‘पहिले किन्थ्यौं, अहिले बिक्री गर्छौं’

सुर्खेत, ४ असोज ।
‘पहिले त बारीमा धुलो मात्र उड्थ्यो, खडेरीले खेती नै हुन्थेन । हरियो तरकारी खान मन लाग्दा बर्खा नै कुर्नुपथ्र्यो, बजार गएको बेलामा किनेर ल्याउँथ्यौं’ उनले विगत सम्झदै भनिन्, ‘अलिअलि कमाएको पैसा पनि तरकारी किनेरै सकिन्थ्यो, आफ्नो बारीमा केही उत्पादन नै हुन्थेन ।’ तर हिजोआज उनै नेटा निवासी कर्णमाया सिंजालीको आँगनभरी लटरम्म तरकारी फलेको छ ।


सुर्खेतको लेकवेशी नगरपालिका अन्तर्गत विकट नेटामा सिँचाइ सुविधा छैन । स्थानीयले वर्षाको समयमा मात्र बारीमा खेती लगाउँथे । खडेरीको बेलामा बारीमा केवल धुलो उड्थ्यो । खेती पनि नहुने र उत्पादन भएको खाद्यान्नले वर्षभरी नपुग्ने हुँदा स्थानीय पुरुषहरू मजदुरीका लागि भारत जानुपर्ने बाध्यता थियो । तर हिजोआज स्थानीयको जीवनशैली बदलिएको छ । थोपा सिँचाइमार्फत् बेमौसमी तरकारी खेती गर्न थालेपछि धुलो उड्ने बारीमा अचेल तरकारी फल्न थालेको हो । स्थानीय बासिन्दाले व्यवसायिक रूपमा तरकारी खेती थालेका छन् ।
गाउँमै नमुना तरकारी खेती गर्दै आएकी सिंजालीले भनिन्, ‘यो बारीमा यसरी तरकारी फल्ला भन्ने त सोचेकी पनि थिइनँ, मेहेनत गरेपछि त लटरम्म फल्दो रहेछ । पहिला त हामी किनेर खान्थ्यौं, अहिले बिक्री गर्न थालेका छौं ।’ उनले सुरु गरेको तरकारी खेती लोभलाग्दो छ । स्थानीय बासिन्दाहरू पनि उनको बारीमा तरकारी खेतीको बारेमा जानकारी लिन आउने गरेका छन् । कर्णकुमारीले आफूले सुरु गरेपछि छिमेकीले पनि व्यवसायिक रूपमा तरकारी खेती सुरु गरेको बताइन् । गाउँमा सबैले तरकारी खेती गर्न थालेपछि हिजोआज आम्दानी पनि हुन थालेको छ । स्थानीयले बारीमा उत्पादन गरेको तरकारी नेटा बजार र दशरथपुर लगेर बिक्री गर्ने गरेका छन् ।
स्थानीय पुर्निसरा तारमको बारीमा पनि तरकारी फलेको छ । पहिला धुरो उड्ने बारमिा अहिले टमाटर र खुर्सानी लटरम्म फलेको छ । उनी भन्छिन्, ‘अघिल्लो वर्षबाट तरकारी खेती सुरु गरेको हो, यो वर्ष एकलट तरकारी बेचिसकें । थेपा सिँचाइले गर्दा तरकारी खेती गर्न सहज भयो, तरकारीले गर्दा घरखर्च पनि चलेको छ ।’ सुन्दर नेपाल संस्थाको पहल परियोजना अन्तर्गत स्थानीय किसानलाई तरकारी खेती सम्बन्धी तालिम दिइएको हो । सात दिनसम्म तालिम लिएपछि किसानहरूले व्यवसायिक रूपमा नै तरकारी खेती सुरु गरेका हुन् । किसानलाई उन्नत बीऊको प्रयोग, टनेल र थपा सिँचाइ प्रविधि तथा किराबाट जोगाउने उपायको बारेमा जानकारी दिइएको थियो । उक्त तालिम पछि स्थानीय किसानहरू तरकारी खेतीमा जुटेका हुन् ।
स्थानीय बासिन्दा जीतबहादुर खनालले तरकारी खेतीले आयमा पनि बृद्धि भएको बताए । उनले भने, ‘पहिले गहुँ र मकै लगाउँथ्यौं, त्यसले वर्षभरी खान पनि पुग्थेन । अहिले तरकारी खेती राम्रो भएको छ, बिक्री गरेर घरखर्च राम्रै चलेको छ ।’ उनका अनुसार तरकारीबाट आम्दानी हुन थालेपछि विस्तारै गाउँलेहरू पनि त्यसतर्फ आकर्षित बनेका छन् । तरकारी उत्पादन बढेसँगै स्थानीयले अब संकलन केन्द्र आवश्यक रहेको बताए । बजार टाढा भएको र उत्पादन धेरै हुन थालेकाले संकलन केन्द्रका लागि स्थानीयले सहयोग गर्न माग गरेका छन् । स्थानीयलाई सुन्दर नेपालले प्राविधिक सहयोग गर्दै आएको छ ।
पहल कार्यक्रममा जिल्ला संयोजक भिम बास्तोलाले किसानहरूलाई उन्नत बीऊ, थापा सिँचाइ र तरकारी खेती गर्ने आधुनिक तरिकाको बारेमा आफूहरूले तालिम दिएको जानकारी दिए । उक्त तालिमपछि किसानहरू व्यवसायिक रूपमा खेतीमा जुटेको भन्दै उनले थप सहयोग गर्न तयार रहेको बताए ।

 

प्रकाशित मितिः   ५ आश्विन २०७४, बिहीबार १६:०७