कोरियाली प्रायद्विपमा खेल कुटनीति
शेरबहादुर खत्री ‘कञ्चन’
वर्तमान समयमा खेलिने प्रमुख खेलकुदहरू केवल मनोरञ्जनका माध्यम मात्र होइनन् । खेलकुद आज राजनैतिक तथा मानवीय सम्बन्धको प्रमुख आधार बन्न पुगेको छ । खेलकुदको भाषामा पूर्व र पश्चिमको दूरी मानिदैंन । खेलका बहुआयामिक विशेषताहरू छन् र यिनै विशेषताले गर्दा यसको उज्जवल भविष्य सीमाहीन छ ।
अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरूमध्ये महŒवपूर्ण एवम् सबैभन्दा ठूलो प्रतियोगिताको रूपमा चर्चित ओलम्पिक खेल खेलकुद जगतको एक पवित्र तथा आदर्श प्रतियोगिता मानिन्छ । मानव सभ्यता, साहित्य र कला जस्तै ओलम्पिक खेल पनि युनानी सभ्यताको देन मानिन्छ । ओलम्पिक खेल मानव इतिहासको सबैभन्दा पुरानो खेल परम्परा हो ।
ईसा पूर्व ७७६ मा सुरु भएको प्राचीन ओलम्पिक खेलको समयमा प्राचिन ग्रीस विभिन्न स–साना नगर राज्यमा विभाजित थियो र यी नगर राज्यहरूका बीचमा प्रायः झै–झगडा तथा युद्ध भइरहने भएकाले आपसी मित्रता र शान्तिका लागि साथै युद्धलाई केही समयका लागि भए पनि रोक्ने उद्देश्यले यस खेलको आयोजना गरेको विश्वास गरिन्छ । यो ओलम्पिक खेल अगस्त र सेप्टेम्बर महिनामा खेलाइन्थ्यो र खेल सुरु हुनुभन्दा तीन महिना अगाडि नै तीन जना दुतहरू ग्रीसका विभिन्न ठाउँमा घुमेर आपसी युद्ध र लडाईं बन्द गर्ने घोषणा गर्दथे । यस समयमा भयरहित वातावरणमा विना कुनै रोकटोक स्वतन्त्ररूपमा कही पनि आउन जान सक्दथे ।
आगामी फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियाको पोङच्याङमा हिउँदे ओलम्पिक खेलकुद आयोजना हुँदैछ । कोरियाली प्रायद्विपमा सन् १९५० देखि १९५३ सम्म भीषण युद्ध भएर विभाजित हुन पुगेका दुई कोरिया पुनः प्राविधिक रूपमा युद्धमै रहेको अवस्थामा पनि यस ओलम्पिकमा उत्तर कोरियाले भाग लिने भएको छ । यी दुई कोरियाबीच जनवरी ९ तारिख बेलुकी पान्मुनजोनमा उच्चस्तरीय वार्ता भएपछि तिनीहरूले आइस हकी खेलको संयुक्त टोलीसमेत बनाउने सहमति गरेका थिए । सो वार्ताले सकारात्मक वातावरण निर्माण गरेपछि पुनः दुई देशका अधिकारीहरू बीच कार्य समूहको अर्को वार्ता भएको थियो । दुई कोरियाबीचको वार्तालाई अन्तर्राष्ट्रिय समाजले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बैठकबाट प्राप्त सकारात्मक प्रगतिको स्वागत गरे । त्यसै गरि अमेरिकी राज्यपरिषद्का प्रवक्ता हेथर न्यूअर्टले हिउँदे ओलम्पिकको सुरक्षा प्रत्याभूति गर्नुका साथै त्यस वार्तालाई अमेरिकाले स्वागत गर्ने उल्लेख गरे भने चीनका राष्ट्रपति सी चीन फिङले कोरियाली प्रायद्विप समस्याको उचित समाधानतर्फ अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायसँगै सहयोग गर्न चीन इच्छुक रहेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली प्रायद्विप समस्या समाधानमा चीनको महŒवपूर्ण भूमिकालाई महŒव दिएको बताए । चीनको यी दुवै कोरियासँग समुधुर सम्बन्ध छ ।
उत्तर कोरियाले पोङच्याङ हिउँदे ओलम्पिकका लागि प्रतिनिधि मण्डल पठाउने र दुई कोरियाबीच सैनिक लगायत अन्य क्षेत्रमा पनि वार्ता गर्ने विषयमा सहमति भएको थियो । सन् २०१७ मा कोरियाली प्रायद्विपमा निकै तनावको अवस्था हुँदा–हुँदै पनि सन् २०१८ को सुरुवाती सँगै वर्षौदेखि कडा दुस्मनीमा रहेका दुई कोरियाबीचको वार्ताले कोरियाली प्रायद्विपको तनाव कम हुने र सम्भावित युद्ध नहुने कुरामा विश्व समुदायलाई एक चोटी आशावादी बनाएको छ । ओलम्पिक खेलको माध्यमबाट पुनः एकचोटी विश्व समुदायमा कोरियाली प्रायद्विपमा देखिएको तनावपूर्ण अवस्थालाई व्यवस्थापन गर्न खेलकुद कुटनीतिको सदुपयोग गर्न दुवै कोरिया ईच्छुक देखिएका छन् ।
खेल उद्घाटन समारोहमा दुई राष्ट्रका सहभागी खेलाडीले सँगै मार्चपास गरेमा विश्वभर उनीहरूको सम्बन्ध र प्रतियोगिताका बारेमा सकारात्मक सन्देश जाने आश गरिएको छ । प्राविधिक रूपमा सुमधुर सम्बन्ध नभए पनि दुवै राष्ट्रले सन् २००० को सिड्नी ओलम्पिक, सन् २००४ को एथेन्स ओलम्पिक र सन् २००६ को टुरिन हिउँदे ओलम्पिकको उद्घाटनमा सँगै मार्चपास गरेका थिए । तर उत्तर र दक्षिण कोरिया दुई देशका रूपमा विभाजित भएपछि एउटै झण्डामा मार्चपास गरी ओलम्पिक प्रतियोगितमा भाग लिन लागेको यो पहिलो ओलम्पिक प्रतियोगिता हो । यसअघि सन् १९८८ मा सियोलमा भएको गृष्मकालीन ओलम्पिक उत्तर कोरियाले बहिष्कार गरेको थियो । दक्षिण कोरियाले यस खेलकुदमा उत्तरले बढी भन्दा बढी खेलाडी र अधिकारीहरू पठाउने वातावरण बनाएर दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन खोजेको देखिन्छ । उनीहरू खासमा संयुक्त झन्डामा सँगसँगै मार्चपास गरेर उक्त खेलकुदबाट विश्व समुदायमा दुई कोरियाको पुनः एकीकरण सम्भव छ भन्ने सन्देश दिन खोजेको देखिन्छ भने अर्कोतिर यी दुई वार्तापछि उत्तर कोरियाले सो ओलम्पिक खेलमा आफ्ना खेलाडी पठाएर सम्बन्ध विस्तार गर्न खोजेको देखिन्छ । जसले दुई देशबीच शान्तिपूर्ण समझदारीको विकास गर्न मद्दत गर्नेछ ।
यो सम्बन्ध सुधारको क्रममा अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायद्विपमा गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई स्थायी रूपमा रोक्न उत्तरले आग्रह गरेको छ । जहिले पनि अमेरिका कोरियाली प्रायद्विपमा जानीबुझिकन समस्यालाई हल गर्न नचाहेको उत्तरको बुझाइ छ । यदि कोरियाली प्रायद्विपमा स्थायी शान्ति स्थापना गर्ने हो भने संयुक्त सैन्य अभ्यास रोक्नु नै बुद्धिमानी हुनेछ ।
यसरी तीव्र रूपमा बढिरहेको कोरियाली प्रायद्विपको विवादलाई केही समय भए पनि शान्तिपूर्ण वातावरण बनाउन र वार्ताको टेवलमा ल्याउन हिउँदे ओलम्पिक माध्यम बनेको छ । यो अवसरलाई सदुपयोग गरी विगत लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देशको सम्बन्ध सुधार गर्ने वातावरण थप सौहार्द बनाउने राम्रो अवसरको रूपमा लिन सक्नुपर्छ । यो संयक्त मार्चपासको समय स्वयम् कोरियाली र विश्वसमुदायको लागि भावपूर्ण क्षण हुने निश्चित छ । ओलम्पिकको मर्म नै सम्मान, सम्वाद र सह सम्बन्ध विस्तार गर्नु भएकोले यो अवसरलाई कोरियाली प्रायद्विपमा स्थायी शान्तिमा रूपान्तरण गर्न विश्व समुदाय चुक्नु हुँदैन ।
कोरियाली प्रायद्विपको स्थिरता र शान्तिपूर्ण वातावरणका लागि अमेरिका र दक्षिण कोरियाले जारी राख्दै आएको ‘कि रिजल्भ’ र ‘फोल इगल’ नामक संयुक्त सैन्य अभ्यास रोक्नुका साथै थाड प्रणाली हटाउनुपर्ने हुन्छ । उत्तर कोरियामाथि असीमित नाकाबन्दी थोपरेर र युद्धको धम्की दिएर कोरियाली प्रायद्विपको समस्या समाधान हुनुभन्दा झन् बल्झिरहेको अवस्थामा यी दुई दाजुभाइको मामिलामा अमेरिकाले ठालु नबन्नु नै उचित देखिन्छ । पुनः दुई कोरियाको शान्तिपूर्ण एकीकरण गर्न र बिछोडिएका परिवारको पुनर्मिलन गर्न दिनु नै न्यायोचित हुन्छ । नकी फुट र विभाजन गराएर कसैको पनि हित हुँदैन । तसर्थ अहिले कोरियाली प्रायद्विपमा देखिएको सहज वातावरणलाई खेलकुद कुटनीति सँगसँगै चिनियाँ पहल कदमीबाटै समाधान गर्नुपर्ने देखिन्छ । कोरियाली प्रायद्विपमा अमेरिका र संयुक्त राष्ट्रसंघले लगाएको असीमित नाकाबन्दीबाट यहाँको समस्याको समाधान हुने छाँट देखिदैंन । यस्तो मानवता विरोधी कदमबाट पछि हट्नु नै बुद्धिमानी हुन्छ ।
साझा बिसौनी संवाददाता ।