कृषकको लगानीमा डेरी

साझा बिसौनी संवाददाता
सुर्खेत, १ जेठ ।
जिल्लामा रहेका कृषकहरूले सामूहिक लगानीमा डेरी उद्योग सञ्चालनमा ल्याएका छन् । विचौलियाले कृषकलाई उचित मूल्य पनि नदिएको तथा गुणस्तरीय दुध उपभोक्तालाई पनि नदिएको भन्दै दुध उत्पादक कृषकहरूले आफै मिलेर अत्याधुनिक काँक्रेविहार डेरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
दुग्ध उत्पादक किसान संघको अगुवाइमा उद्योगमार्फत् सुर्खेती किसानको पहिचान हुनेगरी ‘किसान दुध’ जिल्लामै पहिलो पटक बजारमा पठाइएको छ । दुग्ध उत्पादक कृषकहरूले ११ लाख नौ हजार पाँच सय रूपैयाँको लागानीमा उद्योग स्थापना गरेका हुन् । नेपाल सरकारको कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भइ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत क्षेत्रीय कार्यालय बाँकेको इजाजत प्राप्त गरी उद्योग सञ्चालनमा ल्याएको जनाइएको
छ । सुर्खेत दैलेख सडकखण्ड अन्तर्गत ईत्रामचौक नजिक रहेको उद्योगमा दुई सय ६० जना कृषकहरूले लगानी गरेका छन् । कृषकबाट आएको कच्चा दुधलाई पास्चराइज गरी बिक्री गरिने डेरी उद्योगका डिल्लीराम लम्सालले बताए । त्यसका लागि १० हजार लिटर क्षमताको पास्चराइज मेसिन, क्रिम सेपरेटर, डीफ्रिज र एक हजार लिटर प्रतिघण्टाका दरले प्याकिङ्ग गर्नसक्ने प्याकेजिङ्ग मेसिन उद्योगसँग छ ।
काँक्रेविहार डेरी उद्योग प्रालिमार्फत् ‘किसान दुध’ बजारमा पु¥याउन अगुवाइ गर्ने दुग्ध उत्पादक किसान संघका अध्यक्ष देवप्रसाद ढकालले कृषकले चाहे सबै काम सम्भव हुने बताए । काँक्रेविहार डेरी उद्योग प्रालिले सयौं युवाहरू खाडी मुलुकमा गइरहेकाले रोजगारीको सिर्जना पनि गर्ने संस्थाका अर्का सञ्चालक पूर्णप्रसाद पौडेलले बताए । उद्योगको शनिवार प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सीप, जागर, इमान्दारिता र धैर्यता भएमा जुनसुकै काम पनि सफल हुने भन्दै सफलताका लागि कृषकहरूलाई शुभकामना दिए ।
उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतका निर्देशक विनोददेव पन्तले यसअघि बजारमा डेरी उद्योगहरूले गुणस्तरमा ख्याल नगरेको भन्दै गुणस्तरमा ध्यान दिन सुझाव दिए । उद्घाटन कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको पनि सहभागिता थियो ।

प्रकाशित मितिः   २ जेष्ठ २०७३, आईतवार ०८:४८