‘साथीहरू खेल्थे, म झोला कुरेर बस्थें’
कौशीला योगी अधिवक्ता हुन् । उनी बुबा खीम नारायण योगी र आमा ईश्वरी योगीको कोखबाट वि.सं. २०३१ असोज २ गते दाङको सौडियार गाविस हालको गोराही उपमहानगरपालिकामा जन्मिइन् । वि.सं. २०६१ देखि अधिवक्ता भएर काम गर्दै आइरहेकी छन् । उनी देउती कानुनी सहायता केन्द्रको सञ्चालक पनि हुन् । अहिले सत्य निरूपण तथा मेलमिलाप आयोगमा अनुसन्धान अधिकारीको रूपमा मुकाम कार्यालय सुर्खेतमा कार्यरत योगीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेकी छिन् ।
मेरो जन्म दाङको सौडियार गाविस हालको गोराही उपमहानगरपालिकामा भएको हो । हामी चार भाइबहिनी हौं । मेरो एक जना दाई एक जना दिदी र एक जना बहिनी छन् । बुबा खेती किसानी गर्नुहुन्थ्यो । कृषक परिवारमा जन्मिएको कारणले सानो छँदा खेतबारीमा पनि काम गरियो । म सानैदेखि नै विद्यालय जान थालेकी हुँ । मेरो बुबाले छोरीहरूलाई पनि पढाउनुपर्छ भन्ने मान्यताको हुनुहुन्थ्यो । बुबाले छोरीले यो काम गर्नुपर्छ छोराले यो काम गर्नुपर्छ भनेर कहिले पनि भन्नु भएन् । सबैले काम गर्न सक्छन् काम गर्नुपर्छ भन्नुहुन्थ्यो । मेरो दिदीलाई बुबाले ढाइ÷तीन वर्षको उमेरबाट नै विद्यालय पढाउन हाल्नुभएको रे । बुबा आफै दिदीलाई विद्यालय पु¥याउन जानुहुन्थयो रे । पछि हामी विद्यालय जाँदा दाइदिदीसँगै जान्थ्यौं । दिदीले हामी पढ्ने विद्यालयमा नै एसएलसीपछि पढाउन थाल्नुभएको हो । त्यहीकारण पनि हामीलाई विद्यालय जान सजिलो हुन्थ्यो ।
बिहान–साँझ घरको काम गरेर पढ्नुपथ्र्यौ । बुबाहरूले खेतबारी सबै आफै लगाउनुहुन्थ्यो । त्यसैबाट घर खर्च र हाम्रो पढाइ खर्च जुटाउनुहुन्थ्यो बुबाले । आमाले हाम्रो लागि धेरै गर्नुभएको हो । उहाँ सधैं बिहान ३ बजे उठ्नुहुन्थ्यो । घरधन्दा सबै सकेर उहाँले हाम्रो लागि खाजा बनाइदिनुहुन्थ्यो । साँझ ठेकीमा दही जमाइदिनुहुन्थ्यो । बिहान रोटी पकाइदिनुहुन्थयो । हामीले सधैं विद्यालयमा रोटी लिएर जाने गथ्र्यौं । अरु साथीहरूले बासी रोटी लिएर आउने गर्थे । मेरो साथीहरूले हामीलाई तिमीहरूको आमा कति राम्रो हुनुहुन्छ है सधैं खाजा बनाएर पठाउनुहुन्छ भनेर भन्ने गर्थे ।
खेती किसानी गर्ने भएको कारण बुबाले हामीलाई साँझमा समय दिनुहुन्थ्यो । सधैं साँझ खाना खाइसकेपछि बुबाले हामी सबै भाइबहिनीहरूलाई वरिपरि राखेर पढाउनुहुन्थ्यो । आमा भने अर्को कोठामा बस्नुहुन्थयो । उहाँलाई कतै बुबाले छोराछोरीले पढ्न नजानेर पिट्नुहुन्छकी वा गाली गर्नुहुन्छकी भनेर अर्को कोठामा बसिरहनुहुन्थ्यो । कहिले हामी पढिरहेको ठाउँमा बसिरहनुहुन्थ्यो । बुबाको सपना छोरीहरूले पढेर केही गरुन् भन्ने थियो । त्यसकारण पनि हामीलाई पढाइमा ध्यान केन्द्रित गराउनु हुन्थ्यो । हामीलाई पनि पढाइप्रति मोह जाग्थ्यो । बुबाले मेरो अंकलको अक्षर देखाउँदै यस्तो राम्रो अक्षर लेख्नुपर्छ भनेर अंकलले लेखेको चिठ्ठी उदारणको रूपमा देखाउनुहुन्थ्यो । मेरो अंकल आर्मी हुनुहुन्थ्यो । उहाँले घरमा पठाएको चिठ्ठी बुबाले हामीलाई अक्षर देखाउन राख्नुहुन्थ्यो । अंकलले लेखेको जस्तै अक्षर लेख्नुपर्छ भन्नुहुन्थ्यो । हाम्रो अक्षर राम्रो गराउनको लागि बुबाले बाँसको कलम गराइदिनुहुन्थ्यो । ठूली आमाहरूले छोरी भएपछि घरको सबै काम गर्न सिक्नुपर्छ भन्नुहुन्थ्यो । हाम्रो समाजमा छोरीले घरको काम सबै गर्न सिक्नुपर्छ भन्ने मान्यता छ । अझ दाङमा छोरीहरूले सबै काम सिक्नुपर्छ भन्थे । हामीलाई पनि टपरी बनाउन, घर सरसफाइ गर्न, बाती काट्न, कसरी मिठो खाना पकाउन सकिन्छ भनेर सबै सिकाउनुहुन्थ्यो । बुबाले हामी महिनावारी हुँदा पनि लुकाउनु भएन् । पुरानो रुढीबादी अन्धविश्वासलाई तोड्नुपर्छ भन्ने सोचको हुनुहुन्थ्यो बुबा ।
म सानै उमेरदेखि विद्यालय पढ्न गएकोले मेरो साथीभरीमा म मात्र सानी थिएँ । पहिले ठूलो उमेर भइसकेपछि मात्र विद्यालय पठाउन सुरु गर्थे । ठूला साथीहरू भएकोले मलाई उनीहरूले खेल्ने बेलामा सँगै खेलाउँदैनथे । म उनीहरूको झोलाहरू कुरेर बस्ने गर्थें । अनि जहिले पनि साँझ नै घर पुग्ने । घरमा बुबाआमाबाट खुब गाली पाइन्थ्यो । घरमा जति गाली पाए पनि साथीहरूको साथ भने छोड्न सकिदैंथ्यो । मेरो घरदेखि विद्यालय पुग्न त्यस्तै एक घण्टा जति लाग्थ्यो । बाटोमा डाँडामा ठूलो चौर थियो । साथीहरू खुब रमाइलोसँग खेल्ने गर्थे । म उनीहरूको झोला कुरेर बस्थें । उनीहरूलाई म घर जान्छु पनि भन्न सक्दैन्थें । पछि ठूलो हुँदै गएपछि साथीहरूसँगै खेल्न मन पथ्र्यो । रुखहरूमा चढ्ने, लुकामारी खेल्ने गथ्र्यौ । म कसैसँग पनि झगडा गर्दिनथें । सबैसँग मिल्ने गर्थें । साथीहरूले भनेको मानी हाल्थें । सानो छँदा मैले थाहा पाउने भएपछि कोही कसैसँग रिसाएको सम्झना छैन् । एक पटक साथीहरू खेल्दा खेल्दै बाटोमा सैजुन भेटायो । त्यसको फल बदम जस्तै हुन्थ्यो । मैले साथीहरूलाई बदम नै हो भनेर खाऔं भनें । सबैले खायौं ।
त्यो फल खाइसकेपछि सबैलाई गाह्रो भयो । सबैले बाक्न थाल्यौं । अब घरमा थाहा पाउँछन् भनेर घर पनि गएनौं । पछि बुबाआमाले खोज्न आउनुभयो र घर गयौं । धन्नै मरेका थिएनौं । अर्को पटक म त्यस्तै सात वर्षको जति थिएँ । कसैले काम गरायो भने नाइ भन्न आउँथेन् । ठूलो बुबाको छोराले बारीमा आसी फालेर लिन पठाउनुभयो । उहाँले अरिगांलको गोलोमा आसी फाल्नु भएको रहेछ । मेरो दाई र मलाई पठाउनु भएको थियो । हामी दुवै दाइबहिनीलाई अलिङ्गालले टोक्यो । पछि बुबाले औषधि गरेर सन्चो गराउनुभयो ।
सानो छँदादेखि नै मेरो एउटा बानी के थियो भने म कसैसँग पनि आफ्नो लागि खर्च माग्न नपरोस् भन्ने सोचको थिएँ । मैले आफ्नो लागि केही गर्नुपर्छ भन्ने लाग्थ्यो । बुबा–आमासँग खर्च माग्ने गर्थें । हाम्रो आफन्तहरू सबै नजिकै हुनुहुन्थ्यो । मेरो अंकलहरू घर वरिपरिनै थियो । धेरै सन्तानहरू भएको कारण चाडपर्वको बेलामा टीका लगाएर पैसा भइहाल्थ्यो ।
अरुले त्यो पैसा पछिको लागि काम लाग्छ भनेर जम्मा गर्थे । आ–आफ्नो खर्च बुबा आमासँग माग्थे । मैले आफूलाई चाहिने खर्चको जोह गर्ने गर्थें । हामी सात÷आठ कक्षा पढ्दादेखि नै सामाजिक कामहरूमा सहभागी हुने गथ्र्यौं । दाइदिदीहरूले ग्रामीण सुधार संस्था स्थापना गरेर विभिन्न कार्यक्रमहरू गर्नुहुन्थ्यो । म पनि सहभागी हुने गर्थें । हामीले संस्थाबाट गाउँमा रहेका विकृतिहरूलाई हटाउने खालका कार्यक्रमहरू गथ्यौं । हामी प्रत्येक साँझ बैठक बस्ने गथ्यौं । सबैले आ–आफ्नो घरमा कसले चुरोट, रक्सी, सुर्ती खान्छ छलफल गथ्र्यौं र कसरी छुटाउन सकिन्छ भनेर योजना पनि बनाउँथियौं । आफ्ना अभिभावकहरूलाई चुरोट, सुर्ती र जाँड रक्सी छुटाउन सबैलाई जनालाई भेला बनाएर प्रतिबद्धता गर्न लगाउथियौं ।
मैले २०४७ सालमा एसएलसी उत्तीर्ण गरें । सानो छँदा यो बन्छु वा त्यो बन्छु भन्ने थिएन । तर मैले पढेर केही गर्नुपर्छ भन्ने लाग्थ्यो । एसएलसीपछि भने मलालाई कानुन विषय पढ्नुपर्छ र वकालत गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि मैले आएल पढें । २०६१ सालदेखि सुर्खेतमा अधिवक्ताको रूपमा काम गरिरहेको छु । मेरो आफ्नै प्राइभेट ल फर्म छ, देउती कानुनी सहायता केन्द्र । अहिले सत्य निरूपण तथा मेलमिलाप आयोगमा अनुसन्धान अधिकारीको रूपमा काम गरिरहेकी छु ।
साझा बिसौनी ।