महिला उम्मदवार कम सिफारिस हुनुलाई के भन्नुहुन्छ ?

बालिका आचार्य, वीरेन्द्रनगर–६
मंसिर १० र २१ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा ठूला भनिने दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले महिलालाई प्रत्यक्षतर्फबाट एउटा टिकट पनि दिएनन् । यो एकदमै दुखदायी कुरा हो । महिलालाई सधैं समानुपातिक र महिला आरक्षण कोटामा मात्र सीमित बनाइन्छ । भन्ने बेला भाषणमा सबै दलहरूले चको स्वरमा महिलालाई राजनीतिमा अगाडि बढाउन पार्टीको ठूलो हात छ तर व्यवहारमा महिलालाई खाली महिला आरक्षणमा मात्र सीमित बनाइएको छ । अहिलेको प्रदेशसभा र प्रतिनिधिसभाको निवार्चनमा पनि त्यही गरियो । महिलालाई महिलाकै सीटमा मात्र सीमित बनाइयो प्रत्यक्षतर्फबाट टिकट कुनै दलले दिएनन् ।

 

 

भुवन शाही, कालिकोट
महिला पुरुष भनेका एक रथका दुई पांग्रा हुन् । महिलाले राजनीति बुझ्न जरुरी छ । यस्ता कुरा गरेर महिलालाई राजनीतिमा प्रवेश गराइन्छ । समय बित्दै जान्छ, महिला स्वयम् पनि राजीतिमा क्रियाशील हँुदै जान्छन् । महिलाले सहभागितामात्र होइन, अधिकार खोज्दै नेतृत्वमा पनि दाबी गर्न सुरु गर्छन् । र विस्तारै पुरुष सरहको अधिकारको माग गर्न थाल्छन् अनि महिलालाई राजनीतिबाट टाढा गराउने षड्यन्त्र रचिन्छ यहाँ । अनि भन्न सुरु हुन्छ महिलाले काम गर्न सक्दैनन् । महिलाले जान्दैनन् । त्यो ठाउँमा त पुरुषलाई राख्नुपर्छ । महिलालाई किन चाहियो नेतृत्व ? सहभागिता जनाए त भइगो नि ।

 

बबिता शाही, घाटगाउँ
यदि साँच्चिकै महिला नीति निर्माणमा पुगी नीति निर्माण गर्न नपाउने हो भने नारा, जुलुस, भाषणमा सहभागी हुनका लागि मात्र महिला राजनीतिमा किन लाग्ने ? महिला त नीति निर्माणसम्म पुगेर महिलाप्रति रहेका लैंगिक विभेदको अन्त्य गर्ने कानुन निर्माण गर्नका लागि राजनीतिमा लाग्ने हो । पहिलाको तुलनामा अहिले राजनीतिमा महिला सहभागिता केही मात्रामा बढे पनि अब हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फबाट महिलालाई खै कुन दलले उम्मेदार बनायो ? महिलालाई सधैं महिलाको आरक्षणमा सीमित राखिन्छ । प्रत्यक्षतर्फबाट महिलालाई किन उम्मेदवार बनाइदैन ?

 

शान्ति थापा, वीरेन्द्रनगर–८
पुरुषहरूको तुलनामा नेपाली राजनीतिमा महिलाको सहभागिता कमै देखिन्छ । स्थानीय तहमा महिला सहभागिता अनिवार्य गरिएकोले मात्र महिला सहभागिता राजनीतिमा केही मात्रामा बढेको देखिए पनि अब मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कुनै दलले प्रत्यक्ष तर्फबाट महिला उम्मेदार बनाएनन् । देशको नीति निर्माणमा प्रमुख भूमिका रहने राजनीतिक दलमा नै महिलालाई प्रत्यक्षतर्फबाट टिकट दिन मान्दैनन् । अनि कसरी हुन्छ पुरुष सरह राजनीतिमा महिला सहभािगता ? मुलुकका मुख्य तीन दलमध्ये नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र कुनै पनि दलको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता छैन ।

 

 

कमला पाफे, वीरेन्द्रनगर–११
प्रत्येक प्रदेशमा भूगोल र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्थाले गर्दा सबै प्रदेशमा प्रतिनिधिको संख्या समान हुँदैन । यो संख्या प्रदेशको जनसंख्या र भूगोलको आधारमा फरक–फरक हुने भएकाले महिला सहभागिता संख्याको दृष्टिकोणले पनि फरक–फरक हुनसक्छ । निर्वाचन क्षेत्र नै कम भएपछि उम्मेदवारको संख्या पनि कम हुने नै भयो । अर्कोतर्फ राजनीतिमा पुरुषहरूको बाहुल्यता भएका कारण पनि महिलाहरूलाई निकै कम अवसर दिने गरिन्छ । सम्भवतः यी दुवै निर्वाचनका लागि सिफारिस गरिएका उम्मेदवारको लिष्टमा महिलाको संख्या कम हुनुमा पनि यही कारण हुनसक्छ ।

 

धनमाया गुरुङ्ग, लेखगाउँ
के भन्ने हो र ? अब राजनीति त भइहाल्यो । अरु कुरामा त राजनीति हुन्छ यहाँ झन् राजनीतिभित्र कति राजनीति भएको होला । स्थानीय तहको चुनावमा त महिलालाई प्रमुख पदमा टिकट नै दिएनन् । झन् प्रदेशसभा र प्रतिनिधिसभामा के देलान् ? महिलालाई राजनीतिमा मात्र होइन सबै ठाउँमा आरक्षणमा मात्रै सीमित बनाइन्छ । अब यो आरक्षण शब्द नै हटाइनुपर्छ जुनसुकै ठाउँमा पनि महिला पुरुष सरह प्रत्येक्ष रूपमा लड्न सक्षम छन् । दलहरूले महिलालाई आफ्नो स्वार्थ र पार्टीलाई जिताउनको लागि मात्र प्रयोग गरेका छन् । होइन भने यत्रो चुनावमा एउटा पनि महिलालाई प्रत्यक्षतर्फ किन टिकट नदिएको ?

 

 

लक्ष्मी महतरा, वीरेन्द्रनगर–११
अब हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कुनै पनि दलले प्रत्येक्षतर्फबाट महिलालाई उम्मेदवार नबनाउनु दुःखको कुरा हो । स्थानीय तहको चुनावमा पनि कुनै दलले महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएनन् । अब फेरि पनि दलहरूले महिललाई आरक्षणको कोटामा सीमित गर्दैछन् । समानुपातिकमा मात्र महिला सहभागिता बनाइनु ठूलो कुरा होइन । यदि पार्टीले नयाँ र ठूलो काम गर्ने हो भने भाषणमा मात्र होइन साँच्चिकै अब हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा प्रत्येक्षबाट महिलालाई उम्मेदवार बनाउन जरुरी छ । होइन भने अबदेखि भाषणमा महिला अधिकारका कुरा कुनै पार्टीहरूले नगरे हुन्छ ।

 

पूर्ण थापा, वीरेन्द्रनगर–१२
जनयुद्धदेखि गर्दा महिला पुरुष बराबरी हुन् । लड्न सक्छौं भन्दै जनयुद्धमा महिला सहभागिता बढाउने माओवादीले समेत अब मंसिरमा हुने चुनावमा प्रत्यक्षतर्फबाट महिला उम्मेदार उटाउन सकेन । अरु दलहरूको त कुरै नगरौं । सबै दलहरू आफ्नो स्वार्थका लागि मात्र महिला सहभागिता बढाएको देखाउँछन् । कुन पार्टीले महिलालाई कतिसम्म सम्मान व्यवहार गर्छ भन्ने कुरा चुनावमा छलङ्ग देखिन्छ । जुन अहिले देखिएको छ । महिलालाई सधैं महिलाको आरक्षण कोटा र समानुपातिकमा मात्र सीमित बनाइनुको कारण महिलालाई पार्टीले बेवास्ता गर्नु नै हो । पार्टीले हाम्रो सही मूल्यांकन गर्न सकेका छैनन् ।

 

समीक्षा खड्का, वीरेन्द्रनगर–१२
मंसिर १० र २१ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको निवार्चनमा कुनै पनि दलहरूले प्रत्यक्षतर्फबाट महिला उम्मेदार नउठाउनु दुखदायी कुरा हो । अरु बेला महिला सहभागिताको चर्काे नारा लगाउने पार्टीहरूले खै त अहिले यो चुनावमा एक जना महिलालाई पनि प्रत्यक्षतर्फबाट उम्मेदवार बनाउने हिम्मत गरेको ? स्थानीय तहको चुनावमा पनि प्रमुख पद महिलालाई दिएनन् र महिलाको आरक्षण कोटामा महिलालाई सीमित बनाइयो । अहिले पनि समानुपातिकमा महिला सहभागिता गराए पनि प्रत्यक्षतर्फ महिला सहभागिता खै त ? यो मेरो प्रश्न सबै राजनीति दलहरूलाई हो ।

प्रकाशित मितिः   २९ आश्विन २०७४, आईतवार १६:२०