प्रदेश ६ मा यस्तो छ मतभार
साझा बिसौनी संवाददाता
सुर्खेत, १५ माघ ।
राष्ट्रिसभाको निर्वाचन आउन एक साता मात्रै बाँकी छ । माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचन आयोगले सोमवार चुनाव चिन्ह प्रदान गर्नुका साथै अन्तिम नामावली पनि प्रकाशन गरेको छ ।
प्रदेश ६ मा स्थानीय तहको एक सय ५८ र प्रदेश सभा ४० गरी एक सय ९८ मतदाता रहेका छन् । प्रदेश ६ मा ७९ स्थानीय तह रहेका छन् । यो प्रदेशमा स्थानीय तहको दुई हजार आठ सय ४४ र प्रदेश सभाको एक हजार नौ सय २० गरी जम्मा चार हजार सात सय ६४ मतभार रहेको छ । यो प्रदेशमा पहिलो दल बनेको एमालेले प्रत्यक्षतर्फ १४ र समानुपातिक ६ गरी २० जना प्रदेशसभा सदस्य जितेको छ । प्रदेशसभा सदस्यको जम्मा मतभार नौ सय ६० हुनेछ । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी एमालेका ५८ जना मतदाता छन् । स्थानीय तहमा उनीहरूको मतभार एक हजार ४४ हुन आउँछ ।
त्यसैगरी माओवादी केन्द्रले प्रत्यक्षमा नौ र समानुपातिकमा चार गरी १३ जना प्रदेशसभा सदस्य छन् । उनीहरूको ६ सय २४ मतभार हुन आउँछ । स्थानीय तहमा ५१ जना मतदाता छन् । स्थानीय तहका मतदाताको नौ सय १८ मतभार हुन आउँछ । एमाले र माओवादीले गठबन्धनमार्फत् निर्वाचनमा सहभागी हुने हुँदा प्रदेश ६ मा वाम गठबन्धनको तीन हजार पाँच सय ४६ मतभार हुन आउने देखिन्छ ।
कांग्रेसका तर्फबाट प्रत्यक्षमा एक र समानुपातिक पाँच गरी ६ जना प्रदेश सदस्य जितेका छन् । जसको मतभार दुई सय ८८ छ । स्थानीय तहमा कांग्रेसका ४१ जना मतदाता छन् । स्थानीय तहको मतदातालाई १८ ले गुणा गर्दा जम्मा एक हजार २६ मतभार हुन आउँछ । यस प्रदेशमा राष्ट्रियसभा जित्नका लागि एकजनाले एक हजार एक सय ६६ मत ल्याउन आवश्यक छ ।
प्रदेशबाट एकल संक्रमणीय प्रणालीमार्फत् आठजना निर्वाचित हुनेछन् । तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गरी ५९ सदस्यीय राष्ट्रियसभा हुनेछ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभामा विजयी सदस्य, गाउँपालिका, नगरपालिकाका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख मतदाता हुने व्यवस्था छ । मतदाताको मतभार फरक–फरक निर्धारण गरिएको छ । प्रदेशसभा सदस्यको एक मतलाई ४८ मतभार दिइनेछ । त्यसैगरी स्थानीय तहका मतदाताको एक मतलाई १८ मतभार दिइनेछ । एकल संक्रमणीय भनेको प्राथमिकतामा आधारमा मत दिने प्रणाली हो । यसमा उम्मेदवारको क्रमसंख्या निर्धारण गरिन्छ र कम मत प्राप्त गर्ने उम्मेदवार सूचीबाट हट्नेछ ।
निश्चित थ्रेसहोल्ड पार गरेका दलको पहिलो प्राथमिकतामा परेका उम्मेदवारले प्राप्त गरेको मत बाँकी रहेपछि अर्का उम्मेदवारमा सर्दै जान्छ । त्यसपछि सूची अनुसार उम्मेदवार निर्वाचित हुँदै जानेछन् । यसमा सीट निर्धारण विधि प्रयोग गरिन्छ । निर्वाचित हुने सीट संख्यामा एक जोडेर आउने संख्याले कूल मतभारलाई भाग गरी आउने संख्यामा फेरि एक जोडेर निर्वाचित हुन आवश्यक मतसंख्या निकालिनेछ ।
साझा बिसौनी संवाददाता ।