प्रदेश नं. ६ को सम्भावनासँगैको तर्कना
बाइसे–चौबीसे राज्य हुँदाको बखत सर्वाधिक शक्तिशाली राज्यको महत्वपूर्ण भू–भा नै हाल संघीय नेपालको ६ नम्बर प्रदेश हो । निकैे कष्टपूर्ण प्रसवपछि जन्मिएको यो प्रदेश अलि कुपोषित छ भन्ने बुद्धिबिलाशाचार्यहरूको तर्क छ । किनकी यहाँको मावन विकास सूचकाङ्क ०.४१२ (सन् २०१४) को मात्रै छ । ति बुद्धिबिलाशाचार्यहरू यो सूचकांक मात्रै हेरेर तर्क गर्दछन् तर उनीहरू यसअघि वा बाइसे–चौबीसे राज्यका पालामा किन सर्वशक्तिमान थिए ? त्यो चाहिँ भन्दैनन् ।
मानव विकास सूचकांकका आधारहरूमा स्वास्थ्य, पोषण महत्वपूर्ण हुँदै हुन्, यी आधार नपुगेकाहरूले शारीरिक वा मानसिक बल पाउन सक्छन् ? किन यहाँका मानिसले काठमाडौंदेखि कुमाउ–गढवालसम्मलाई थर्कमान बनाउन सके ? खानै नपुग्नेले लड्न सक्छन् ? रोगीले अरुलाई जित्न सक्छन् ? यहाँनिर काठमाडौंको ‘बौद्धिक’ जमात धर्मराएको छ । फेरि शिक्षा र चेतनाका स्तरले यो प्रदेश कमजोर छ भन्नेहरू पनि छन् । यहाँको साक्षरता प्रतिशत ६१% छ । यही तथ्यांकको आधारमा यस्तो विश्लेषण गरिएको हो भने, इतिहास पढ्नुस्, आज तपाईं हामीले बोल्ने नेपाली भाषा यही प्रदेशको उपहार हो । भाषा उपहार दिने जननी नै अशिक्षित हुनसक्छ ? आखिर कस्तोलाई शिक्षित भन्न खोज्नु भएको हो ? घोकेर, कण्ठ गरेर कागजको खोष्टा आर्जेकाहरू शिक्षित हुन् ? जसले पैसा र मोजमस्तीको लोभमा मातृभूमिको छातीमा लात मार्दै युरोप–अमेरिका भासिदै गएको छ । उच्च शिक्षा प्राप्त नेपाली कति छन् प्रदेश नं. ३ मा ? के यहीं देश बनाउन लागि परिरहेका छन् ? ६८% साक्षर यहाँका जनताका छोराछोरीहरू युरोप–अमेरिकामा ‘वेटर’ बन्न पुगिरहेको तथ्य कसलाइ थाहा छैन ?
करिब ३० हजार ४ सय ३४ वर्ग किलोमिटर क्षेत्रफल बोकेर नेपालको सबैभन्दा ठूलो, अर्थात् साढे नौ जिल्ला समेटेको प्रदेश नं. ६ सँग जनसंख्या करिब सवा १६ लाख छ, यिनीहरूको प्रतिव्यक्ति आय ८०६ डलर (सन् २०१४) छ भनिएको छ । यसैले यो प्रदेश गरीब रे ! यो प्रदेशले आफैलाई धान्न गाह्रो छ रे ! जबकी नेपाललाई आवश्यक विद्युत शक्तिभन्दा ५० औं गुणा बढी जलविद्युत निकाल्न सक्ने क्षमता यसै प्रदेशसँग छ । सप्त कर्णाली नदी तिनै स्वप्नद्रष्टा र इलमी पाखुरा कुरेर बसिरहेको छ । सिंगो नेपाललाई झिलिमिलि पारी विदेशलाई विजुली बेची नेपाललाई नै समृद्ध बनाउन यही प्रदेश लालायित छ । अनि कसरी यो प्रदेश गरीब हुन सक्छ ? पर्यटनकै कुरा गरौं न । रारादेखि शे–फोक्सुण्डो ताल यहीं छन् । पञ्चकोशीदेखि काँक्रेविहारसम्म नै यही छन् । त्यति मात्र होइन तिब्बतमा रहेको मानसरोबर पनि यही प्रदेशको भीमकाय शरीर भएर जानुपर्दछ । हिन्दु धार्मिक पर्यटकहरू दक्षिणबाट करोडौंको संख्यामा भित्रिन गएमा स्वरोजगारी र आर्थिक उत्पादनका क्रियाकलाप कहाँ पुग्न सक्छ ? हिसाब–किताब गर्नुभएको छ ? यहाँनिर सप्तकर्णालीलाई केन्द्रीय सरकारको नियन्त्रण हुनसक्ने तर्क झिकेर फेरि हामीलाई कमजोर देखाउन कतिपय तम्सिन सक्ने पनि हुनसक्छ । तर ख्याल गर्नुस् ! राष्ट्रिय गौरवको योजना नलसिंगाड जलविद्युत परियोजनादेखि लोहोरे, रुरु, बाँचुसम्मका जलविद्युत आयोजना चाँडै उज्यालिदै छन् । यहाँ तिलादेखि चिङ्गाडसम्मका, रुकुमका झरनादेखि सोतखोलासम्मका जलबहावको तेजलाई मर्लक्कै बिर्सिएको छ ।
यो प्रदेश अस्वस्थ होइन । जीवनबुटी यार्सागुम्बादेखि केशरसम्म यही पाइन्छ । बहुमूल्य औषधि शिलाजीतदेखि च्याऊसम्म यहीं पाइन्छ । बरु यहाँका जडिबुटीहरू तपाईंहरूको स्वस्थताको याचनासहित सेवा गर्न पर्खिरहेका छन् । कुनै बेलाको विश्वविद्यालय सरह हुम्लाको छीप्रामा मौद्गल्य विद्या आश्रम यही प्रदेशमा थियो । अहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालय यही प्रदेशको सुर्खेतमा छ । आठ वटा विमानस्थल छन् । एउटा क्षेत्रीय अस्पतालसहित स्वास्थ्य विज्ञान प्रतिष्ठान यही छन् । नेपालकै अत्यन्त सुन्दर सहरी योजनाको सुर्खेत उपत्यका यही छ । सुर्खेत उपत्यकाको १ सय ९८ मिटरदेखि डोल्पाको ७ हजार ७ सय ५४ मिटर उचाईको विविधतापूर्ण भूगोल यही छ । आहा, कति सुन्दर ! ९५.१४% हिन्दु भए पनि बौद्ध, इस्लाम, क्रिश्चियन, प्रकृतिसम्मका धर्मावलम्बीहरूको धार्मिक सम्प्रदायहरूको सहिष्णु समाज यहीँ छ । ४०.८५% क्षेत्रीहरूको बाहुल्यता रहेको यस प्रदेशमा कामी (दलित) को १५.८९%, मगरको ११.३८%, ठकुरीको १०.४५%, बाहुन (पहाड) को ८.४७%, दमाइको ३.९८%, सार्कीको २.६३%, दशनामीको १.७१% जनसंख्या छ । यति धेरै विविधतायुक्त समुदायहरू यसरी हाँसिखुशी, मिलिजुली बस्नु आफैमा गौरव हो । यहाँ जातीयताको कुनै लडाईं छैन । सहअस्तित्व छ । धर्मको लडाईं छैन, सद्भाव छ । ९४.९% नेपाली भाषा बोलेपनि मगर भाषा बोल्नेहरू २.४६%, थारु ०.४४%, तामाङ्ग ०.७५%, खाम ०.३४%, गुरुङ्ग ०.२८, शेर्पा भाषा बोल्ने ०.१९% छन् । के यो विविधता सम्पत्ति होइन ? हिमाल, पहाड, तराईसम्म फैलिएको यो प्रदेश विविध रहस्य र सम्भावनाको क्षेत्र हो ।
यहाँनिर अब के खुलस्त पार्न जरुरी छ भने, नेपाल एकीकरणपछि काठमाडौं त खस राज्य (हालको ६ नम्बर प्रदेशको) माथि हावी हुँदै आएको देखिन्छ । बाइसे–चौबीसे राज्य हुँदाको पालाको बदला लिएसरी काठमाडौं यस प्रदेशप्रति निर्मम हुँदै आएको पाइन्छ । यहींको जडिबुटी खाएर तंग्रिएको काठमाडौंले मनोविज्ञान यस प्रदेशलाई ‘गवाँर’ र ‘गरीब’ भन्न उद्यत भएको बुझिन्छ । जसले भाषा दियो, जसले सम्यमता सिकायो, जसले गौरवमय इतिहास दियो, वीरताको गाथा दियो, त्यही आज ‘पाखे’ कहलिएको छ । राज्यको स्रोत–साधनको चाश्नीमा डुबेको राजधानीका आखाँहरूलाई यहाँका सम्भावना नियाल्न फुर्सद नै छैन । राज्यले दिने नागरिकता मात्रै होइन । नागरिक हुनुको अधिकार खोइ ? यहाँका चेली बम्बैमा लुटिंदा, यहाँका यूवा भारत र खाडीमा जल्दा देश किन मौन बस्छ ? यो काठमाडौंले विवेक दरिद्रताको उदाहरण हो ।
अन्याय, अत्याचार, भेद्भावजन्य पीडाबाट छटपटिएका यस क्षेत्रका जनताको आवाज कुल्चन काठमाडौं फेरि २०७२ सालको साउनमा उद्यत भयो । वर्षौंदेखि याकुल–ब्याकुल भएको यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुर्खेत गर्जियो, अर्कोपटक ! काठमाडौं थर्कमान भयो । बाध्य भयो । लल्याक–लुलुक भएर प्रदेश नं. ६ दिन बाह्य भयो । यो हाम्रो कमाइ हो । काठमाडौंको दान–भीख होइन । हामीले पछारेर लिएको विरासत हो । हामी यहाँ सम्भावना नै सम्भावनाका आँकुरा देख्दछौं । फगत यहाँ सवल र दूरदर्शी नेतृत्वको खाँचो छ । प्रचूर परिकल्पनाशीललाई जनताको दैनिन्दीनसँग समायोजन गर्नसक्ने स्वप्नद्रष्टा योजनाकारको खाँचो छ । यस प्रदेशको स्वाभिमानलाई उँचो राख्दै गतिशील समाज निर्माणमा यहाँको राजनीतिक वा प्राकृतिक समाज एकाकार हुनु समयको माग हो । अन्यथा समाज रूपान्तरण होइन, शासन पद्धति परिवर्तन मात्र हुन जान्छ ।
प्रकाशित मितिः २२ आश्विन २०७४, आईतवार ११:१४
साझा बिसौनी ।