पहुँच विस्तारमा जुट्यो एमयू

सुर्खेत, १३ भदौ ।
वीरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको एमयू (मध्यपश्चिम विश्वविद्यालय) ले आफ्नो पहुँच विस्तार गर्न थालेको छ । स्थापनाकालदेखि नै विभिन्न विवाद र समस्यामा अल्झिएको यो विश्वविद्यालयले विस्तारै पहुँच र सेवा क्षेत्र विस्तार सुरु गरेको हो । स्थापना भएको आठ वर्षपछि आएर यो विश्वविद्यालयले सम्बन्धन र आंगिक क्याम्पसको प्रक्रिया अगाडि बढाएको छ ।


विभिन्न व्यक्ति, समूह र संगठनको स्वार्थका कारण हालसम्म पनि विश्वविद्यालयले आफ्नो पहुँच विस्तार र विकास गर्न सकेको थिएन । वीरेन्द्रनगरमा रहेको एउटा क्याम्पसमा मात्र खुम्चिएको यो विश्वविद्यालयले पहुँच विस्तार गर्दै तीन वटा निजी कलेजलाई सम्बन्धन प्रदान गरेको छ । विश्वविद्यालयले एउटा इन्जिनियरिङ्ग र दुई वटा व्यवस्थापन कलेजलाई सम्बन्धन दिएको हो । यस्तै यस क्षेत्रका १० वटा क्याम्पसलाई आंगिक बनाउने प्रक्रिया पनि सुरु भएको छ ।
विश्वविद्यालयको कार्यकारी परिषद्ले भक्तपुरको नेपाल इन्जिनियरिङ्ग कलेज तथा काठमाडौंका प्रेसिडेन्सियल कलेज अफ बिजनेस र ग्लोबल कलेज इन्टरनेशनललाई सम्बन्धन दिएको छ । पाँच वटा कलेजले आवेदन दिएको भए पनि अयोग्य भएपछि बाँकी दुई वटा कलेजलाई भने सम्बन्धन नदिइएको विश्वविद्यालयले जनाएको छ । निजी कलेजलाई सम्बन्धन नदिन माग गर्दै विद्यार्थीले आन्दोलन जारी राखेका बेला कार्यकारी परिषद्ले गत साउन २९ गते सम्बन्धन दिने निर्णय गरिसकेको छ । यद्यपि यो सम्बन्धन अस्थायी भएकाले कलेजले शर्त पूरा नगरे जतिबेला पनि सम्बन्धन खोस्न सकिने विश्वविद्यालयले जनाएको छ ।
यस्तै अबको दुई साताभित्र मध्यपश्चिममा रहेका विभिन्न १० वटा क्याम्पसले आंगिकको मान्यता पाउने विश्वविद्यालयले जानकारी दिएको हो । अघिल्लो वर्ष जेठमा सम्पन्न विश्वविद्यालयको सिनेटले विभिन्न १८ वटा क्याम्पसलाई आंगिकको मान्यता दिने निर्णय गरेको थियो । तर बजेटको सीमाका कारण पहिलो चरणमा सुर्खेत, कालिकोट, रोल्पा, रुकुम, बर्दिया र कोहलपुरमा रहेका १० वटा क्याम्पसलाई आंगिक बनाउन लागिएको उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले जनाए । ‘विश्वविद्यालयको दायरा फराकिलो हुनुपर्छ, एउटै क्याम्पसमा मात्र खुम्चिएर कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ ?’ विश्वविद्यालयका उपकुलपति कोइरालाले भने, ‘हामीले सेवा क्षेत्र विस्तार गर्न थालेका छौं, सम्बन्धन दिने काम सुरु भइसक्यो । अब आंगिकको प्रक्रिया पनि अगाडि बढ्छ, अबको १५ दिनभित्र आंगिकको काम पनि हुन्छ ।’
विश्वविद्यालयको माग गर्दै मध्यपश्चिमबासीले करिब १५ वर्षसम्म निरन्तर संघर्ष गरेका थिए । आन्दोलनकै बलमा २०६७ असारमा स्थापना भएको यो विश्वविद्यालय बारम्बार आन्तरिक विवादमा फस्ने गरेको छ । विवादकै कारण वीरेन्द्रनगरमा मात्र सीमित भएको यो विश्वविद्यालय पछिल्लो समय विस्तारै वामे सर्न थालेको हो । यही क्रममा विश्वविद्यालयले पहिलो चरणमा मध्यपश्चिमका विभिन्न जिल्लामा रहेका १० वटा सामुदायिक क्याम्पसलाई आंगिक बनाउने प्रक्रिया अगाडि बढाएको छ । कोइरालाका अनुसार यी आंगिक बन्न लागेका क्याम्पसले अबको दुई हप्ताभित्रमा भौतिक पूर्वाधार निर्माणका लागि रकम प्राप्त गर्नेछन् । आंगिकका लागि आठ करोड बजेट विनियोजन भएको भन्दै उनले प्रति क्याम्पस ८० लाख रूपैयाँ उपलब्ध गराइने बताए । ‘केही दिनमा सूचना निकाल्दैछौं, अब कर्णालीमा पनि विश्वविद्यालयको पहुँच विस्तार हुनेछ । प्राविधिक शिक्षा पढाउने क्याम्पसलाई प्राथमिकता दिएका छौं, अब विश्वविद्यालयले विस्तारै आफ्नो आकार लिन थाल्यो ।’
सम्बन्धनको विरोध गरेर विश्वविद्यालयलाई यथास्थितिमा राख्न खोजिएको भन्दै कोइरालाले आवश्यकताका आधारमा थप कलेजलाई पनि सम्बन्धन दिइने उल्लेख गरे । ‘विभिन्न बहानामा असफल बनाउने षड्यन्त्र भए, तालाबन्दी र हड्तालले विश्वविद्यालय
नै थला प¥यो’ मंगलवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति कोइरालाले भने, ‘जनताले छाक कटाएर स्थापना गरेको विश्वविद्यालय हो, कसैले पनि व्यक्तिगत लाभ नहेरौं । अब विश्वविद्यालयको विकास र विस्तारलाई कसैले रोक्नै सक्दैन, हामी काम गरेरै छाड्छौं ।’ आंगिक क्याम्पसको विस्तारले यस क्षेत्रमा उच्च शिक्षा प्राप्त गर्न सहज हुने विश्वविद्यालयको दाबी छ । यस्तै निजी कलेजलाई दिइएको सम्बन्धनले विश्वविद्यालयलाई आर्थिक आय हुने र दक्ष जनशक्ति व्यवस्थापनमा पनि सहज हुने अपेक्षा विश्वविद्यालय पदाधिकारीहरूले गरेका छन् । निकट भविष्यमा नै पीएचडी पनि सुरु गर्ने तयारी भइरहेको विश्वविद्यालयले जानकारी दिएको छ ।

प्रकाशित मितिः   १४ भाद्र २०७४, बुधबार १५:०५