होमस्टेले बनायो स्वरोजगार

मुना हमाल
सुर्खेत, ८ पुस ।
बराहताल–५ सालघारीका टोपबहादुर आले विगतका वर्षहरूमा रोजगारीका लागि भारत पुग्थे । भारतमा मजदुरी गरेर कमाएको पैसाले उनको घर खर्च चल्दै आएको थियो । हरेक वर्ष उनी भारत नगइ जीविकोपार्जन गर्ने अर्को उपाए थिएन । तर अहिले अवस्था फेरिएको छ । टोपबहादुर अब रोजगारीका लागि भारत नजाने निर्णयका साथ घरमै बसेका छन् । स्थानीय महिलाहरूको पहलमा गाउँमै होमस्टे सञ्चालनमा आएपछि टोपबहादुरको वर्षेनी भारत जानुपर्ने बाध्यता अन्त्य भएको हो ।

होमस्टे आर्य–आजर्नका लागि राम्रो विकल्प बनेपछि उनी भारत जान छोडेका हुन् । ‘अब बाहिर कमाइ गर्न जाने सोच छैन्’ उनले भने, ‘कमाइ गर्नका लागि फेरि पनि बाहिर जानुपर्छ कि भन्ने चिन्ता थियो अब यही आफ्नै ठाउँमा केही होला भन्ने लागेको छ ।’ होमस्टेले घरमै बसेर आम्दानी गर्नसक्ने बनाएको उनले बताए । ‘पहिला कमाइका लागि कहिले इन्डिया कहिले वीरेन्द्रनगर जानुपथ्र्यो, विद्यालयमा क्यान्टिन पनि चलाएँ’ आलेले थपे, ‘अहिले होमस्टे सञ्चालन भएपछि घरमै बसेर आम्दानी गरिरहेको छु । नमुना काम गर्न पाउँदा खुशी छु ।’
टोपबहादुर मात्र होइन बराहताल गाउँपालिका ५ स्थित सालघारी टोलका अधिकांश पुरुषहरू विगतमा रोजगारीका लागि भारत नै पुग्थे । तर अहिले होमस्टेले गाउँमै रोजगारी सिर्जना गरेपछि घरमै भेटिने गरेका छन् । सालघारीमा अधिकांश जनजाति समुदायको बसोबास रहेको छ । पुरुषहरू कमाउन बाहिरी देश जाने र महिलाहरू घरमै जीविकोपार्जनका केही कामहरू गरेर त्यहाँका नागरिकहरूको दिनचर्या बितिरहेको थियो । तरकारी खेती, बाख्रापालन गरी जीविकोपार्जन गर्न महिलाहरूले राम्रो आम्दानी गर्न सकिने व्यसायको खोजी गर्न थाले ।
त्यस टोलमा रहेको सालघारी स्वावलम्बन आमा समूहमा करीब २५ जना महिला सदस्य छन् । समूहको बैठकमा उनीहरूले सधैं व्यवसायका विषयमा छलफल गर्ने गर्दथे । सबैको छलफलपछि एक दिन उनीहरूले कल्पना गरे बाहिरी ठाउँका होमस्टेका विषयमा धेरै चर्चा परिचर्चा हुन्छ, हाम्रो ठाउँमा गर्न सकिएला, भन्ने विषयमा । यो कुराहरूलाई उनीहरूले आफ्नो मनमा मात्र सीमित राखेनन्, स्थानीयस्तरमा रहेका केही बुद्धिजीविहरूलाई पनि सुनाए र उनीहरूबाट थप सल्लाह सुझाव लिए । सबैबाट सकरात्मक सुझाव आएपछि महिलाहरूमा आँट र साहास जाग्यो । ‘पहिला त हामीले मात्रै गर्न सकिएला र भन्ने लाग्यो’ समूहकी अध्यक्ष कुवारी सारुले भनिन्, ‘सबैले गर्न सकिन्छ, सुरुवात गरौं भनेपछि थप आँट आयो ।’
किर्डाक नेपालको सहयोगमा बर्दियाको डल्ला गाउँ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम चौधरीलाई बोलाएर तालिम सञ्चालनपछि सालघारीमा होमस्टे सुरु गरिएको हो । सो टोलका १० घरले आफ्नै घरमा होमस्टे सञ्चालन गर्न सुरु गरे । आ–आफ्नो घरमा सुरुवात गरेका स्थानीयले यसलाई नमुनाको रूपमा विस्तार गर्दैछन् । ‘हामीले तालिम लिएपछि आाफ्नो घरबाट सुरुवात ग¥यौं’ आमा समूहका अध्यक्ष सारु मगरले भनिन्, ‘सबैको साथ र सहयोगले यसलाई अझै राम्रो गराउने योजना रहेको छ ।’ होमस्टे सञ्चालन भएपछि स्थानीय महिलाहरू पनि आत्मनिर्भर भएको उनले बताइन् ।
होस्टेमा मगरका परिकारहरू बनाइन्छ । ढिडो, सिस्नो, मकै कोदोको रोटी, मासको रोटी, सेलरोटी, गुन्द्रुकको आचार, मकैको रोटी, सुंगुरको मासु र स्थानीय जातका कुखुराको मासुको परिकारहरू पाइन्छ । अहिले समूहमा ४० जनासम्म आउने गरेको उनले बताइन् । होमस्टेमा बस्न आएका पाउनाहरूबाट पनि राम्रो प्रतिक्रिया आएको भन्दै होमस्टे सञ्चालन गर्न अझ हौसला थपिएको बताइन् । स्थानीय बासिन्दाहरूले होमस्टे सञ्चालनमा ल्याएपछि आर्थिक आयआर्जनामा मात्र नभए त्यहाँको ठाउँको पनि पहिचान भएको छ । सालघारी सुनद्वारी होमस्टेमा अहिले १० परिवारले सञ्चालन गरेका छन् । उक्त होमस्टेमा अहिले आन्तरिक पर्यटकहरूको संख्या बढ्दो छ । होमस्टे सञ्चालनपछि पश्चिम क्षेत्रको पर्यटन विकासमा समेत थप टेवा पुगेको छ । त्यहाँको बौद्धविहार, कालिका मन्दिर, बराहतालन हेर्न जाने पर्यटकहरूको लागि बासस्थानको थलो बनेको छ ।
होमस्टे सञ्चालका लागि व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ । सांस्कृतिक, पाहुना सत्कार, खाना व्यवस्थापन लगायतका उपसमितिहरू रहेका छन् । स्थानीय मौलिकता झल्किने सांस्कृतिक कार्यक्रममार्फत् होमस्टेमा आएका पाउनाहरूलाई मनोरञ्जन दिने गरेका छन् । सांस्कृतिक उपसमितिले विशेष गरेर जनजाति समुदायको मारुनी नाँच, टप्पा नाच झ्याउरे नाँच देखाउने गर्छ । जसले गर्दा लोक संस्कृतिको पनि संरक्षण हुँदै गएको छ । करिब ४० घरधुरी रहेको उक्त टोलमा स्थानीयले होमस्टे सञ्चालनका लागि आवश्यक वस्तु जुटाउछन् । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नरेश जोल्मीले भने, ‘समूहमा रहेका कसैले कुखुरा पालन गछौं, कसैले तरकारी खेती, कसैले सुंगुरपालन, कसैले टपरी लगाउने काम गर्छौं । स्थानीय उत्पादनलाई पनि प्राथमिकतामा राखेका र्छौं ।’
होमस्टे सञ्चालनमा आएपछि समूहका महिलाहरू अहिले स्वरोजगार बन्दैछन् । अहिले १० देखि १५ हजारसम्मको व्यापार हुने गरेको जनाइएको छ । बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले होमस्टे सञ्चालनका लागि गाउँपालिकाकाबाट सहयोग र समन्वय भइरहने बताए । उनले यसवर्ष होमस्टे सञ्चालनमा सहयोग पुगोस भनेर गाउँपालिकाले सामूहिक भवन निर्माणका लागि दुईलाख बजेट छुट्टाइएको बताए । उनले सहयोगका लागि अन्य संघ–संस्थाहरूलाई पनि सहयोगका लागि गाउँपालिकाबाट समन्वयकारी भूमिका खेलेको जानकारी दिए ।

प्रकाशित मितिः   ९ पुष २०७४, आईतवार १५:५६