वाम एकता र समाजवादको सपना

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच भएको चुनावी तालमेल र पार्टी एकताको विषयले नेपाली राजनीतिमा चरम तरङ्ग उठाएको छ । राजनैतिक परिवर्तन र त्यसपछि हुने विकासको सपनाका सांक्षी जनतामा विश्वासको किरण वस्तुगत अध्ययन गर्दा वाम एकताले दिन सक्ने वा नसक्ने भन्ने कुरा विरोधाभासपूर्ण छ । वैचारिक भिन्नता, फरक–फरक कार्यशैली र विभिन्न चरित्र बोकेका दुई वाम शक्ति नेपाली राजनीतिक वृतमा उदयमान शक्ति हुन् । दुवै शक्ति मध्ये एकको अस्तित्व साँघुरिदै जाने खतरामा दुवै शक्ति भयभित हुँदै संघर्ष गरिरहेका छन् । यद्यपि यिनीहरूको एकता र तालमेलले के स्पष्ट पारेको छ भन्दा समाजवादीहरू आपसमा मतभेद राखेता पनि अन्नत पूँजीवादी तरिकाको विरोधमा एक मत हुन्छन् र राजनैतिक चरित्र निर्माण र उग्रवामपन्थी विचारको वेगलाई थाम्न नसकेर फेरि टुक्रिएर राजनैतिक सिद्धान्तमा बहसका पूर्वशर्तहरू अगाडि सार्दै अन्ततः दक्षीण धारमा समाहित हुन सक्ने सम्भावना प्रशस्त जीवित रहन्छ । त्यसकारण यो तालमेल र एकताको अभियानलाई व्यापक छलफल र वहसका बीचमा टुंग्याउन जरुरी छ ।

ध्रुव गौतम

यो वाम एकताप्रति थुप्रै पूँजीवादीशैली अपनाएका राष्ट्रका दबाब र प्रलोभनको अवसर निरन्तर सिर्जना हुने गर्दछ, यसको उदाहरण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्ला अभिव्यक्तिले प्रष्ट हुन आउँछ । बहुदलीय जनवादको सैद्धान्तिक बाटो अबलम्वनमार्फत् समाजवादको सपना देख्दा पूँजीवादको दलदलमा फसेको एमाले र उग्रवामवन्थी विचारबाट विचलित राजनैतिक चरित्र बोकेको माओवादी केन्द्रबीच एकता गर्नु निकै चुनैतीपूर्ण छ तथापि चुनावी तालमेलबाट एउटा स्थायी सरकारको सम्भावना भने पक्कै छ । तर विश्लेषणात्मक तरिकाले हेर्दा यी दुवै शक्ति सैद्धान्तिक रूपले निकै नजिक अवश्य छन् र प्राविधिक हिसाब–किताबमा कुरा मिलेछ भने समाज परिवर्तनमा ठूलो सम्भावना पनि बोकेका छन् जुन समाजवादको बाटो हुनेछ र माक्र्सवादको सही प्रयोग हुनेछ ।
माक्र्सवाद युगान्तकारी समाज परिवर्तनको परिवर्तित सिद्धान्त हो यसले दुनियाँमा वर्गविहीन समाजको परिकल्पना गरेको हुन्छ र समाज रूपान्तरणमा हरेक खालको सामाजिक विभेदको अन्त्य गर्दछ । तर नेपालमा भएको वाम एकता के का लागि र कुन सैद्धान्तिक धार र वैचारिक बहसलाई ठोस् रूप दिने र माक्र्सवादी सिद्धान्तको नयाँ आयामको विजारोपण गर्नसके २१ औं शताब्दीमा समाजवादको यात्रा तय गर्ने नेपाल प्रथम देश हुनेछ । चुनावी तालमेल र उपलब्ध अधिकारलाई संस्थागत गर्ने विषय निकट समस्या समाधानका राम्रा पक्ष पक्कै हुनेछ तर उच्च वर्गीय विभेद थुप्रै सामाजिक समस्या र चरम पूँजीवादमा फसेको मुलुक विकशीत सोच भएका जनता र देशको माटो सुहाउँदो माक्र्सवादी विचारको प्रादुभाव गर्दै आर्जित अधिकारलाई उच्च प्राथमिकता दिएर थुप्रै विकाशका सम्भावना बोकेको देशमा समाजवादको नीतिमार्फत् साम्यवादसम्म पुग्न वर्तमान विश्व राजनैतिक परिवेशमा ठूलै क्रन्तिकारी सोच र दृढ इच्छा शक्तिको आवश्यक छ ।
माक्र्सले भनेका छन् ‘उत्पादनका साधनहरू नियन्त्रण गर्नेले समाजको आर्थिक जीवनमात्र नभइ राजनैतिक जीवन पनि नियन्त्रणमा राखेको हुन्छ र शक्तिशाली आर्थिक वर्गले नै शासन गर्दछ ।’ तर कुनै पनि वर्ग संघर्ष स्थायी हुँदैन । वर्गविहीन समाज निर्माण भनेको आर्थिक वर्ग मात्र नभइ समान पहुँचको विकाशमा जोड दिनुपर्दछ । हरेक मानिसले आफूमा भएको सबै खाले पहुँचको उच्चतम प्रयोग गरेर आफ्नो आर्थिक गतिविधि नियन्त्रणमा राख्दछ, त्यसकारण पहुँचमा समानता भए मात्र वर्गविहीन समाजको निर्माणको सपना पूरा गर्न सकिन्छ, जहाँ स्वर्गीय स्वतन्त्रताको अनुभूति हुन्छ । तर समाजवादका आलोचक अथवा पूँजीवादीहरू वर्गविहीन समाजमा आफ्नो भिन्दै अस्तित्वको लागि छट्पटाइरहन्छन् र समाजवादलाई गलत अर्थ लगाउँछन् उनीहरूलाई के विश्वास हँुदैन भन्दा समाज अथवा हरेक व्यक्तिसँग व्यक्तिगत विभिन्नता र फरक क्षमता हुन्छ ।
नेपालमा भएका ठूला वाम शक्तिले समाजवादको बाटो हिँड्न आफ्नो राजनैतिक चरित्रको सुधार र सामाजिक नैतिकता स्थापना गर्नुपर्दछ र समाजमा भएका हरेक प्रकारका विभेद र अन्तरलाई रूपान्तरण गर्न सामाजिक अभियान सञ्चालन गर्नुपर्दछ जसले साम्यवादसम्म पुग्न ढोका खोलिदिनेछ । माक्र्सले भनेका छन् ‘प्रत्येक युगमा आर्थिक दृष्टीकोणबाट समाज दुई भागामा विभाजित भएको हुन्छ उत्पादन गर्ने वर्ग र अर्को वर्ग कच्चा पर्दाथ भएर काम गरीरहेको हुन्छ ।’ आर्थिक र राजनैतिक शक्तिको लागि यी दुवै वर्गबीच सधैं संर्घष भइरहेको हुन्छ । हाम्रो देशमा पनि इतिहासदेखि जे जति घटनाहरू भए तिनीहरूलाई हामीहरूले राजनैतिक अधिकारका लागि भएका संघर्षको नाम दिएता पनि वास्तविक संघर्ष वर्गीय संघर्ष नै हो । त्यसकारण आज हामी परम्परागत समाजवाद होइन परिस्थति अवलोकन गरेर समाजवादको बाटो अबलम्वन गर्दै राज्य शक्तिलाई मजवुद बनाउँदै सामाजिक विभेद अन्त्य गरेर राजनीतिको नाममा हुने सामाजिक अपराधहरूलाई नियन्त्रण गर्नु अर्को ठूलो चुनौती छ ।
राज्य चिर निद्रामा सुतेको छ, जति आलोचना गरे पनि हलचलको अवस्थामा छैन, विदेशी शक्ति केन्द्रहरू निकै हलचल गरिरहेका छन् पद्दति र संस्कारको आडमा समाजवादको नयाँ प्रक्षेपण खरो उत्रन सके कम्युनिष्ट एकताको सार्थकता र जवाफदेहिता हुनेछ । यसको मतलब दुवै भीमकाय मुलुक भारत र चीनको बीचमा रहेर आर्थिक नियन्त्रण गर्नु दुई विशाल देशलाई आफ्नो अर्थतन्त्रको मूल आम्दानीको रूपमा लिएर तीव्र आर्थिक विकाश हाँसिल गर्नु समाजवादको सपनाको एक उचित उपलब्धि हुनेछ । विकाशको पूर्वसन्ध्यामा तानाशाहा जस्तो मानिने कम्युनिष्ट शासन अन्तमा उदारवादी राष्ट्रप्रेमले ओतप्रोत हुन्छ ।
अन्य देशमा भएका राजनैतिक परिवर्तनलाई भन्दा नेपालमा भएका परिवर्तनलाई पृथक तरिकाले अध्ययन गर्न सक्नुपर्दछ । किनकी २३७ वर्ष लामो राजतन्त्र १०४ वर्षे राणा काल ३० वर्षीय पञ्चयाति व्यवस्था र झण्डै २५ वर्षको कांग्रेसको एकछत्र शासनबाट पाठ सिक्दै अब नयाँ वैकल्पिक विकाशक्रमसँगै अगाडि बढ्न सक्नु पर्दछ, यसले हामीलाई कहिले प्रजातन्त्रको नाममा, कहिले लोकतन्त्रको नाममा, कहिले गणतन्त्रको नाममा त कहिले क्षेत्रीय अधिकारका नाममा सयौं सपुतहरूले ज्यान फाल्नुप¥यो तर परिवर्तनलाई संस्थागत गराउने समयमा देश प्रतिकूल र छिमेक अनुकूल नीति हामीले लिनुपर्ने अर्कोतर्फ राजनीतिको आडमा चरम भ्रष्टाचार र लम्पसरवादको नीतिले देशको स्वाधिनतानै निकै जटिल अवस्थामा छ । यी सबै खाले जटिलताको पहाड भत्काएर अहिलेसम्म भारतसँग गरिएका असमान सन्धीलाई पुनारावलोकन गरी गुमेको स्वाधिनतालाई जीवित राख्न छिमेक नीतिमा पनि व्यापक हेरफेर गर्नुपर्ने अबको देशभक्त सरकारको जिम्मेवारी हुनेछ । यो जिम्मेवारी पूरा गर्न वाम एकतालाई फलामको चिउरा बन्नेछ र सफलता हासिल गर्न एकताको आवश्यकता छ । यद्यपि बाबुराम भट्टराइ जस्तो राजनैतिक चरित्र बोकेर हिँड्ने निजी स्वार्थमा लम्पसार पर्ने चरित्रबाट प्रचण्ड र केपी ओली टाढै रहनुपर्दछ एकताको नाममा अस्तित्व र मूल सिद्धान्तमा विचलित नभएर रहनुपर्छ ।
शान्ति सम्झौतालाई लिएर कांग्रेस र छिमकी देशले प्रचण्डलाई धम्की दिइरहेका छन् । मुद्दा फर्काउने नाममा प्रचण्ड माथि उनको राष्ट्रप्रेमलाई खलल पु¥याउन चाहन्छन् त्यसकारण यस्ता खालका सबै विपत्तिलाई चिर्न प्रचण्ड अब यो देशको शक्तिशाली व्यक्ति हुन जरुरी पनि छ । के मोदी माथी अमेरिकाले आफ्नो मुलुकमा जान प्रतिबन्ध लगाएको होइन ? अन्तमा फिर्ता लिन बाध्य
भयो । यस्ता खालै थुप्रै वाधा प्रचण्डमाथि छन् । एमाले पनि देशलाई कुन रूपमा लैजाने भनेर गम्भीर हुनुपर्दछ । यी सबै खाले बाधा, अड्चन र यर्थाततालाई बुझेर यस एकताले बहुमतको सरकार निर्माण गरेर देशमा स्थायी सरकार तयार गरी समाजवाद हुँदै साम्यवादसम्मको गन्तव्य तय गरेर २१ औं शताब्दीको उत्ताराद्धमा संसारको एक सवल र सक्षम देश नेपाल हुने सपना देख्ने समय आएको छ ।

प्रकाशित मितिः   ७ कार्तिक २०७४, मंगलवार १७:५२