पहिरोले पुरिएर तीन जनाको मृत्यु

सुर्खेत, २९ साउन ।
पहिरोले घर बगाउँदा सुर्खेतमा तीन जनाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिकामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । अविरल वर्षापछि शनिवार राती आएको पहिरोले उनीहरूको ज्यान लिएको हो । पहिरोले घर बगाउँदा घरमा सुतिरहेका तीनै जनाको मृत्यु भएको छ ।


गुर्भाकोट नगरपालिकाका वडा नम्बर ६ स्थित सिन्दुरखोलामा बाढी आएपछि गाउँमा पहिरो गएको हो । पहिरोले घर बगाउँदा ८३ वर्षका गुमानसिं बुढा, १४ वर्षका विक्रम बुढा र १२ वर्षका शरण बुढाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ५५ वर्षीया दुर्पता बुढाको भने
जीवितै उदार गरिएको छ । उनको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार घर पूर्णरूपमा क्षति भएको छ ।
रत्न राजमार्ग अवरुद्ध
शनिवार रातीबाट परेको वर्षाले आइतवार दिनभर रत्न राजमार्ग अवरुद्ध हुन पुगेको थियो । राजमार्ग अवरुद्ध हुँदा सुर्खेत–नेपालगन्ज सवारी आवागमन ठप्प भए । सुर्खेत जोड्ने एकमात्र सडक रत्न राजमार्गको आधा दर्जन बढी ठाउँमा गएको पहिरोले सवारी आवागन आइतवार बिहानैदेखि अवरुद्ध भएको हो ।
राजमार्गको सत्तरी, पाँडुले, कालिदमार, सानो हर्रे, निकुञ्ज क्षेत्र भित्र ठाउँ–ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको डिभिजन सडक कार्यालय सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले जानकारी दिए । उनले आइतवार दिनभरको प्रयास पछि साँझ मात्रै केही मात्रामा पहिरो हटाउने कार्य सफल भएको बताए । करिब १८ घण्टा अवरुद्ध भएको रत्नराजमार्ग साँझ ६ बजेपछि मात्रै एकतर्फी रूपमा खुलेको हो । पहिरो पन्छ्याउन चार वटा डोजर खटिए पनि यो आइतवार साँझसम्म पहिरो पूर्णरूपमा हटाउन सकिएको छैन । छिन्चु–धुलियाविट सडक खण्डको पहिरो हटाउँदा समेत पुनः पहिरो झरेको छ ।
छिन्चु–हर्रे सडक खण्डको कालिदमारमा सडक भासिएको छ । सडक अवरुद्ध भएपछि सुर्खेतबाट नेपालगन्ज र नेपालगन्जबाट सुर्खेत, कर्णाली, जाजरकोट लगायतका जिल्ला यात्रुहरूको विचल्ली भएको छ । मध्यरातीसम्म पनि पहिरो हटाउने कार्य जारी रहने कार्यालयका प्रमुख भुजेलले जनाए । सोमवार बिहानसम्म पहिरो पूर्णरूपमा हटाएर सडक सुचारु गर्ने गरी काम भइरहेको उनले जनाए ।
विद्युत पनि अवरुद्ध
सुर्खेत र दैलेखको विद्युत सेवा शनिवार रातीबाट नै अवरुद्ध भएको छ । सुर्खेत–कोहलपुर ३३ केभिएस प्रशारण लाइनको बीचमा वर्षाले विद्युत तार र पोलमा क्षती पु¥याउँदा विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत नहुँदा सरकारी कार्यालहरूको काम प्रभावित भएको छ भने उद्योग धन्दा कलकारखानाको काम ठप्प प्रायः छ । सर्वसाधारणलाई सामान्य दैनिकीमा समस्या भएको छ ।
नेपाल विद्युत प्राधिकारण वितरण केन्द्र सुर्खेतका अनुसार विद्युत सेवा कुन ठाउँमा अवरुद्ध भएको भन्ने एकिन हुन नसक्दा समयमै मर्मत हुन सकेको छैन । नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण शाखाले समस्या कहाँबाट आएको हो भन्ने पत्ता लगाउनै सकेको छैन । ‘विद्युत कहाँ अवरुद्ध भएको हो हामीले थाहा पाउनै सकेका छैनौं’, केन्द्रका सुपरभाइजर विजेश रञ्जितले भने, ‘बिग्रेको ठाउँ पत्ता लागेपछि मर्मत गर्न सकिने थियो ।’ अवरुद्ध विद्युत सेवा सुचारु गर्न प्राधिकरणको टोली आइतवार बिहानैदेखि खटिएको उनले जानकारी दिए । यद्यपि रत्न राजमार्गको ठाउँ ठाउँमा गएको पहिरोले क्षति पुगेको स्थानमा पुग्न समस्या भएको छ । लगातारको भारी वर्षा र पहिरोका कारण मर्मत टोली पनि बीचमै अलपत्र परेको छ, सडक सुचारु भएपछि सबै पत्ता लागाएर विद्युत सुचारु गरिने उनले वताए ।
साथै अविरल वर्षाका कारण विद्युतीय संरचनामा क्षति पुगिको र थप क्षति पुग्नसक्ने भएकाले सचेत हुन प्राधिकरणले नागरिकलाई अनुरोध गरेको छ । क्षतिग्रस्त विद्युतीय संरचनाहरू पोल, ट्रान्सफर्ममर र तारको नजिक नजान कार्यालयले आग्रह गरेको हो । साथै कुनै पनि ठाउँमा विद्युतीय संरचनामा क्षति पुगेको देखेमा कार्यालयलाई खबर गरिदिन पनि अनुरोध गरिएको छ ।
त्यसैगरी झिङ्गनी खोलाले भेरीगंगा नगरपालिका–६ का करिब ३ रोपनी जग्गामा लागायको धान खेती पनि बगाएको छ । खोलाको बाहव बढिरहेकाले थप क्षति हुन नदिन सुरक्षा शतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलय सुर्खेतले सबैमा जानकारी गरेको छ । जिल्लाका अन्य क्षेत्रहरूमा पनि पहिरो गइरहेको छ । यद्यपि त्यसबाट कुनै क्षति भने भएको छैन । बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । १७ जना बेपत्ता भएका छन् । आइतवार साँझसम्म गृहमन्त्रालयको तथ्यांक अनुसार मुलुकभर ४९ जनाले ज्यान गुमाएका हुन् ।
सुनसरीमा आठ जनाको मृत्यु भएको छ भने रौतहटमा सात र मोरङमा पाँच जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार १३ जना घाइते भएका छन् । बाढी तथा पहिरोका कारण तीन सय पाँच घरमा क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मितिः   ३० श्रावण २०७४, सोमबार १६:१३