मौखिक उजुरीको ओइरो

डिलप्रसाद शर्मा
सुर्खेत, ५ मंसिर ।
‘सर ! यहाँ ठूलै ब्यानर प्रयोग गरी चुनावी प्रचार–प्रसार भइरहेको छ ।’ टेलिफोनमार्फत् सहारेबाट विष्णु (नाम परिवर्तन) ले प्रमुख निर्वाचन अधिकृत मोहनसागर बस्याललाई उजुरी गरे । जवाफमा अधिकृत बस्यालले विष्णुलाई प्रतिप्रश्न गर्दै भने, ‘कति साइजको ब्यानर प्रचार–प्रसार गर्न मिल्छ, तपाईंलाई थाहा छ ?’ विष्णु अकमकिए, र भने, ‘सर, ब्यानर ठूलै छ ।’


विष्णु र निर्वाचन अधिकृत बस्यालबीच फोन संवाद जिल्ला निर्वाचन व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सुनिरहेका थिए । संयोगले उक्त टेलिफोन उजुरी आउँदा प्रजिअ कार्की र निर्वाचन अधिकृत बस्याल मंगलवार भएको निर्वाचन विपद् निरूपण तथा शान्तिपूण वातावरण प्रबद्र्धन सम्बन्धी प्रदेशस्तरीय गोष्ठीमा सहभागी थिए । फोनमार्फत् निर्वाचन आचारसंहिता उल्लंघन भएको जानकारी पाएका प्रजिअ कार्कीले प्रहरी प्रशासनलाई निर्देशन दिँदै भने, ‘सम्बन्धित पार्टीका प्रचार संयोजकलाई ब्यानर तत्काल हटाउन लगाउनुहोस् ।’
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन गरेको मौखिक उजुरी दिने विष्णु प्रतिनिधि पात्र मात्रै हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिनहुँ यस्ता उजुरी आउने गरेका छन् । निर्वाचन आचारसंहिता उल्लंघन गरिएका लिखित उजुरी भन्दा मौखिक उजुरी बढी आउने गरेको निर्वाचन अधिकृत बस्यालले जनाए । कार्यालयमा मौखिक रूपमै आचारसंहिता विपरित भोजभतेर गरेको, सडक निर्माण गरेको, पाइप वितरण, सरकारी पदधारण गरेका व्यक्ति, शिक्षक, कर्मचारी नै प्रचार–प्रसारमा सहभागी भएको जस्ता उजुरी मौखिक रूपमा आउने गरेका छन् । अधिकृतको कार्यालयमा मौखिक रूपमा आउने गरेपनि उजुरी प्रमाणित नहुने गरेको अधिकृत बस्यालले बताए । ‘मौखिक उजुरी सम्बोधन गर्दा यथार्थमा फरक देखिने गरेको छ’ उनले भने, ‘आवश्यक प्रमाण नहुँदा हैरानी हुने गरेको छ ।’ प्रमाणविना आउने उजुरीका कारण दोषीलाई कानुनी दायरामा ल्याउन नसकिएको बताइएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएमा सम्बन्धित घटनाको फोटो वा कुनै पनि प्रमाणसहित लिखित रूपमा उजुरी दिन उनले आग्रह गरे । ‘निर्वाचन आचारसंहिता २०७२’ अनुसार राजनीतिक दल वा उम्मेदवारले मतदातालाई प्रलोभन देखाउने तथा प्रभावमा पार्ने कुनै पनि क्रियाकलाप गर्न पाइदैंन ।
तर, दलहरूबीच प्रचार–प्रसारमा अस्वस्थ प्रतिपष्र्धा हुन थालेपछि निर्वाचन आचारसंहिता उल्लंघन भइरहेको पाइएको छ । आचारसंहिता उल्लंघन भए पनि मौखिक रूपमा आएका उजुरी भने पुष्टि गर्नै गाह्रो हुने गरेको निर्वाचन क्षेत्र नम्बर–२ का मुख्य निर्वाचन अधिकृत किरण सिवाकोटीले बताए । उनका अनुसार दलका कार्यकर्ताहरू प्रत्यक्ष देखिन नचाहने भएकाले मौखिक रूपमा उजुरी दिनेको संख्या बढेको हो ।
आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिमको अनुगमन संयन्त्र परिचालन गरिएको उनले जानकारी दिए ।
आचारसंहिताका बारेमा राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक प्रशिक्षण एवम् गोष्ठीको आयोजना गरी जानकारी दिइएको थियो । जिल्ला तहमा सर्वदलीय बैठकसमेत गरी आचारसंहिता उल्लंघनबारे छलफल गरिएको उनले जानकारी दिए । जनताद्वारा निर्माण गरिएको संविधान कार्यान्वयनका अवस्थामा राजनीतिक दलहरूले गम्भीर भएर निर्वाचनमा शान्तिपूर्ण रूपमा सहभागिता जनाउनुपर्ने उनले बताए ।
निर्वाचन आचारसंहिता २०७२ को ५ (क) ३ अनुसार उम्मेदवार वा राजनीतिक दलले अधिकार प्राप्त अधिकारीबाट अनुमति लिइ प्रयोग गरेको सवारी साधनमा ३ह५ फिट भन्दा ठूलो आकारको ब्यानर वा झण्डा प्रयोग गर्न वा गराउन नहुने उल्लेख गरेको छ ।
यस्तै, उम्मेदवारले अधिकार प्राप्त अधिकारीबाट अनुमति लिई प्रयोग गरेको सवारी साधनमा ३ह३ फिट भन्दा ठूलो आकारको पोष्टरको प्रयोग गर्न वा गराउन नहुने र जुलुस वा आमसभामा भाग लिने व्यक्तिले १०ह१८ इन्चभन्दा ठूलो आकारको झण्डा प्रयोग गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । निर्वाचन आचार संहिताको उल्लंघन गरेमा निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही र सजाय हुने बताइएको छ ।

प्रकाशित मितिः   ७ मंसिर २०७४, बिहीबार १५:४०