यसकारण घर छोड्छन् बालबालिका

डिलप्रसाद शर्मा
सुर्खेत, ५ मंसिर ।
मंसिर महिनाको कठ्यांग्रिने चिसो । शरीरमा शीत नछेक्ने च्यातिएको एकसरो कपडा । वीरेन्द्रनगरको फोहोर लतपतिएको मलिन अनुहार । बाक्लो मयलले फाटेका हातगोडा । एकसरो ओढ्ने कपडामा सडक–पेटीको बास । स्थानीय नेताचौकमा भेटिएका रोशन नेपालीले आठ वर्ष यसैगरी बिताए ।

वीरेन्द्रनगर–८ खजुरा ठेगाना बताउने रोशनका लागि सडकमा बास बस्नुपर्ने रहर होइन, बाध्यता हो । उनी चार वर्षका थिए, आमाले दोस्रो विवाह गरेर गइन् । आमाले विवाह गरे लगत्तै बुवाले पनि दोस्रो विवाह गरे । बुबाले कान्छी आमा ल्याएपछि रोशनले केही समय निकै माया पाए । स्कुल जाँदा पोषाक लगाइदिने, पु¥याउन जाने गर्न थालेपछि आफ्नी आमा नभएको आभासै गरेनन्, रोशनले । केही समय राम्रै स्याहार–सुसार गरेकी कान्छी आमाको मायामा कमी हुँदै गएको आभाष उनलाई विस्तारै हुनथाल्यो । ‘पहिले–पहिले आमाले माया गर्नहुन्थ्यो । पछि आमाले मात्रै होइन् बुबालेसमेत सौतेनी व्यवहार देखाउँदै गए’ रोशनले भने, ‘त्यसपछि घर छोडें ।’

घरपरिवार नै आफ्ना नभएपछि एक्लिएका रोशनलाई आफन्तलेसमेत शरण दिएनन् । घरपरिवारको माया पाउने र विद्यालय पढ्ने उमेरमै रोशनको बास सडकमा हुन थाल्यो । कापी किताब बोकेर विद्यालय जाने कलिलो उमेरमा वीरेन्द्रनगर बजार क्षेत्रमा भेटिने कबार्ड संकलन गर्दै दिन बिताउन थाले, रोशन । उनलाई साँझ कहाँ बस्ने भन्दा पनि कसरी पेट पाल्ने चिन्ताले पिरोल्थ्यो । उनका लागि वीरेन्द्रनगरको सडक नै महल बने, सडक नै आमा र सडक नै घरपरिवार । ‘दिन काम गर्दै बित्थ्यो । बाबु रक्सी पीएर आएर हान्छन्’ उनले भने, ‘मलाई घर नगएरै कोपिला भ्याली स्कुलमा पढ्न मन छ ।’

दैलेख गोगनपानीका भुवन सुनार पनि रोशन जस्तै दिनभर नाला, सडक छेउछाउमा फालिएका फोहोर प्लाष्टिक बोतल संकलन गरेरै पेट पाल्ने गरेका छन् । चार कक्षामा पढ्दै गर्दा बुबा जेल गएपछि उनी आमाको साथमा मामा घर आएका थिए । भुवनसहित तीन भाइबहिनीलाई राती सुतेकै अवस्थामा छोडेर आमा भागेको उनले बताए । आमाबाट एक्लिएका उनी मामाघर र आफन्तले समेत नसम्हालेपछि सडकमा आएका हुन् । ‘बुबा जेलबाट छुटेर ईन्डिया गएका छन् रे’ उनले भने, ‘आमा भन्दा पनि भाइबहिनीको माया लागेको छ ।’ आफू सडकमै बास बस्न थालेदेखि छुट्टिएका भाइबहिनीको बारेमा भुवनलाई जानकारी छैन् । उनलाई अहिले न त आमाको अतोपत्तो छ, न त भाइबहिनीको नै ।

रोशन र भुवन त प्रतिनिधि पात्र मात्रै हुन् । सुर्खेतमा उनीहरू जस्तै सडक बालबालिकाको संख्या ठूलो छ । जो विभिन्न कारणले घर छोडेर सडकमा जीवन गुजार्दै आएका छन् । बालबालिकाहरूको क्षेत्रमा काम गर्ने सरकारी निकाय महिला तथा बालबालिका कार्यालयसँग यसको तथ्यांक नै छैन । सरकारी निकायका साथै आधा दर्जन गैरसरकारी संस्थाहरूले बालबालिकाका क्षेत्रमा काम गरे पनि सडक बालबालिकाको तथ्यांक उनीहरू कसैसँगसमेत छैन । वीरेन्द्रनगर बजारमा पछिल्लो समय माग्दै हिँड्ने बालबालिकाहरूको संख्या पनि बढेको छ । घरपरिवारबाट राम्रो रेखदेख नभएपछि सडक बालबालिका बनेका उनीहरू पढ्ने रहर भएर पनि पढ्न पनाएको बताउँछन् ।

गरिबी, पारिवारिक विचलन, देखासिकी, घरपरिवारको बेवास्ता लगायत अन्य विभिन्न कारणले पूर्णरूपमा सडकमा आश्रित बालबालिकाको संख्या बढेको बताउँछन् केन्द्रीय बालकल्याण समितिका सदस्य डम्मरबहादुर रोकाय । उनले परिवारसहित सडकमा रहेका तथा परिवारसँग सम्पर्कमा रहेता पनि सडक गतिविधिमा संलग्न बालबालिकाको संख्या बढेको बताए । यसैबीच वीरेन्द्रनगरबाट १० जना सडक बालबालिकालाई उद्धार गरिएको छ ।
हरेक वर्ष नोभेम्बर–२० मा मनाइदैं आएको अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसर पारी जिल्ला बालकल्याण समिति सुर्खेतले वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका बालबालिकाको उद्धार गरेको हो । समितिका बालसंरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले उद्धार गरिएका बालबालिकालाई उनीहरूका अभिभावकको जिम्मा लगाइने बताए । अभिभावकविहिन बालबालिकाहरूलाई भने बालगृहमा पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मितिः   ५ मंसिर २०७४, मंगलवार १४:००