केन्द्रको चुनावी तालमेलले जिल्लामा दलहरू अलमल
सुर्खेत, २२ असोज । मुलुक दशैंमा व्यस्त भइरहेका बेला दुई ठूला दल एमाले र माओवादी केन्द्रले एकाएक चुनावी तालमेल गर्ने सहमति गरे । आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा तालमेल मात्र होइन, चुनावपछि पार्टी नै एकीकरण गर्ने घोषणा गरे । त्यसमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी पनि मिसियो ।
जिल्ला तहमा दलहरू चुनावका लागि आफ्नो उम्मेदवारहरू छनौट गर्दै थिए । एकाएक देशको राजनीतिकमा नयाँ तरंग नै पैदा भयो । वामपन्थीहरूले तालमेलको निर्णय गरेपछि कांग्रसले पनि एकाएक प्रजातान्त्रिक शक्तिहरूलाई समेटेर तालमेलको प्रक्रिया अगाडि बढायो । केन्द्रमा दलहरूले वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनको गठजोड गर्न थालेपछि जिल्ला तहका दल र नेताहरू भने यतिबेला अलमलमा छन् ।
जिल्लाका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले दुबै तहको चुनावका लागि उम्मेदवाहरू सिफारिस गरिसकेका
छन् । प्रत्यक्ष र समानुपातिकतर्फको लागि यी दलहरूले हम्मेहम्मे गरेर उम्मेदवाहरू सिफारिस गरेका छन् । तर केन्द्रमा दलहरूबीच तालमेलको सहमति भएपछि जिल्लामा यतिबेला अन्यौलता छाएको छ । केन्द्रमा एमालेसँग चुनावी तालमेलको सहमति भएपछि माओवादी केन्द्रले सुर्खेतमा यसअघि सिफारिस गरेको उम्मेदवारको लिष्टलाई स्थगित गरेको छ । तर केन्द्रबाट तालमेलको थप खाका नआएका कारण कांग्रेस र एमालेका जिल्ला नेता र सिफारिसमा परेकाहरू अलमलमा परेका छन् ।
जिल्लाबाट दलहरूले अहिले छुट्टाछुट्टै उम्मेदवारहरू सिफारिस गरेको भए पनि अब तालमेल अनुसार निर्वाचन क्षेत्र बाँडफाँड हुनेछन् । तालमेलको सहमतिपछि अब निर्वाचन क्षेत्र भागवण्डा हुने भएका कारण पनि सिफारिसमा परेका उम्मेदवारहरू ढुक्क छैनन् । अब एमाले र माओवादीले जिल्लामा निर्वाचन क्षेत्र बाँड्नेछन् । यस्तै कांग्रेस र राप्रपाबीच तालमेलको सहमति भए यी दुई दलले पनि जिल्लामा निर्वाचन क्षेत्र भागवण्डा गर्नेछन् । केन्द्रबाट सर्कुलर नआएका कारण जिल्लामा भागवण्डा गर्न ढिला भएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष कृष्ण जिसी बताउँछन् । उनले भने, ‘अब एमालेसँग सल्लाह गरेर जिल्लामा निर्वाचन क्षेत्र बाँड्नेछौं, अहिले सिफारिस भएका उम्मेदवार स्थगित गरिसक्यौं ।’
केन्द्रमा भएको सहमति अनुसार एमाले र माओवादीले जिल्लामा बराबर निर्वाचन क्षेत्र बाँडेर उम्मेदवार सिफारिस गर्नेछन् । जिसीले जिल्लामा दुई दलले संयुक्त छलफल गरेर निर्वाचन क्षेत्र र उम्मेदवारको टुङ्गो लगाउने बताए । यही बीचमा एमालेले पनि जिल्लाबाट उम्मेदवारहरू सिफारिस गरेको छ । तर एमालेका नेता र उम्मेदवाहरू पनि अलमलमै छन् । माओवादीसँग निर्वाचन क्षेत्र भागवण्डा गर्नुपर्ने भएका कारण अहिले सिफारिस भएका उम्मेदवाहरू पनि परिवर्तन हुनेछन् । तर एमाले जिल्ला अध्यक्ष धु्रवकुमार शाहीले भने, ‘हाम्रो पार्टीले पनि सबै उम्मेदवार सिफारिस गरेको छ, अब प्रदेश कमिटीले केन्द्रमा पठाउँनेछ । हामीले पठाएको लिष्ट हेरफेर त नहोला, अहिलेकै लिष्ट कार्यान्वयन हुन्छ ।’
चुनावी तालमेलका कारण नेताहरू पनि अलमलमा छन् । एमाले र माओवादी एक भएपछि जिल्लाको क्षेत्र नम्बर १ बाट उम्मेदवारमा सिफारिस भएका कांग्रेस नेता पूर्णबहादुर खड्का अब समानुपातिकतर्फ उम्मेदवार बन्न सक्ने उनी निकटस्थहरू बताउँछन् । यस्तै मुख्यमन्त्रीका लागि बलियो दाबेदारका रूपमा रहेर प्रदेशसभाका लागि क्षेत्र नम्बर ३ मा एमाले नेता यामलाल कँडेल उम्मेदवार सिफारिस भएका छन् । तर केन्द्रमा यो प्रदेशमा माओवादीले मुख्यमन्त्री बनाउने गरी भागवण्डाको छलफल चलेको छ । यदि यसो भएको खण्डमा एमाले नेता कँडेल प्रदेश छोडेर प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नसक्ने एमाले स्रोतले आंकलन गरेको छ । यसकारण पनि दलहरू थप अलमलमा छन् ।
कांग्रेस पनि जिल्लामा अलमलकै अवस्थामा छ । केन्द्रले राप्रपा र मधेसी दलसँग तालमेलको प्रयास जारी राखेका कारण जिल्लामा सिफारिस भएका उम्मेदवाहरू कसले छोड्नुपर्ने हो भन्ने चिन्तामा छन् । कांगे्रस केन्द्रीय सदस्यसमेत रहेका नेता हृदयराम थानी केन्द्रले गरेको निर्णय आफूहरूले मान्ने बताउँछन् । उनले भने, ‘तालमेपछि जिल्लामा हामीले कुनै क्षेत्र छोड्नुपर्ने भए, हामी छोड्न तयार नै छौं । उम्मेदवार सिफारिस भएर केही फरक पर्दैन, अब नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने हुनसक्छ ।’ तालमेलले कार्यकर्तामा उत्साह देखिए पनि एकाएक भएको चुनावी गठबन्धनका कारण भने उम्मेदवार सिफारिस भइसकेकाहरू बढी त्रसित छन् । बल्तल्ल आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवारमा सिफारिस भएकाहरूले अब तालमेलका कारण छोड्नुपर्ने अवस्था आउनेछ ।
साझा बिसौनी ।