोलेन । एन्जेलले पुनः प्रश्न गरी, ‘होइन तिम्रो बोली पनि बन्द भइसक्यो कि क्या हो ?’

‘खासै केही होइन एन्जल, उसकै काखमा बसेर प्रथम वाणी निकालियो,अरूको लाख र आमाको काख भन्ने उखानको अर्थ गाम्भीर्य मनन गरियो । शब्दले भकारी भरियो र वाचाल बनियो । उनीविनाको जीवन कल्पनासम्म गरिएन । संसारमा उनीभन्दा सरल, मायालु लावण्यमयी, सरस र लालित्यमय अर्की छैनन् पनि भनियो । माया गर्ने, घुर्की लाउने, गाली गर्ने, मन बहलाउने साधन उही बन्यो तर जब अर्कीसित लसपस बढ्यो अर्की प्राप्त गर्ने धुन चढ्यो तब पुरानीको अनुहारमा चाउरी देखिन थाल्यो । रङ उडेको खेलौना जस्तै लाग्न थालिन् । पहिले–पहिले यो घर उनको एकलौटी लाग्थ्यो तर अब उनलाई एउटा कोठामा मात्र सीमित गर्न रहर लाग्न थाल्यो । नयाँलाई सर्वोपरी भूमिका दिन मन लाग्न थाल्यो । पहिलेकीलाई भण्डारबाट आधा बाहिर पालीतिर सार्न मन लाग्न थाल्यो नयाँलाई नै हर्ताकर्ता बनाउन मन लाग्न थाल्यो । कहिले काहीं त लाग्छ पहिलेकीलाई घरबाटै निकालिदिऊँ र सम्बन्ध नै विच्छेद गरिदिऊँ तर लोकलाज र समाजको डरले गर्न सकिएको छैन । त्यसैले अन्योलमा पीङ खेल्दै छु ।’

‘होइन,तिमी बहुलायौ कि क्या हो ? आफू मात्रै बोल्छौ कि मलाई पनि बोल्न दिन्छौ ? मैले केही बुझे मरिजाऊँ । अर्को बिहे गर्न लाग्यौ कि क्या हो ?’ एन्जलले प्रश्न गरिन् । ‘विवाह नै नगरेको मान्छेले के अर्को विवाह गर्नु नि !’ स्वाभिमानले निराशाले भरिएको जवाफ दियो । ‘अनि ती पहिलेकी र दोस्री भनेकी को को हुन् नि ?’ स्वाभिमानले गम्भीर भएर भन्यो, ‘पहिलेकी नेपाली भाषा र दोस्री …।’