‘लुकेर तास खेल्दा आमाले पिट्नुहुन्थ्यो’

हस्त पुन गुर्भाकोट नगरपालिकाका प्रमुख (मेयर ) हुन् । उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट गुर्भाकोट नगरपालिकाको प्रमुखमा बिजयी भएका हुन् । विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका पुनः द्वन्द्वकालपछि पार्टीको राजनीतिलाई निरन्तरता दिएर लागे । वि.सं. २०३२ साल वैशाख १२ गते बुबा नरबहादुर पुन र आमा नन्नकलादेवी पुनको कोखबाट जन्मिएका पुनले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन् ।


मेरो जन्म गुर्भाकोट नगरपालिका (मेहेलकुना) मा भएको हो । बुबाआमा कृषि र व्यपार गर्नुहुन्थ्यो । मेरो बाल्यकालको धेरै समय मेहेकुनामा बित्यो । म १२ वर्षको उमेरसम्म मेहेलकुनामा बसें । त्यसपछि पढ्को लागि काठमाण्डौं गएँ । कक्षा पाँचसम्म मैले मेहेलकुनाको सूर्यज्योति माविमा पढें ।
सानोमा पढ्ने, खेल्ने रमाउने, यसरी नै बित्यो । घर नजिक भेरी थियो । भेरीमा पौडी खेल्न र माछा मार्न जाने गथ्र्यौं । घरबाट भेरीमा पौडी खेल्न भनेपछि जान दिनुहुँदैन्थ्यो । कहिले काँही भागेर जान्थ्यौं । कहिले काँही छिमेकीको घरको अमिलो र काँक्रा पनि चारेर खान्थ्यौं । हुन त घरमा पनि हुन्थ्यो । तर साथीहरू मिलेर रमाइलाको लागि चोर्ने गर्थियौं । बचपनमा यस्तै काम गर्दा रमाइलो लाग्ने रहेछ ।
म १० वर्षको हुँदाको एउटा घटना अझै पनि सम्झना आउँछ । चाडपर्वको बेलामा गाउँमा ठूला मान्छेहरू जुवातास खुब खेल्ने गर्थे । तिहारको बेला हो । हामी पनि साना साना साथीहरू मिलेर तास खेल्ने योजना बनायौं । बाटो नजिक एउटा पुरानो घर थियो । त्यहाँ कोही पनि मानिसहरू बस्दैन्थे । रातको समयमा हामी त्यही घरमा बसेर तास खेल्न थाल्यौं । अँध्यारो थियो । बत्ती बालेर तास खेल्न लागेकोले रातीको समयमा टाढाबाट पनि देखिन्थ्यो । हामीले लुकेर तास खेलेको आमाले थाहा पाउनुभएछ । भोलिपल्ट घर आउँदा आमा बेसरी रिसाउनु भयो । रिसाउनु मात्र होइन आमाले नराम्रोसँग पिट्नु भयो । अहिले पनि सम्झदा रमाइलो लाग्छ ।
सानोमा सबै भन्दा बढी खेल्न मन मात्र लाग्ने । विद्यालय छुट्टी भएपछि खेल्न लागिहालिन्थ्यो । विशेष गरेर फुटबल र भलिबल खेल्थ्यौं । विद्यालयमा सरहरूले पनि खेलाउनु हुन्थ्यो । टेबुल टेनिस खेल पनि सरहरूले खेलाउनु हुन्थ्यो । साथीहरूसँग त चाडपर्वको समयमा मेलाहरूमा रमाइलो गर्न त गाउँ बस्ने बेलामासम्म धेरै पटक गइयो । बाल्यकालमा अरु कहिले काहीं घाँस दाउरा गाइगोठालो जान्थ्यौं । पढाइ बाहेक कहिले काहीं मात्र घरको काम गर्नुपथ्र्यो । आमाले घरको काम भन्दा बढी पढाइमा नै ध्यान दिन भन्नुहुन्थ्यो ।
१२ वर्षको उमेरमा म काठमाडौं पढ्न गएँ । गाउँमा भन्दा काठमाडौंमा राम्रो पढाइ हुन्छ भनेर घरबाट मलाई काठमाडौं पठाउनुभयो । सानै उमेरमा गाउँका साथीभाइहरू बुबाआमाको काख छोड्न धेरै नै गाह्रो भयो । काठमाडौंमा होस्टेलमा गएर बस्नुपर्ने । नयाँ ठाउँ, नयाँ साथीहरू मलाई दुई महिनासम्म धेरै नै गाह्रो भयो । मैले दुई महिनासम्म घर परिवार र साथीहरूको यादमा बिताएँ । तर पनि मैले यहाँ पढ्न आएको भनेर आफूलाई आफै बुझाउने गर्थें । त्यसबेलामा अहिलेको जस्तो फोनको व्यवस्था थिएन् । घरको सम्झना आउन साहेत झट्टै फोन गरिहाल्न सकिदैंथ्यो । त्यसबेलामा फोन भन्दा चिठ्ठी आदान–प्रदान नै गर्नुपर्ने हुन्थ्यो । पठाएको पत्र पाउन धेरै दिन लाग्थ्यो । घरबाट कलिले काहीं बुबा भेट गर्न जानुहुथ्यो । मैले काठमाडौं दुई वर्ष मात्र पढें । त्यसपछि मैले नेपालगन्ज आएर पढें । त्यहाँ मैले नौ र १० पढें । नेपालगन्जबाट एसएलसी पास गरेपछि क्याम्पस पढ्न काठमाडौं गएको हुँ ।
सानैदेखि मलाई म इन्जिनियर बन्छु भन्थें । इन्जिनियर बनेर गाउँमा बाटोको नक्शा बनाउँछु भन्ने लाग्थ्यो । त्यसबेलामा जहाँ जाँदा पनि हिँडेर जानुपर्ने बाध्यता हुन्थ्यो । पछि एसएलसीमा कम नम्बर आएकोले मैले इन्जिनियर पढ्न पाइन् । त्यस पनि क्याम्पस पढियो । अनि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु भयो ।

प्रकाशित मितिः   २० कार्तिक २०७४, सोमबार १५:००