प्रदेश ६ मा कसले मार्ला बाजी ?

सुर्खेत, २८ असोज
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिदैं गएको छ । सोही क्रममा आज (आइतवार) समानुपातिकतर्फको उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाउने कार्यक्रम छ । प्रत्यक्षतर्फको निर्वाचन भने आउँदो मंसिर १० र २१ गते हुनेछ ।


देशका हिमाली जिल्लामा मंसिर १० तथा पहाड र तराईमा २१ गते मतदानको मिति तय भएको छ । निर्वाचनको दिन नजिकिदैं गर्दा राजनीतिक दलहरू चुनावी अभ्यासमा व्यस्त छन् । जिल्लाबाट उम्मेदवारमा सिफारिस भएकाहरू टिकटका लागि राजधानी लागेका छन् । योसँगै अबको निर्वाचनमा सबै दलहरूले आफूले जित्ने दाबी गरिरहेका छन् । प्रदेश नम्बर ६ मा भने कसले बाजी मार्ला अहिले नै भन्नसक्ने अवस्था छैन ।
तर यो प्रदेशमा पहिलो सरकार वामपन्थीहरूको बन्ने सम्भावना बलियो छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यो प्रदेशमा एमाले पहिलो शक्ति बनेको छ । यस्तै माओवादी केन्द्र र कांग्रेसले बराबर सीट जितेका छन् । प्रदेशमा पहिलो बनेको एमाले र दोस्रो बनेको माओवादीबीच चुनावी तालमेल हुने भएपछि आउँदो निर्वाचनमा कांग्रेस लगायतका दलहरूलाई यो प्रदेशमा निकै कठिन हुने देखिन्छ । निर्वाचन आफ्नो पक्षमा पार्न दलहरूले आफ्ना रणनीतिहरू बनाउन लागिपरेका छन् ।
यो प्रदेशमा रहेका ७९ वटा स्थानीय तहमध्ये एमालेले २७ तह जितेको छ । यस्तै माओवादी र कांग्रेसले समान २५÷२५ वटा तहमा जितेका छन् । यस्तै डोल्पाका दुई तहमा एमालेबाट स्वतन्त्र उम्मेदवार बनेकाले जितेका छन् । स्थानीय निर्वाचनमा माओवादी सुर्खेत, दैलेख र मुगुमा शून्य भएको थियो । यस्तै कांग्रेस रुकुम र डोल्पामा शून्य भएको थियो भने एमाले रुकुममा शून्य हुन पुगेको थियो । प्रदेशका दुई ठूला दल एमाले र माओवादी एक भएको र यो प्रदेश माओवादीको आधार क्षेत्र भएकाले पनि यो प्रदेशको निर्वाचनमा वामगठबन्धनले बहुमत ल्याउने अनुमान गरिएको छ । ‘यो प्रदेशमा पहिलो सरकार वामपन्थीहरूले बनाउने सम्भावना बलियो छ, उस्तै परे यो प्रदेशमा वामपन्थीहरूको दुई तिहाइ बहुमत आउनसक्छ’ विश्लेषक कमलेश डिसी भन्छन्,‘पहिलेबाटै यो माओवादीको आधार क्षेत्र हो, स्थानीय चुनावमा एमाले पहिलो शक्ति बनेको छ । अब यी दुई दल एक भएको अवस्थामा, कांग्रेसलाई चुनाव जित्न निकै मुस्किल हुनेछ ।’ माओवादीका पोलिटब्यूरो सदस्य कृष्ण जिसीले त आउँदो निर्वाचनमा यो प्रदेशबाट कांग्रेस ‘क्लीन स्वीप’ नै हुनसक्ने दाबी गरे । दुई ठूला दल एक भएकाले आफूहरूले नै प्रदेशमा पहिलो सरकार सञ्चालन गर्ने उनको भनाइ । राजनीतिक दलहरू यतिबेला चुनावी रणनीतिमा व्यस्त छन् ।
प्रदेशमा जसले बहुमत प्राप्त गरे पनि आन्दोलनको बलमा स्थापना भएको प्रदेश ६ को विकासमा अब गठन हुने सरकारलाई धेरै चुनौतीहरू छन । निकट भविष्यमा नै गठन हुने प्रदेश सरकारले अवसरहरूको सदुपयोग गर्दै चुनौतीलाई चिर्न सकेको खण्डमा यो प्रदेश देशकै नमूना बन्नसक्ने सम्भावना पनि छ । प्रदेशको समृद्धिका लागि यहाँ पर्याप्त मात्रमा जलस्रोत रहेको छ । भेरी र कर्णालीबाट ठूला जलविद्युत आयोजनाहरू सञ्चालन गर्नसक्ने सम्भावना छ । कर्णालीमा पाइने जुडिबुटीलाई प्रशोधन गरेर विदेश निर्यात गर्न सकिने अवस्था छ । सबैभन्दा धेरै सम्भावनाको यो प्रदेशमा पर्यटनको छ । विशेष गरी यहाँका जल, जंगल, जमिन, जडिबुटी, जनशक्तिको सही परिचालन र सदुपयोग भएमा प्रदेश समृद्ध बन्ने सम्भावना छन् । जलविद्युत उत्पादन गर्दै कृषिलाई आधुनिकीकरण गर्नसकेमा प्रदेशको समग्र अर्थतन्त्र थेग्न सकिने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी बताउँछन् ।
यो प्रदेशमा राजधानीका लागि विवाद हुने देखिदैंन । यहाँ ठूला दलहरूले सुर्खेतलाई नै प्रदेशको राजधानी बनाउने निर्णय गरिसकेका छन् । प्रदेशको नाममा पनि दलहरू एकमत छन् । प्रदेशको नाम कर्णाली राख्ने विषयमा लगभग सबै सहमत छन् । यसकारण पनि यो प्रदेशले अब समृद्धिका लागि मात्र चिन्ता र चासो दिनुपर्ने काम बाँकी रहेको अधिकारी बताउँछन् । यस्तै प्रदेशको मुख्य चुनौतीको रूपमा यो प्रदेशको सीमाना दक्षिणी नाकासँग जोडिएको छैन । अब गठन हुने प्रदेश सरकारको पहिलो काम चीनसँग जोडिएका उत्तरी नाकाहरू खुलाउनेतर्फ केन्द्रित हुनुपर्ने यहाँका नागरिकको माग छ ।
हाल यो प्रदेशमा एउटा पनि ठूला जहाज अवतरण गर्ने विमानस्थल छैन । जसले गर्दा यहाँको अन्य प्रदेश र काठमाडौंसँग सिधा हवाइ सम्पर्क छैन । यसका लागि पनि अबको नेतृत्वले ध्यान दिनुपर्ने हुन्छ । प्रदेशमै रोजगारी सिर्जना गरेर कालापहाड जान बाध्य यस क्षेत्रका बासिन्दालाई रोक्न सक्नु अर्को महŒवपूर्ण चुनौती यो प्रदेशमा रहेको छ ।

प्रकाशित मितिः   २९ आश्विन २०७४, आईतवार १६:२३