व्यवसायी पनि जुटे चेकजाँचमा
सुर्खेत, ३ असोज ।
सवारी दुर्घटना रोक्न यातायात व्यवसायीहरू नै सक्रिय भएका छन् । चाडपर्वको बेलामा हुनसक्ने सम्भावित सवारी दुर्घटना रोक्न सुर्खेतमा यातायात व्यवसायीले राजमार्गमा छड्के चेकजाँच सुरु गरेका हुन् । ट्राफिक प्रहरीसँग मिलेर व्यवसायीहरूले राजमार्ग र सडकहरूमा सवारी साधनको चेकजाँच गर्न थालेका छन् ।
चाडपर्वको वेलामा यात्रुको चाप बढी हुने र सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढ्ने भन्दै जिल्लामा सडक सुरक्षा अभियान थालिएको छ । अभियान अन्तर्गत जिल्लामा ट्राफिक प्रहरीले हाइवे गस्ती (राजमार्गमा चेकजाँच) थालेको हो । जस अन्तर्गत ट्राफिक प्रहरी, सादा पोशाकका प्रहरी, यातायात व्यवसायी र यातायात व्यवस्था कार्यालयका प्रतिनिधिहरूको संयुक्त टोलीले राजमार्गमा चेकजाँच गरिरहेको छ । यसअघि चेकिङ्गको वहानामा ट्राफिकले रकम असुल्ने गरेको गुनासो गर्दै आएका यातायात व्यवसायीहरू नै अहिले आफै सडकमा आएर सवारी चेकजाँच गर्न थालेका हुन् ।
चेकजाँच टोलीले जिल्लाका विभिन्न सडक र मुख्य राजमार्गमा छड्के अनुगमन गर्ने गरेको छ । ‘चार्डवाडको वेलामा बढी दुर्घटनाको जोखिम हुन्छ, सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्छन्’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कविराम सेन्चुरीले भने, ‘सडक सुरक्षाका लागि हामीले अभियान सुरु गरेका छौं, यातायात व्यवसायीसहित हामीले राजमार्गमा गस्ती थालेका छौं । व्यवसायी आफै चेकजाँचमा खटिएपछि सहज भएको छ, यसले चालक र सवारीधनी सचेत बनेका छन् ।’ अनुगमन टोलीले क्षमताभन्दा बढी यात्रु ओसार्ने, यात्रुबाट बढी भाडा असुल्ने, तीव्र गतिमा सवारी हाँक्ने र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई स्थलगत कारबाहीसमेत गर्न थालेको छ । यो अभियानले सवारी दुर्घटनामा न्यूनीकरण र यात्रुलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।
सडक दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको चेकजाँचमा कडाइ गरिएको भन्दै ट्राफिक प्रहरीले यातायात व्यवसायीहरूको साथले पनि अभियानमा थप सहजता भएको जनाएको छ । अभियान अन्तर्गत राजमार्ग र सडकहरूमा ट्राफिक संकेतहरू पनि राख्न थालिएको छ । ट्राफिक कार्यालयका प्रमुख सेन्चुरीले भने, ‘दुर्घटना रोक्न हामी प्रयासरत छौं, सडकमा ट्राफिक संकेत पनि राख्दै छौं । व्यवसायीको सहभागितामा छड्के जाँच गर्दै आएका छौं, कानुन विपरित क्षमताभन्दा धेरै यात्रु बोक्ने र बढी भाडा असुल्नेलाई कडा कारबाही हुन्छ ।’ सबैको सहयोगबाट मात्र सवारी दुर्घटना रोक्न सकिने भन्दै उनले सुर्खेतमा यातायात व्यवसायीहरूको साथ उदाहरणीय भएको बताए । व्यवसायीहरू आफै सडकमा चेकजाँचमा उत्रिएपछि आफूहरूलाई थप सहज भएको
उनको भनाइ छ ।
सडक सुरक्षाका लागि भन्दै वीरेन्द्रनगरका मुख्य चोकको नामा लेख्ने र ट्राफिक संकेत राख्ने काम गरिएको छ । यस्तै राजमार्गमै सवारी चालक, मजदुर र यात्रुलाई ट्राफिक नियमबारे जानकारी दिन थालिएको छ । रत्न राजमार्ग, कर्णाली राजमार्ग, छिन्चुदेखि जाजरकोट जोड्ने सडक र सुर्खेतदेखि दैलेख जोड्ने सडक लगायतका अन्य छोटो दूरीका सडकमा पनि ट्राफिक संकेत तत्काल राख्ने तयारी भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । यसका लागि वीरेन्द्रनगर नगरपालिका र सडक डिभिजन कार्यालयलाई आग्रह गरिएको सेन्चुरीले जानकारी दिए । सडक सुरक्षाका लागि विभिन्न अभियान जारी रहेको भन्दै उनले अब सुर्खेत बसपार्कमा आफूहरूले नागरिक सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिए । उक्त कक्षबाट यात्रु, सवारी चालक, मजदुर र सवारी धनीका गुनासाहरूको सुनुवाइ र समाधानको पहल हुनेछ ।
‘सडक सुरक्षा हाम्रो मुख्य प्राथमिकता हो, सवारी दुर्घटना रोक्न सबैको प्रयास आवश्यक छ’ काँक्रेविहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटाले भने, ‘हामी व्यवयासीहरू पनि सवारी चेकजाँचमा उत्रिएका छौं, यो नमूना कार्य नै हो । कानुन विपरित काम गर्नेले सजाय भोग्नुपर्छ, हामीले यसबारेमा संयुक्त रूपमा चालक, मजदुर र यात्रुलाई सचेत र जानकारी दिने गरेका छौं ।’ सवारी दुर्घटना न्यूनीकरणका लागि आफूहरू सबै प्रकारका सहयोग गर्न तयार रहेको भन्दै उनले सडकमै गएर ट्राफिक प्रहरीलाई चेकजाँचमा सघाएको बताए । चाडपर्वमा यात्रुको चाप अनुसार आफूहरू सवारीको संख्या थप गर्न तयार रहेको उनले जानकारी दिए । चाडपर्वको मौकामा यात्रुलाई सहज रूपमा सेवा दिन तयार रहेको भन्दै सापकोटाले व्यवसायमा घाटा सहेर भए पनि यात्रुको सुविधालाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।
साझा बिसौनी संवाददाता ।