‘नयाँ लुगा लगाएको दिन गाउँभरी डुल्थें’

सरस्वती बस्नेत श्री कृष्ण संस्कृत तथा साधारण मावि ईत्राममा कार्यरत शिक्षक हुन् । उनी शिक्षण पेशा बाहेक समाजिक काममा पनि उत्तिकै सक्रिय छन् । वि.सं. २०२८ साल माघ ४ गते वीरेन्द्रनगर–७, ईमात्रममा बुबा डम्बरबहादुर बस्नेत र आमा चन्द्रा बस्नेतको कोखबाट उनको जन्म भयो । उनी युवाहरूको संस्था वीरेन्द्रनगर जेसीज र लायन्स क्लब अफ वीरेन्द्रनगरकी पूर्व अध्यक्षसमेत हुन् । हाल उनी लायन्स क्लब अफ इन्टरनेशलन ३२५ बी टू एरिया ६ को एरिया कोचचिफ छन् । बस्नेतले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेकी छिन्ः


कपासेभन्दा माथि पानी ट्यांकी नजिक एउटा ठूलो ढुंगा थियो । ईत्राम खोलामा खेलेको, साँझ पर्दा एउटा थ्यांक्रा लिएर घर आएको बाल्यकालको सम्झना अझै पनि ताजा नै छ । स्कुल बिदा भएपछि प्राय वनमा जान्थ्यौं । ५÷६ जनाको साथीहरूको टीम थियो । खेल्न भनेपछि हुरुक्कै हुने हामी समय गएको पत्तो हुन्थेन । घरमा जति गाली पाए पनि साथीहरूको साथ र खेल्न भने छोड्नै मन नलाग्ने । घरमा बुबाआमाले यस्तो गर्नु हुँदैन भनेर सम्झाउनुहुन्थ्यो तर वनमा गइसकेपछि खेल्न सुरु हुन्थ्यो साँझ पर्न लागेको पत्तै हुन्थेन । हाम्रो घरमा गाईभैंसी पालेका थियौं । पढाइ बोहक घाँस दाउरा पनि काटियो ।
विद्यालय भने म सानै उमेरदेखि नै जान थालें । मेरो जेठो बुबाको छोरा दाईले विद्यालय लिएर जानुभएको थियो । उहाँले दिदी र मलाई विद्यालयसँगै लिएर गएको सम्झना छ । घरमा खेलेर नै समय बिताउने स्कुलमा गएपछि त नयाँ ठाउँ जस्तो लाग्यो । यो ठाउँ कस्तो रहेछ, कति धेरै मान्छेहरू हुन् भनेर केही दिनसम्म त खुलदुली नै लागेको थियो । पढ्न भन्दा बढी खेल्न रुचाउने त्यो बाल्यकाल अझै पनि त्यही बाल्यकालमै फर्कन पाए हुन्थ्यो भन्ने लाग्छ । त्यसबेलामा ठूलो भइसक्नु भएको दिदीहरूले भन्ने गर्नहुन्थ्यो । ‘हेर भाइबहिनी हो तिमीहरू ठूलो नहुनु, ठूलो भएपछि त धेरै दुःख हुने रहेछ । सुख त सानैमा हो हुने ।’ बाल्यकालमा त सबैभन्दा बढी गट्टा, खोपी खेलिन्थ्यो । मेरो बुबाहरूको धेरै भाइहरू भएकाले हामी सबै जना वरिपरि नै बसेका थियौं । त्यसकारण दाइभाइ दिदीबहिनी खेल्ने समयमा जम्मा हुन्थ्यौं । बुबाआमाले खास गरी खेतीपाती गर्नुहुन्थ्यो । हामी ठूलो हुँदै गएपछि बिहान खाना पकाएर खाएर स्कुल जान्थ्यौं ।
म बाल्यलमा अलि चकचके स्वभावको थिएँ । साथीभाइहरूसँग घुलमिल हुन र खेल्ने मनपथ्र्यो । साथीहरूसँग चकचक गरिरहन्थें । म सबै साथीहरूको प्यारी थिएँ । हाम्रो घर नजिक आइएनएफ थियो । त्यहाँ आउने विदेशीहरू हाम्रो घरमा बस्थे । हामी उनीहरूसँग घुलमिल हुने वातावरण भयो । घरमा हजुरआमा र बुबा पनि हामीसँगै हुनुहुन्थ्यो । हजुरबुबाले अक्षर चिनाउन खुब मेहेनत गर्नुभएको हो । साँझको समयमा हजुरबुबाले क, ख भनेर पढ्न सिकाउनु भएको सम्झना अझै पनि आउँछ । हजुरबुबाले हामीलाई पढाइसकेर साँझ पलङमा सुताउनु
हुन्थ्यो । सुत्ने बेलामा हजुरबुबाले आफूले पल्टनमा भोगको कुराहरू कथाको शैलीमा भन्नुहुन्थ्यो । हामी चुप लागेर हजुरबुबाको नजिक बसेर सुन्थ्यौं ।
गाउँमा काँक्रा चोरेर खाएको सम्झना पनि ताजा नै छ । साथीहरूको टीम बनेर चोर्न जान्थ्यौं । थाहा पाएर उनीहरूले बेस्सरी गाली गर्थे । घरम समेत आएर भनिदिन्थे । बुबाआमाले फेरि गाली गर्नुहुन्थ्यो । आफ्नै घरमा हुँदाहुँदै छिमेकीको किन चोरेर खानुप¥यो भन्दै गाली गरिरहनुहुन्थ्यो तर मन मान्दैथ्यो । आफ्नो घरमा खाएका भन्दा छिमिकीको चोरेर खाएको मिठो लाग्ने । जति सम्झाए पनि मन मान्दैन्थ्यो । फेरि चोर्न गइहाल्थ्यौं ।
वनभोज खान जाँदाको समय सम्झना रमाइलो लाग्छ । अहिलेको जस्तो पैसा उठाएर बजारमा समान किन्ने हुँदैनथ्यो । दाल, चामल, आलु, भाडाहरू सबै घरघरबाट उठाएर जंगलमा गएर पकाएर खान्थ्यौं । साथीहरू पनि रमाइला हुन्थे । त्यसमाथि अझ दाइदिदीहरू पनि हामीसँगै जानुहुन्थ्यो । अहिलेको जस्तो मिठामिठा परिकारहरू नपाए पनि दाल भात तरकारी नै वनमा पकाएर खाएको मिठो लाग्थ्यो । बाल्यकालमा राम्रो लगाउन, मिठो खान नै मनपर्ने रहेछ । चाडपर्वको समयमा धेरै नै रमाइलो हुन्थ्यो । बुबाआमाले नयाँ–नयाँ कपडा किनिदिनुहुन्थ्यो । नयाँ कपडा लगाएर देखाउनको लागि गाउँभरी घुमिन्थ्यो । आफूले लगाएको नयाँ कपडा साथीहरूलाई देखाउँदा आफूलाई खुब गर्व महसुस हुन्थ्यो ।
हामीले सानो छँदा जनचेतनामूलक नाटकहरू पनि खेल्थ्यौं । त्यसबेलामा नाटक खेल्ने साथीहरू भनेका गणेश गौतम, खगेन्द्र थापा थिए । सामाजिक भेदभावविरुद्ध जनचेतनामूलक गीतहरू हुन्थे । मैले कक्षा ३ सम्म ईत्राममा पढें । त्यसपछि जन माविमा कक्षा ४ देखि पढेको हुँ । वि.सं. २०४७ सालमा जन माविबाटै मैले एसएलसी पास गरें । सानो छँदा यो बन्छु वा त्यो बन्छु भन्ने लाग्दैनथ्यो । तर रेडक्रसमा विद्यार्थीकालदेखि नै लागेको कारण समाजिक सेवाप्रति रुचि थियो । बाल्यकाल यसरी नै सुखसँग नै बित्यो ।

प्रकाशित मितिः   १० पुष २०७४, सोमबार १५:१६