कर्णालीलाई फेरि पनि उपेक्षा !

रमेश रावल

कर्णाली ‘ट्रेडमार्क’ का रूपमा विकसित हुँदै गएको छ । पहिले कर्णालीको नाम सुन्नसम्म पनि नचाहनेहरूले अहिले कर्णालीका विषयलाई यति गहन बनाइदिएका छन् कि कर्णाली उनीहरूको भाग्य र भविष्य दुवै हो ।
हिजोका दिनमा ‘हटारु’, ‘जुम्ली’ इत्यादि शब्दले कर्णालीलाई हेप्ने गरिन्थ्यो । आज कर्णाली विकासको बाटोमा अगाडि बढेको छ । कर्णालीका वस्तुले देश–विदेशमा बजार पाउन थालेका छन् । तिनै कर्णालीका ‘हटारु, ‘जुम्ली’ हरूले उत्पादन गरेका वस्तु निकै महँगा छन् । सिमी, फापर, कोदो, स्याउ, आलुको सबैभन्दा अर्गानिक स्वादिलो स्वाद पाएका छन् । यिनै स्वाद चाख्न पाएकाहरू अहिले जताततै ‘कर्णाली ट्रेडमार्क’ निर्माण गरेर बेचिरहेका छन् ।
विश्वमा सबैभन्दा महँगो मूल्यमा बिक्री हुने जडिबुटी यार्सागुम्बा लगायतको भण्डार कर्णालीमा नै छ । पर्यटन, जलविद्युत, चीन र भारतलाई जोड्ने कर्णाली करिडोर बन्दै गरेको छ । त्यसैले हिजोका दिनमा ‘हटारु’, ‘जुम्ली’ भन्नेहरूले नै अहिले जताततै कर्णालीलाई ‘ट्रेडमार्क’ का रूपमा विकास गरिरहेका हुन् ।
संघीय संरचना बनाउँदा कर्णालीको माग सम्बोधन नगरेको भन्दै त्यहाँ चर्को आन्दोलन भयो । यो आन्दोलनमा सहिद हुनेहरूलाई बिर्सन सकिँदैन । कर्णालीकै छुट्टै संघीय प्रदेश चाहिने भन्दै आन्दोलनमा देशभरका सबैको एउटै स्वर थियो, ‘कर्णाली विकट र पिछडिएको क्षेत्र हो, यसलाई छुट्टै संघीय प्रदेश दिनुपर्छ ।’
सबैको दवाबले कर्णाली अञ्चलका ५ जिल्ला र भेरी अञ्चलका ३ जिल्ला जोडेर प्रदेश नम्बर ६ बनाइयो । प्रदेश नं. ६ बनाइएपछि खुशीयाली छायो । त्यसपछि यसको राजधानी कता बनाउने भन्ने विषयमा कुरा उठ्यो । नाम र राजधानीको विषयमा पहिले माओवादीले आफ्नो प्रदेशस्तरीय कार्यकर्ता भेला गर्दै प्रदेशको नाम कर्णाली राख्ने र सुर्खेतमा राजधानी राख्ने निर्णय ग¥यो । त्यसपछि भर्खरै नेकपा एमालेले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत हुने औपचारिक निर्णय गरिसकेको छ । नेपाली कांग्रेसले मात्र औपचारिक निर्णय गर्न बाँकी छ ।
पहिलो त संघीयतामा ६ नम्बर प्रदेश बनाउँदा कर्णालीका पाँच जिल्ला, सेती अञ्चलको बाजुरा र भेरी अञ्चलको जाजरकोट तथा दैलेख जिल्ला समेटेर बनाइनुपथ्र्यो । यो भुगोल मिलाएर संघीय प्रदेश बनाएको भए यहाँको भाषा, संस्कृति, रीतिरिवाज, चालचलन, भौगोलिक विकटता, मानव विकासको सूचकांक, यहाँको अभाव, गरिबी र विकास सबै कुरा मिल्थ्यो । यहाँका धेरै कुरा मिल्न सक्थे । यो नै उपयुक्त हुन्थ्यो ।
तर, सुर्खेतलाई पनि कर्णाली प्रदेशमा जोडियो । सुर्खेतलाई कर्णाली प्रदेशमा जोडिएपछि यस प्रदेशका पहाडी जिल्लामा काम गर्ने अपवाद बाहेक सबै शिक्षक, कर्मचारी, राजनीतिक दलका नेताहरू, पत्रकार, गाउँका धनीमानीहरूले सुगमताका आधारमा सुर्खेतमा घर–घडेरी खरिद गरेका छन् । उनीहरूका लागि सुगमता छ र कर्णालीमा कमाएको रूपैयाँ सुर्खेतमा राखिएको छ । यसै आधारमा कर्णालीको राजधानी सुर्खेत हुुनुपर्छ भनिरहेका छन् ।
हाम्रो एउटा प्रश्न छ, संघीयता भनेको सबै क्षेत्र, लिङ्ग, जाति, क्षेत्रमा समान अधिकार र पहुँच पु¥याउनका लागि होइन ? अनि कसरी सुर्खेत कर्णालीको राजधानी हुन सक्छ ? तर, अहिले एउटा बहस नै नगरी आफ्नो फाइदाका लागि कर्णालीलाई उपेक्षा गर्न खोजिँदैछ । नाम सबै कर्णालीको, कर्णाली अझै उही पुरानै शैलीमा फर्काउने र बन्ने स्थिति यहाँ देखिन्छ ।
अहिले प्रादेशिक राजधानी रूपमा जुन भनिएको छ । सेवा सुविधाका हिसाबले सुर्खेतमा सबै कुरा छ । उच्च शिक्षा पढ्नका नजिकै विश्वविद्यालय, स्वास्थ्य उपचार सुविधा सम्पन्न सरकारी अस्पताल लगाएतका छन् । विगत शासन व्यवस्थामा सबैकुरा एकै ठाउँ केन्द्रित भए त्यसलाई विभाजन गर्न संघीयता चाहिएको हो । संघीयतामा बाजुराका रुगिन, विच्छाया गाउँ, जाजरकोटका जुर्क र निपाने, मुगु हयाङ्ल्लु गाउँका मानिसलाई स्वास्थ्य शिक्षा पहुँच पुग्छ कि पुग्दैन ? बहस यहाँबाट गरिनु पर्दछ ।
यसरी बहस गरिएमा साँच्चै पछाडी परेको कर्णालीको विकास, स्वास्थ्य, शिक्षा र अन्य अधिकार पुग्ने देखिन्छ । नत्र भने, संघियता फेरी पनि टाँठा बाठाका कै लागि हो र संघीयताका नाममा अरुलाई भ्रम नपारियोस् । त्यसैले ‘हटारु’ ‘जुम्ली’ शब्दलाई बद्लेर कर्णालीले केही पाउँदैन् ।
सरकारले कर्णाली विकास अवधारणा नै गलत तरिका अपनाएको छ । सरकारीले कर्णाली विकास लागि भनेर छुटाएको बजेट, स्वास्थ्य सेवा र शिक्षा लगाएतका विकासे योजना दीर्घकालीन विकास अबधारणा कर्णाली मैत्री छैनन् । कर्णालीमा जडिबुटी प्रशोधन केन्द्र अन्तै खोल्ने तयारी गरिएको छ । कर्णालीका नाममा खोलिएको विश्वविद्यालय अन्तै छ । कर्णाली नाममा स्वास्थ्य संस्था खोलिएका छन् ती सबै अन्त छन् । अनि कर्णालीमा लागि सरकारले गरेको काम के हो त ?
कर्णालीमा अहिले केहीले राम्रो सम्भवना देखेका छन् । पर्यटनको राम्रो सम्भावना रहेको छ । साना लगानीमा ठूला–ठूला जलविद्युत आयोजना सम्पन्न गर्न सकिनेछ । जडिबुटी खेतीको राम्रो सम्भवना रहेको छ । गेडागुडी खेती, पशुपालनको राम्रो सम्भवना रहेको छ । यी कर्णालीका राम्रा सम्भावना देखेर नै अहिले जताततै कर्णालीको ट्रेडमार्क बिक्री गरिरहेका छन् ।
सबैलाई चेतना भया कर्णालीको ट्रेडमार्क बेचेर कर्णालीको विकास अवश्य हुँदैन । कर्णालीको विकासका लागि कर्णालीमा नै लगानी मैत्री वातावरण सिर्जना गरौं । कर्णालीमा विकास मूल फुटाऔं अनि मात्र कर्णालीको विकास हुनसक्छ । त्यसैले सबैले कर्णालीको नाम लिएर वा एउटा ट्रेडमार्कको विकास गरेर कर्णालीलाई हिजोआजको झन कंगाल नबनाऔं । त्यसैले सरकार, राजनीतिक दलहरू, दातृनिकाय, एनजीओ–आएनजीओ लगायत सबैले कर्णालीको ट्रेडमार्क बेचेर संघीय प्रदेशको नाम ‘कर्णाली’ राख्ने विषयलाई अझै पछाडि पार्ने खेल नगरौं । कर्णालीलाई हिजो ‘हटारु र जुम्ली’ भनेर अपमानित गरिएको कुरालाई सच्याएर साँच्चै कर्णालीका रूपमा विकास गर्न सबै कर्णाली केन्द्रित भएर लागौं ।

(लेखक रावल कालिकोटमा कार्यरत पत्रकार हुन् ।)