मतदाता फकाउने होडबाजी
साझा बिसौनी संवाददाता
सुर्खेत, ३ मंसिर ।
जिल्लाका अधिकांश मतदाता खेतीपातीको काममा व्यस्त छन् । मतदातालाई खेती स्याहार गर्ने र गहुँ लगाउने चटारो भइरहँदा दलहरूलाई भने मत माग्न भ्याइनभ्याइ छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले आफ्नो पक्षमा मत माग्दै प्रचार–प्रसारलाई तीव्र पारेका हुन् । दिनैपिच्छे टोलटोलमा आमसभा र प्रचार भेलाहरूले चुनावी माहोल तातेको छ ।
किसानलाई यतिबेला गहुँ छर्ने चटारो भए पनि उनीहरूलाई निर्वाचनको उत्साहले तान्न थालेको छ । मतदाता कसलाई मत हाल्ने भन्नेबारेमा आपसमा छलफल गर्न थालेका छन् । पश्चिम सुर्खेतमा ठूला पार्टीका उम्मेदवारले एकसरो प्रचार सकेका छन् । जिल्ला तहका नेता स्थानीय तहमा पुगेर निर्देशन दिएपछि सम्बन्धित पार्टीका स्थानीय नेता प्रचार–प्रसारलाई कसरी अगाडि बढाउने भन्नेबारेमा रणनीति बनाउन थालेका हुन् । गाउँमा हुने आमसभामा, चौक, चौतारी, जमघटमा कसलाई भोट दिने भन्ने बारेमा बहशसमेत हुन थालेको छ ।
चुनावका बेला विकासको प्रलोभनमात्र देखाउने उम्मेदवारलाई यो चुनावमा नछान्ने स्थानीयले साझा धारणा बनाएका छन् । ‘यसपटक विकासप्रेमी नेतालाई भोट दिनुपर्छ’ चौकुने गाउँपालिका–१ का बलबहादुर कठायतले भने, ‘हामीलाई पार्टीभन्दा पनि विकास चाहिएको छ ।’ विगतका निर्वाचनमा दिएका आश्वासन पूरा नभएको उनले बताए । पश्चिम सुर्खेतमा सञ्चार, यातायात तथा विद्युतको पहुँच पुगेको छैन । विगतका निर्वाचनमा विद्युत र यातायात पु¥याउन दलका एजेण्डा पूरा नभएपछि पश्चिका मतदाता यसै निर्वाचनमा हिसाब–किताब गर्ने तयारीमा छन् । उनले भने, ‘पश्चिममा विद्युत छैन्, यातायात सुविधा सबै ठाउँमा पुगेको छैन् । पुराना एजेण्डामा कति आश्वासन बाँड्छौं ? अब आश्वासन होइन्, विकास गर्नेलाई हामी पालो दिन्छौं ।’
विकास गर्ने एजेण्डा मात्रै होइन, कार्यकर्ताको टोलीसहित मत माग्दै घरदैलोमा पुगेका उम्मेदवारहरू यतिबेला मतदातालाई ‘फकाउन’ आकर्षित गर्न विभिन्न उपाय अपनाउन थालेका छन् । उनीहरू भोट माग्दै किसानका खेतबारीमै पुग्न थालेका छन् । विगतका एजेण्डा पूरा नभएपछि यसपल्ट ‘हाम्रो होइन, राम्रो’ उम्मेदवार छान्ने मनस्थितिमा कतिपय मतदाता देखिन्छन् । स्थानीय तहका नेताहरू सक्रिय भएकाले बस्तीमा प्रचार–प्रसार बाक्लिन थालेको छ । पश्चिमका मतदाता पनि आफ्नै सल्लाहमा जुटेका छन् । कुन उम्मेदवारले जिते आफ्नो गाउँको विकास गर्लान् ? स्थानीय मतदाता यसैमा जोड–घटाउ गर्दैछन् । ‘राम्रो व्यक्ति हेरेर भोट हाल्नुपर्छ,’ चौकुने गाउँपालिकाका युवा कमल कठायत भन्छन्, ‘सबै नेताले आफ्नै पार्टीलाई नराम्रो भन्दैनन्, तर काम राम्रो गर्ने सम्भावना भएका नेतालाई रोज्नुपर्छ पार्टी होइन् ।’
यो निर्वाचनमा पहिलो पटक मतदान गर्ने तयारीमा रहेका युवाहरू निर्वाचनमा मत हाल्ने हतारमा छन् । आफ्नो विकासको खाकासहित मतदातको आँगनमा पुगेका उम्मेदवारलाई यसपाली फकाउन त्यति सहज भने छैन । कारण यसपाली मतदाताले उधारो आश्वासन भन्दा पनि विकासको ठोस योजना चाहेका छन् । गाउँ पुग्ने उम्मेदवारले मतदाताको आकांक्षा अनुरूप विकास र समृद्धिका नारा सुनाइरहेका छन् । त्यतिमात्रै हैन, विगतमा भएका सडक, खानेपानी, सिँचाइ लगायत पूर्वाधार विकासका योजनासमेत आफू र आफ्नो पार्टीले मात्रै गरेको दाबी गर्नसमेत कुनै उम्मेदवार छुटाउँदैनन् । ‘जिल्लाको विकासका लागि मेरो जस्तो योजना अन्य नेतासँग छैन,’ अभिकांश उम्मेदवारले आमसभामासमेत भाषण गर्न थालेका छन् ।
सुर्खेतको पश्चिम क्षेत्रलाई समेट्ने निर्वाचन क्षेत्र नम्बर २ मा एमाले र माओवादीसहितको वाम गठबन्धन र कांग्रेसका उम्मेदवारहरूबीच नै मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट एमालेका नवराज रावतले उम्मेदवारी दिएका छन् । यस्तै नेपाली कांग्रेसबाट हृदयराम थानी चुनावी मैदानमा छन् । यस्तै वाम गठबन्धनबाट प्रदेशसभामा क्षेत्र नम्बर २ (क) मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य यामलाल कँडेल उम्मेदवार छन् भने कांग्रेसबाट कमलराज रेग्मी उम्मेदवार छन् । यही क्षेत्रको प्रदेश (ख) मा नेपाली कांग्रेसबाट तप्तबहादुर विष्ट र वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विन्दमान विष्टबीच प्रतिष्पर्धा हुँदैछ । निर्वाचनको दिन आउन अब केही साता मात्र बाँकी रहँदा दल र तिनका उम्मेदवारले मतदातालाई फकाउन विभिन्न प्रलोभन देखाउन थालेका हुन् ।
साझा बिसौनी संवाददाता ।