‘प्रदेशका सम्भावना अनुसारको नीति’
साझा बिसौनी संवाददाता
सुर्खेत, ११ पुस ।
संघीय संरचना अनुसार निर्माण गर्न लागिएको ‘प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम नीति’ मा प्रदेशको स्रोत साधनमैत्री नीति बनाउन सुझाव दिइएको छ । ६ नम्बर प्रदेशमा जलस्रोत, कृषि र पर्यटनका थुप्रै सम्भावनाहरू रहेको भन्दै प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि प्रदेशको अवस्था र क्षमता अनुसार नीति परिमार्जन गर्न सुझाव दिएका हुन् । मंगलवार वीरेन्द्रनगरमा भएको भेलामा सरोकारवालाहरूले प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम निति–२०६९ संशोधन हुँदा संघीय संरचना अनुसार प्रदेशको हितमा बनाइनुपर्ने बताएका छन् ।
बढ्दो बेरोजगारी समस्या र वैदेशिक रोजगारलाई रोक्न प्राविधिक शिक्षाको अभाव भएको भन्दै उनीहरूले व्यवसायिक शिक्षालाई प्रभावकारी बनाउने गरी नीति परिमार्जन गर्न आग्रह समेत गरेका छन् । जनज्योति मावि बड्डिचौरका प्राचार्य नारायण सिग्देलले देशको समृद्धि र विकासका लागि प्राविधिक शिक्षालाई प्राथमिकता दिने नीति आवश्यक रहेको बताए । उनले ग्रामिण क्षेत्रको जनशसंख्या सहर केन्द्रित भएकाले जग्गाको प्रयोग घट्दै गएको भन्दै उनले खाली जग्गा राख्न नपाइने नीति बनाउनुपर्ने सुझाव दिए । संघीय सरकारका रूपमा बन्ने प्रदेश सरकारलाई प्राविधिक शिक्षाको पाठ्यक्रम निर्माण तथा आवश्यक कानुन बनाउन पाउने गरी नीति तय गरिनुपर्ने उनको सुझाव छ ।
५१ प्रतिशत गरीब भएको ६ नम्बर प्रदेशमा आर्थिक रूपमा महिलाहरू सवल नभएको भन्दै क्षेत्रीय शिक्षा तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक दीपा हमालले बताइन् । प्राविधिक शिक्षालाई महिलामैत्री बनाइनुपर्ने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया भण्डारीले बताइन् । शीपमूलक शिक्षाका लागि कार्यक्रमको विकास र बजारको माग अनुसारको सान्दर्भिक शिक्षा प्रदानतर्फ राष्ट्रिय रूपमा नीति निर्माण हुनुपर्ने उनको सुझाव छ । शैक्षिक क्षेत्रको लगानीलाई एकीकृत गरे मात्रै प्राविधिक शिक्षालाई व्यवसायिक बनाउन सकिने नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । शिक्षा मन्त्रालयको आयोजनामा भएको भेलामा जिल्ला समन्वय समितिका सभापति छविलाल सिग्देल लगायतको सहभागिता थियो ।
साझा बिसौनी संवाददाता ।