सम्भाव्यता अध्ययन अन्तिम चरणमा

सुर्खेत, १४ भदौ ।
भेरीगंगा नगरपालिकाको मदानेचौरमा निर्माण हुने भनिएको प्रस्तावित क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले भौगर्भिक तथा सम्भाव्यता अध्ययनका लागि जिम्मेवारी दिएको कन्सलटेन्सीले विस्तृत सम्भाव्यता अध्ययनको कार्य अन्तिम चरणमा पु¥याएको हो । यही भदौ मसान्तसम्म अध्ययन पूरा भइ मन्त्रालयलाई प्रतिवेदन बुझाइने कन्सल्टेन्सीले जनाएको छ ।


सम्भाव्यता अध्ययनको जिम्मेवारी पाएको टेक कन्सलटेन्सी–इन्जिनियरिङ्ग एण्ड एजुकेशनल सर्भिसेस र एनटले पहिलो चरणको अध्ययनको प्रारम्भिक प्रतिवेदन भने मन्त्रालयलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनमाथि मन्त्रालयले दिएको सुझावका आधारमा विस्तृत अध्ययन भइरहेको कन्सलटेन्सीका राजिव बरालले जानकारी दिए । उनले भदौ अन्तिमसम्म विस्तृत अध्ययन पूरा गरी सरकारलाई अन्तिम प्रतिवेदन बुझाइने जनाए । सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदनका आधारमा विमानस्थल निर्माण गर्ने वा नगर्ने निर्णय हुनेछ । त्यसपछि मात्रै ईआईए र डीपीआर लगायतका काम हुने जनाइएको छ ।
नेपाल सरकारले गत वर्षको बजेट भाषणमा नै उक्त विमानस्थलको अध्ययन प्रारम्भ गर्ने घोषणा गरेको थियो । सरकारको उक्त घोषणा अनुसार नागरिक उड्ययन मन्त्रालयले पूर्व सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरेको थियो । सो बजेटबाट यस क्षेत्रमा विमानस्थल निर्माण सम्भावना अध्ययन सुरु गरिएको हो । त्यसअघि नै विमानस्थल निर्माण गर्न पर्यटन मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटबाट विमानस्थल निर्माण सम्भावना रहेको भन्दै मन्त्रालयले सरकारलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा भौगर्भिक तथा विस्तृत सम्भाव्यता अध्ययनको कार्य अघि बढाइएको हो ।
विमानस्थल निर्माणका लागि भौगर्भिक र सम्भाव्यता अध्ययनका लागि काठमाडाैंस्थित टेक कन्सल्टेन्ट प्रालि, इन्जिनियरिङ्ग एण्ड एजुकेशनल सर्भिसेस, एनोट एण्ड आर्किटेक्टले जिम्मा पाएका छन् । पाँच महिनाभित्र अध्ययन सम्पन्न गर्नेगरी गत कार्तिक महिनादेखि काम सुरु गरिएको भए पनि विज्ञहरू ल्याएर विस्तृत अध्ययन गर्दा केही ढिला हुन पुगेको कन्सलटेन्सीले जनाएको छ । यद्यपि काम भने नियमित रूपमा भइरहेको कन्सल्टेन्सीका बरालले जनाए ।
विमानस्थल निर्माणको कार्यलाई जतिसक्दो छिटो सञ्चालन गर्न यस क्षेत्रका नागरिकले माग गरेका छन् । वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थलको विकल्पको रूपमा लिइएको उक्त विमानस्थललाई प्रदेश नम्बर ६ को समृद्धिसँग जोडेर हेर्ने गरिएको छ । उद्योग वाणिज्य संघ भेरी, छिन्चुका सचिव सोमप्रसाद ढकाल विमानस्थल निर्माण भइ सञ्चालनमा आएमा प्रदेश नम्बर ६ को मुहार फेरिने बताउँछन् । उनले केन्द्रीय सरकारदेखि स्थानीय तहसम्मले प्राथमिकताका साथ मदानेचौरमा विमानस्थल निर्माणका लागि पहल गर्नुपर्ने बताए ।
प्रस्तावित विमानस्थल छैठौं प्रदेशको सम्भावित राजधानी सुर्खेतको प्रवेशद्वारका रूपमा रहेको भेरीगंगा नगरपालिकाका तीन वटा सामुदायिक वन क्षेत्रभित्र पर्नेछ । रत्न राजमार्ग र छिन्चु–जाजरकोट सडकले जोडेको, करिब तीन किलोमिटर चौडाइ र ११ किलोमिटर लम्बाइको समथर जमिन भएकाले पनि प्रस्तावित क्षेत्र उपयुक्त भएको सरोकारवालाको भनाइ छ । प्रस्तावित क्षेत्र नजिकमा भेरी नदी र भेरी–बबई बहुउद्देश्यीय आयोजना रहेको, नजिकैमा प्रशस्त पर्यटकीयस्थल रहेको हुँदा पनि विमानस्थल बनाउन उपयुक्त हुने स्थानीय राजनीतिक दलका प्रतिनिधिले समितिलाई सुझाव दिइसकेका छन् । यसैगरी कर्णाली करिडोर, जाजरकोट, डोल्पा हुँदै नेपाल र तिब्बतको नाक्चेनाक्ला सीमा जोड्ने करिडोर, नेपाल सरकारको निर्माणाधीन स्मार्टसीटी, पनि यस क्षेत्रमै रहेकाले प्रस्तावित क्षेत्र विमानस्थलका लागि उपयुक्त रहेको स्थानीयको भनाइ छ ।
जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल सञ्चालनमा छ । तर उक्त विमानस्थलको धावनमार्ग छोटो हुनु, नजिकै ठूला पहाड हुनु र विमानस्थल विस्तार गर्न जग्गासमेत नभएकाले ठूला जहाज अवतरण गर्नसक्ने विकल्पको रूपमा मदानेचौरमा नयाँ विमानस्थल निर्माणको योजना अघि सारिएको हो । राजधानी काठमाडांै र अन्य ठाउँमा हवाई यात्राबाट जान करिब तीन घण्टाको बस यात्रापछि नेपालगन्जबाट विमान चढ्नुपर्ने बाध्यतामा यहाँका नागरिकको छ । यस क्षेत्रमा विमानस्थल निर्माण भए जिल्लाको पर्यटकीय क्षेत्रको विकास, सहज आगमन, जडिबुटी प्रबद्र्धन तथा बजारीकरणमा सहयोग पुग्ने उद्योग वाणिज्य संघ, भेरीका सचिव ढकाल बताउँछन् ।

प्रकाशित मितिः   १५ भाद्र २०७४, बिहीबार १५:००