भक्तबहादुर प्रधानसँगको त्यो भेट

पृथ्वीबहादुर सिंह
म जहाँ जान्छु त्यो स्थानको इतिहास विकास निर्माण, संस्कार, संकृति बुझ्न स्थानीय बुढापाका व्यक्ति भेट्न मन लाग्छ । आज पनि पत्रकार महासंघबाट फर्केर आउँदा बाटोमा शिक्षा अधिकारी मेरो सिम्ताका भाइ मुक्ति सिंह भएर आएको जानकारी कार्यालय सहायकबाट पाएँ । मैले त्यहाँ कोही साहित्यकार वा कलाकारबारे पनि सोधखोज गरें । साहित्यकार तथा कलाकार अमित घिमिरे रहेछन्, विद्यालय पढाउने शिक्षक । अमितजी कम्प्युटरमा चित्रकला बनाउन व्यस्त हुनुहुन्थ्यो । म कोठामा गएर नमस्कार गरी आफ्नो परिचय दिएँ । मैले भने, ‘मलाई त तपाईलाई भेट्दा ढुङ्गा खोज्दा देउता भेटे जस्तो भएको छु । म मध्यपश्चिम नेपालको सुर्खेती मनु तपाईंको जिल्ला अवलोकन गर्न आएको छु । तपाईंले यो ठाउँका पुराना मठमन्दिर र बुढा व्यक्तित्वसँग भेटघाट गराउन सहयोग गर्नुहोला कि ?’ उहाँँले सहयोगी हात बढाउँदै भन्नुभयो, ‘तपाईंजस्ता सिर्जनाकर्मी हाम्रो जिल्ला आएर अवलोकन गर्ने सुदूरपश्चिम नेपालको पहिलो व्यक्ति हो, सक्दो सहयोग गर्छु ।’
उहाँको बोली बचन र व्यवहारले मलाई पनि साहित्यकार तथा कलाकार अरु मानिसभन्दा बढी नै सम्वेदनशील हुने कुरा साँचो लाग्यो । कार्यालय समय सकिन लोगेको थियो । दुवै जना हामी माथी बजारतिर लाग्यौ । पुरानो बजार वल्लो हो, त्यहाँ नै मठ मन्दिर र पञ्चायतकालीन राजानीतिज्ञ पुरानो साहु पनि बमोबृद्ध भक्तबहादुर प्रधानसँग भेटाइदिन्छु भनि त्यतै तिर लिनुभयो । यही क्षेत्रमा भीमशेन गणेश, कृष्ण मन्दिर देखाउँदै छेउमा रहेको पाँचतले पुरानो झिंगटी घर एकतला माथी भ¥याङ चढेर गयौं । हामी कोठामा पुग्दा बृद्ध भक्तबहादुर हातमा रिमोट लिएर टेलिभिजन चलाउन थाल्नुभएको थियो । हामीले नमस्कार चढाँयौं । मेरो परिचय अमितले गाराउनु भएको थियो । मैले उहाँको उमेर र जन्मेको मिति सोधेँ । उहाँले भन्नुभयो, ‘वि.स.१९८३ साल फाल्गुन हो, अहिले ८४ वर्षको भएँ ।’ मैले थप सोधें, ‘जीवनमा कति महŒवपूर्ण कार्य गर्नुभयो ?’ उहाँ भन्नुहुन्छ, ‘१० वर्षसम्म पञ्चायत व्यवस्थामा निर्वाचित माननीय भएँ । एक अवधि जिल्ला सभापति भएँ । त्यही समयमा राजा विरेन्द्रले देश विकाश गर्न चार विकाश क्षेत्र बनाएर देश भ्रमण गर्ने योजना बनाएपछि ७८ जना माननीयहरू सँग सुर्खेत गएको याद छ ।’
उहाँलाई यस जिल्लाबारे र आफ्नो परिवारिक पृष्टभूमिबारे बताउन आग्रह मैले गरें । उहाँ भन्नुहुन्छः हाम्रो बाजे भक्तपुरे हुन्, उहिले यहाँ फलाम खानी थियो । त्यही खानीको द्वारे भएर बाजे
आएछन् । परबाजे हरिनारायण बुवा उत्तरध्वजा
हुन् । यो जिल्ला राणाकालमा पूर्व एक नम्बर तातापानी काभ्रेप्लान्चौक सिन्धुपलान्चौक पथ्र्यो । बडाहाकिम यही चौतारामा बस्थे । यहाँको उत्पादन फलाम सुका धार्नी हिसाबले बेचिन्थ्यो रे । यहाँका किसानीहरू सरकारी तिरो पनि फलाम दिएर तिर्थे रे । सरकारले चाहिँ फलाम नहुने स्थानमा लिएर वेची तिरो असुल्ने गथ्र्यो रे । भारत एकीकरण गरेर अंग्रेजले मेसिनले फलाम निर्माण गरी जंगबहादुर राणा श्री ३ भएपछि अंग्रेजको फलाम नेपालको बजारतिर लम्केपछि ती खानी पुरिए भन्ने सुनेको थिएँ ।’
बिर्सने रोग लागेर पुनः उहाँले मेरो परिचय सोध्ने गर्नुहुन्थ्यो । म पुनः परिचय दिँदै थप जिज्ञासा राख्ने गरेको थिएँ । उहाँ थप भन्नुहुन्छ, ‘बुबाले यो झिगरी निर्माण गरेपछि श्री ३ राणा प्रधानमन्त्री चन्द्र शम्शेरले नगरकोटको डाँडोबाट टेलेस्कोपबाट हेरेर चार दुर्ग देखेछन् । यस्तो झिगरी हाम्रो आदेश विना कसले हालेछ भनि पुलिस पठाएछन् । बुबालाई पक्राऊ गरी काठमाडौं सिंहदरबारमा चन्द्र शम्शेरकोे अगाडि उपस्थित गराएछन् । चन्द्र शम्शेरले भनेछन् कसका आदेशले पाँचतले चार दुर्ग भएको घर बनायौं । निरुन्कुश राणाशासकको डरले निहुरी हात जोडी भनेछन् सरकारका भाइछोरा सवारी हुदाँ बास बस्न सजिलो होला भनि बनाएको हुँ, सरकार भनि बिन्ती बिसाएका थिए रे । त्यसो भएर बनाएका हौ भने प्रधान झिगटी मेरो नाममा पास गर भनि पास गर्न लगाए छन् । त्यसपछि घरको वलेनी भित्र पारेर साँध छुट्याउन ढुंगा राख्न लगाएछन् । त्यसपछि फेरि बुबालाई काठमाडौं बोलाएर तिरो भरे केही नलाग्ने भनि सरकारी लालमोहर लगाएर विर्ता दिएर प्रमाण्ति गरेर बुबाको नाममा नै दर्ता गरी दिएछन् ।’
्उहाँले यसरी भनिरहँदा मलाई भने आफ्नो कमाइमा पनि कुनै ठूलो व्यक्तिगत विकासका काम गर्नुपरे राणाशासकको आदेश प्रमाण लिनुपर्ने, नगरे जफत गर्ने कति कठोर निरुंकुश शासन थियो । चाकरी गर्ने प्रकृति निकै फस्टाएको थियो भन्ने यो घटनाले आफै बोलेको जस्तो लागेको थियो । स्मरण शक्तिकम भएका प्रधानलाई सोधें ‘अब १६ वर्ष बाँचे, एक सय वर्ष पुगिन्थ्यो । अझ धेरै संसारको विकाश देखिन्थ्यो होला त्यसपछि मर्न पाए हुन्थ्यो भनि तपाईं सोच्नुहुन्छ ?’ ‘होइन भाइ किन बाँच्ने हिँड्डुल गर्न सकिदैंन, जे पायो त्यही खाना हुन हुँदैन । आँखा कान सुन्न शरीरले छोड्यो अब छिट्टै मर्ने पाए जाति हुन्थ्यो’ भनि जीवनको निराशा व्यक्त गर्नुभएको थियो ।
उहाँ आफै अगाडि भन्न थाल्नुभएको थियो, ‘कहिले काहीं राणाहरू तातापानीमा क्याम्प हालेर एक हप्ता नुहाएर जान्थे । बहुदल आएपछि राप्रपाको संगठन गर्न र प्रचार गर्न पशुपति शम्शेर राणा एकरात आएर सुतेका छन् यो घरमा । हाम्रो बुबाका पालादेखि बन्द व्यापार गर्दा किसानहरूलाई ब्याज रकम दिएर साहुकार कहलाएका हुन् ।’ उहाँले कुरा सकाएपछि बुहारीले चिया बनाएर ल्याइन् । हामीले खायौं । त्यसपछि नमस्कार गरी छुट्टिएर बाहिरियौं । अमित र म बजारमा तिर लाग्दा मैले भनें, ‘भाइ म भोलि नै खासातिर लाग्दैछु । तपाईंका सिर्जना पाए हुन्थ्यो ।’ अमितले भन्नुभयो, ‘यहि टुँडीखेलको छेउमा मेरो घर छ, एक छिन भए पनि पाउकष्ट गरेर जाउँ, मेरो बुबाआमासँग चिनजान गरी वातमारी आउनुहोला’ भनेकाले गयौं । बाटोमा भक्तबहादुर प्रधानले भनेका कुरा हामी दुई बीचमा मैले भने, ‘हाम्रो तिरका साहुकार जस्तै ठ्याक्कै मिल्यो ।’ हुन पनि त्यो जमानामा मानिसहरू कति इमान्दार थिए । साहुको ऋण लिएर नतिरे सूर्यचन्द्रमा ग्रहण लागे हो रे भनि जुनसुकै तरिकाले ऋण चुक्ता गर्दथे । आजकल त त्यसरी साहुबाट ऋण लिएको पैसा खाने ठगहरूको बिगबिगी छ । यस्तै भएर होला साहु भक्तबहादुर बनेको । उनका कुरा सुन्दा पनि मेरो गाउँ पिल्कको जस्तो इतिहास लाग्यो ।
अहिले मेरो ठाउँमा फलामका धाउँ निकालेका खानी खाल्डाहरू छरिएर रहेका छन् । त्यही धाउलाई खारेर फलाम बनाउँदा मेरो गाउँ माथिको सालघारी सकिएछ । म बच्चैदेखि जवान भइ आज आउँदासम्म त्यो पाखोलाई सालघारी भन्थे । सालका मुना आउँथे ती सालका मुनाहरू छापो घाँस मात्र गरिन्थ्यो । २०४५ सालमा वन संरक्षण गर्ने गाउँलेहरूले निर्णय गरेर पलाएका मुना अहिले सालघारी नै भएको छ । यो चौताराको वरिपरि त्यस्तै सालका ठेलाबाट मेरो गाउँमा पलाएका रुखहरू जस्तै छन् । अहिलेको युग फलामे युग हो । फलामका सबै वस्तुहरू विदेशबाट नै आयत हुन्छ । हाम्रा ती खानीहरू उत्खनन् प्रशोधन गर्नसके आत्मनिर्भर भएर निर्यात गरेर विदेशी मुद्रा देशले आर्जन गथ्र्यौ होला । हाम्रो देशका शासकहरू जनताको कर विदेशमा श्रम गरेर पठाएको रमिटान्समा मोजमस्ती गर्ने बिलासी भवन बनाउने सम्राज्यवादी विस्तारवादी निर्देशनमा शासन गर्ने भाडाका राजनीतिज्ञ लठैत सधैं भइरहेका छन् । त्यही देखेर मन दुख्नेहरू निरुंकुशताको छातामा बसेर स्वाभिमान हटाउन चाहनेहरू विद्रोह गरी शहिद हुन्छन् भने कोही विश्वमा जहाँ मूल्यांकन योग्यता क्षमता अनुसार श्रम गर्न पाइन्छ देश छोडेर जाने गर्दै आएका छन् भन्नेमा हामी दुई एकमत भएका थियौं ।
अमितको घरमा पुगी चिनजान गरें । बुबा ८३ वर्ष, आमा ७८ वर्ष भएको बताउँदै भन्नुहुन्छ, ‘हामी माथि पहाडको गाउँबाट यो चौतारमा बस्ती सरेर आएर गाई पालेर तीन छोरा पढायौं । अहिले छोराहरू राम्रो जागिरमा छन् । धेरै दुःख छैन, अहिलेका नेता भनाउँदाहरू बिहान एउटा, बेलुको अर्काे कुरा गर्छन्, यस्ता नेताहरूले के संविधान बनाउलान नयाँ नेपाल बनाउलान बाबु मलाई विश्वास लाग्न छोडेको छ ।’ आमाले चिया बनाएर ल्याएपछि खाएर अमित जिका सिर्जना उपहार लिएर आफ्नो सिर्जनाका एक–एक प्रति उपहार दिएर चौतारा होटलतिर लागें । खानापछि ओछ्यानमा पल्टिएँ । तब मलाई दिउँसो भेटिएका भक्तबहादुरको सम्झनामा आयो । उनको बुढेउलीको स्मरण शक्तिको ह्रास सम्झनेर म आफू आफैसँग झस्किएँ । म पनि अर्को वर्ष ६० वर्ष पुग्दैछु, अबका केही बर्ष केही राम्रो काम गरेर चल्दैफिर्दै मृत्युवरण गर्न पाए हुन्थ्यो भन्ने सोचें । सधैं परिवारको लागि आपाधापी गरेर आखिरमा लक्ष्मीप्रसाद देवकोटाको जस्तै ‘न ज्ञान भो न भक्ति भो रहेछ श्रीकृष्ण एक’ लेखेर जान हुँदैन सोच उठ्यो । हुन त यो यायावरीय जीवनले धेरै सांसारिक कुरा जान्न बुझ्न मिल्दो रहेछ । यस्तै सोच बनाउँदै मनमनमा खेलाउँदै भुतुक्क निदाएको थिएँ ।
(बाँकी अर्को साता)

प्रकाशित मितिः   २८ आश्विन २०७४, शनिबार १६:१३