पीताम्बरको सफलता रुक्मणी

जीवनका हरेक मोडमा अनेक थरी साथीहरू भेटिन्छन् र छुटिन्छन् तर, जीवनसाथी जीवनको अन्तिम घडीसम्म पनि साथमा नै रहन्छन् । जीवनसाथी एउटा यस्तो साथी हो, जो हरेक दुःख सुखमासँगै रहिरहने, जीवनको अन्तिम साससम्म पनि साथ दिन सक्ने, आफूले चोट सहेर पनि जीवनसाथीलाई सुखी बनाउन सक्ने क्षमता जीवनसाथीमा हुन्छ ।


जीवनसाथीबारे उल्लेखित बुझाइ हो, पीताम्बर ढकाल र उनकी जीवनसंगीनी रुक्मणी ढकालको । यो जोडी भन्छन्, ‘जीवन भनेका एक अर्काेका परिपुरक हुन्, एकको विना अर्कोको जीवन अधुरो हुन्छ ।’
पिता इन्द्रलाल ढकाल र माता गौरी ढकालको कोखबाट २०११ सालमा सुर्खेतको सिम्ता गाउँपालिकाको बजेडीचौरमा जन्मिएका पीताम्बर ढकालको बाल्यकाल सामान्य रूपमा नै बित्यो । उनी एक वर्षको हुँदा नै उनका बुबा बसाइँ–सराइँ गरेर लेखफर्सा आएका थिए । उनको बाल्यकाल लेखफर्सामा नै बित्यो । घरको काम र पढाइमा नै उनको समय बित्ने गथ्र्यो ।

उनी भर्खर एसएलसी दिएर बसेका थिए । एसएलसीको नजिता आउने समय पनि भएको थियो । उनको घरमा बिहेको कुरा चल्यो । त्यस समयमा घरपरिवारले छोराछोरीको बिहेको कुरा चलाएपछि छोराछोरीले केही बोल्न पाउँदैनथे । ढकालको बिहेको कुरा चल्दै थियो तर, ढकाललाई एक पटक पनि नसोधेरै बिहे पक्का भइसकेको थियो । केटी हेर्न पनि केटा विना नै उनका बुबा मात्र गएका थिए । ढकालका बुबाले केटी मन पराएर बिहेको कुरा छिनिसकेका थिए । उता रुक्मणीको घरमा पनि केटालाई एक पटक नहेरेरै छोरीको बिहे पक्का गरिएको थियो ।
ढकाल र रुक्मणाीको भेट भने पहिला एक पटक भएको थियो । दुवैले एकअर्काेलाई देखेका थिए तर बोलचाल भने भएको थिएन । दशरथपुरको स्कुलको एक कार्यक्रममा उनीहरूको देखाभेट भएको थियो । त्यस समयमा बिहे नै होला भनेर उनीहरूले सोचेका भने थिएनन् । नसोचेकै कुरा भयो । ढकालका बुबा केटी माग्न रुक्मणीकै घरमा गए । एक पटक पनि बोलचाल नभएको फेरि राम्रोसँग एकअर्काेको बानी व्यवहार नबुझेरै बिहेको कुरा छिनियो ।
घरपरिवारको सहमतिमा नै उनीहरूको २०२९ सालमा मागी विवाह भयो । विवाहपछि ढकाल पढ्नका लागि पाल्पा गए । ढकाल पढाइको शिलशिलामा बाहिर भएकाले घरमा उनी ६ महिना वा एक वर्षको अन्तरालमा मात्र आउने गर्थे । घरको जिम्मेवारी सबै रुक्मणीमा नै आइप¥यो ।
नचिनेको ठाउँ, नयाँ घर, नयाँ नाता नयाँ संस्कारमा घुलमिल हुनलाई रुक्मणीलाई चुनौती नै थियो । त्यसमा पनि साथमा श्रीमान् पनि नहुँदा उनलाई सुरु–सुरुमा घरपरिवारसँग घुलमिल हुन गाह्रो नै भयो । माइतीमा हुँदा छोरी हुँदा र बिहेपछि बुहारी हुँदाको अनुभव उनले धेरै फरक गरिन् । माइतीमा छोरी हुँदा अरुले पकाएर दिएको खान पाउने, सबैको माया ममतामा हुर्किएको मान्छे बिहेपछि अरुलाई आफ्नो बनाउनुपर्ने, सबैको सम्मान र सत्कार गर्नुपर्ने, अरुलाई खाना दिएर मात्र आफूले खानुपर्ने भएकाले पनि सुरु–सुरुमा रुक्मणीलाई गाह्रो नै भयो ।

पिता भक्तिराम पंगाली र माता धनकुमारी पंगालीको कोखबाट २०१३ सालमा लेखवेशी नगरपालिकाको डाँडागाउँमा जन्मिएकी रुक्मणीको बाल्यकाल सामान्य रूपमा नै बित्यो । बाल्यकालमा शान्त स्वभावकी रुक्मणीले स्कुलमा गएर पढ्न भने पाइनन् । एक घरबाट अर्काे घरमा जान पनि घण्टौं लाग्ने भएकाले बाल्यकालमा रुक्मणी साथीहरूसँग खेल्न पनि पाइनन् । स्कुल जान चार घण्टा लाग्ने भएकाले रुक्मणीले पढ्न पाइनन् । बिहे गर्दा १६ वर्षकी थिइन् ।
बिहेपछि घरको सबै काम रुक्मणीले गरेर ढकाललाई पढाइ खर्च पठाउने गर्थिन् । ढकाललाई पढाउन र सफल व्यक्ति बनाउनको लागि रुक्मणीको ठूलो हात रहेको छ । बिहेपछि धेरै समय यो जोडी एकअर्काेदेखि टाढा नै बसे । त्यस समयमा श्रीमान्–श्रीमती एकआपसमा कुरा गरे पनि समाजले कुरा काट्ने चलन भएकाले एकअर्काे बीचमा नजिक भएर बोल्न र कुरा गर्न डर मान्नुपथ्र्याे ।
यो जोडीले अहिलेसम्म एकअर्काेको जन्म दिन र विवाह गरेको वर्ष मनाएका छैनन् । उनीहरू भन्छन्, ‘जन्मदिन मनाउने भनेको हाम्रो नेपालको संस्कृति होइन पश्चिमी संस्कृतिलाई हामी मान्दैनौं, छोराछोरीको पनि अहिलेसम्म जन्मदिन मनाएका छैनौं ।’ जन्मदिन सम्झिएसम्म शुभकामना भने दिने गर्छन् ।
पहिलेको जमानामा श्रीमान्–श्रीमती बोल्दा समेत लाज पचेका भन्ने चलन थियो झन् घुम्न जानेको कुरा धेरै परको कुरा थियो । पछिल्लो समय भने यो जोडी धार्मिक स्थलहरूमा दर्शन गर्न जाने गर्छन् । ढकाललाई रुक्मणीको अप्ठ्यारो समयमा पनि आफूलाई साथ दिने र नरिसाउने बानी मनपर्ने गर्छ । त्यस्तै रुक्मणीलाई पनि ढकालको नरिसाउने बानी मनपर्ने गर्छ । यो जोडीको अहिलेसम्म झगडा भएको छैन । उनीहरू भन्छन्, ‘श्रीमान्–श्रीमतीमा झगडा हुनु भनेको सामान्य कुरा हो तर हाम्रो अहिलेसम्म ठूलै झगडा भने भएको छैन ।’
उनीहरूका अनुसार जीवन भनेको उकाली र ओरालीको संगम हो । जीवनमा कहिले असाध्यै रमाइलो पल आउँछ कहिले दुखको पल आउँछ दुःख सुखको संगम हो जीवन । उनीहरू भन्छन्, ‘जीवनलाई यौवन अवस्थामा बुझ्न नसकिने रै’छ जब मान्छे वृद्ध अवस्थामा पुग्छ तव मात्र जीवनको सही अर्थ बुझ्छ ।’ ढकालले युवा अवस्थामा नै क्यापस प्रमुख भएर जिम्मेवारी वहन गरे । उनले जीवनमा रमाइलो कस्तो हुन्छ नजिकबाट अनुभव गर्न भने पाएनन् । उनी भन्छन्, ‘जवानीमा क्यापस प्रमुख भइयो, रमाइलो गर्ने कुरा भएन पछि उमेर ढल्कियो त्यसैले जीवनको सही अर्थ अहिले बुझ्दै छु ।’
जीवनसाथी भनेको सृष्टी चलाउन र जीवनलाई खुशी बनाउनका लागि नभइ नहुने साथी हुन् । एकअर्कोका परिपूरक हुन् जीवनसाथी । जीवनसाथी नभएको अवस्थामा कतिपयले दुःख पाइरहेका छन् । साथमा जस्तो सुकै होस् जीवनसाथी भयो भने जीवनका जस्तोसुकै चुनौती पनि पार गर्न सकिन्छ । जीवनसाथी भनेको अभिन्न अङ्ग हुन् सँगै तैरिने सँगै डुब्ने । यो जोडीका अनुसार प्रेम र विवाहमा फरक रहेको छ । प्रेम हुँदैमा विवाह हुन्छ भन्ने हुँदैन तर विवाहपछि प्रेम हुन्छ । विवाह अघिको प्रेम र विवाह पछिको प्रेममा धेरै अन्तर हुन्छ ।
यो जोडी समाजमा एउटा सफल र उदाहणीय जोडीको रूपमा स्थापित भइसकेका छन् । श्रीमान् श्रीमतीको सम्बन्ध दूरीले कायम नगरी मनदेखि नै एकअर्काेलाई नजिक बाट बुझेर दुवैले राम्रो व्यवहार गर्दा राम्रो हुने उनीहरूको भनाइ छ । उनीहरू आ–आफ्नो जिम्मेवारी बहन गर्नसक्ने क्षमताको विकास गर्नसकेमा सम्बन्ध दिगो हुने बताउँछन् ।

प्रकाशित मितिः   २१ आश्विन २०७४, शनिबार १५:४०