पढाउने बहानामा वर्षेनी ओसारिन्छन् बालबालिका
सुर्खेत, २१ साउन ।
गत असारमा कालिकोट रकुका डिल्ली विष्टले जिल्ला बालकल्याण समितिमा विशाल भण्डारीको खोजी गरिपाउँ भन्दै निवेदन दिए । १५ वर्षअघि बालकल्याण समितिबाट सिफारिस भएको र हाल जर्मनीमा भएकाले उनलाई नेपाल फर्काइदिन अनुरोध गर्दै निवेदन दिएका हुन् ।
तर विष्टले दिएको निवेदनका आधारमा कालिकोट बालकल्याण समितिमा विशाल भण्डारीलाई अध्ययनका लागि सिफारिस गरेको रकेर्ड नै देखिएन । विष्टका अनुसार केही महिनाअघि उनी आफू बस्ने काठमाडौंका घरभेटी जर्मनीमा जाँदा विशालसँग भेट भएको बताउँछन् । भेटमा विशालले आफ्नो घर कालिकोटको गेला भन्ने ठाउँमा भएको र जर्मन नागरिकले टुहुराको सिफारिसमा अध्ययन गर्न ल्याएको बताएका थिए । साथै उनले नेपालबाट पहल थालेर आफ्नै गाउँ फर्काइदिन आफन्तजनलाई खबर गर्नसमेत अनुरोध गरे ।
सोही भेटका आधारमा डिल्लीले महिला तथा बालबालिका कार्यालय कालिकोटमा निवेदन दिएका थिए । तर बालसंरक्षक अधिकृत धनबहादुर मल्लका अनुसार निवेदकले दिए अनुसारको कुनै पनि विशाल भण्डारीलाई कालिकोट बाल कल्याणले सिफारिस गरेको रेकर्ड भेटिएन । वि.सं. २०५९ सालमा जिल्ला बाल कल्याण कालिकोटबाट सिफारिस भइ केन्द्रीय बालकल्याण नक्सालको समन्वयमा विशाललाई जर्मन नागरिकले पालन पोषण गर्न भन्दै जर्मनी लगेको निवेदक विष्टको भनाइ छ । जर्मन लैजाँदा तीन वर्षीय विशाल हाल १८ वर्षका पुगेका छन् ।
जुम्ला मालिका बोताका रमेश बुढालाई सात महिनाअघि राजधानीकै अवैध बालगृहबाट उद्दार गरिएको थियो । गत कार्तिक २७ गते राजधानीको खुशीको खबर मिशन बालगृहबाट उद्दार गरिएका बुढालाई सात महिनापछि अभिभावकको जिम्मा लगाइएको थियो । सात वर्षअघि बुबाको मृत्यु र आमाले दोस्रो बिहे गरेर गएपछि काका जयबहादुरले पालनपोषणका लागि भन्दै गाविसको नक्कली सिफारिस बनाइ रमेशलाई राजधानीको बालगृहमा जिम्मा लगाएका थिए ।
विभिन्न प्रलोभनमा पारेर कर्णालीका जिल्लाबाट वर्षेनी सयौं बालबालिका ओसार–पसार हुँदै आएका छन् । आर्थिक अभाव र राजधानीमा पढाउन पाइने लोभका कारण बालबालिका गैरकानुनी तरिकाले ओसारपसार हुने गरेका हुन् । गत आर्थिक वर्षको तथ्यांकलाई मात्रै हेर्दा राजधानीकै बालगृहबाट मात्रै ४५ जना बालबालिका उद्दार गरी अभिभावकको जिम्मा लगाइएको छ । त्यसमध्ये केही आमा वा बाबुमध्ये एक भएको र केही राजधानीका महँगा स्कुलमा छोराछोरी पढाउने लोभमा सिफारिस विना नै लगिएको पाइएको महिला तथा बालबालिका कार्यालय जुम्लाले जनाएको छ । जसमध्ये सबैभन्दा बढी कालिकोटका रहेका छन् । गएको आर्थिक वर्षमा मात्रै डेढ सयभन्दा बढी टुहुरा बालबालिका सिफारिस लागि निवेदन आएको मल्लको भनाइ छ ।
कालिकोटबाट मात्रै गत आर्थिक वर्षमा २७ जना बालबालिका उद्दार गरी परिवारसँग पुनर्मिलन गराइएको छ । ती सबै गैरकानुनी तरिकाले राजधानीका अवैध बालगृहमा श्रम गरेर बसिरहेको अवस्थाबाट उद्दार गरी अभिभावकको जिम्मेवारीमा लगाइएको कालिकोटका बालसंरक्षण अधिकृत धनबहादुर मल्लले बताए । मुगुको अवस्था पनि त्यस्तै छ । हिमाली नविन समाज काठमाडौंको सहकार्यमा भएको उद्दारबाट फर्काइएका बालबालिकाको संख्या मुगुमा मात्रै १५ रहेको छ । उद्दार गरेर भेटिएका मात्रै त्यतिरहेका छन् भने केहीलाई बाटोबाटै उद्दार गरी फर्काइएको थियो । महिला तथा बालबालिका कार्यालय मुगुका अनुसार आर्थिक अभाव भएकालाई पढाउने नाममा अवैध रूपमा बालबालिका तस्करी हुने गरेको छ ।
यस्तै डोल्पामा भने बौद्ध धर्म मान्ने बालबालिकाहरू अध्ययनका लागि आश्रममा जाने गरेका छन् । २८ जना बालबालिका राजधानी लैजाँदै गर्दा क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले रोकेको थियो । तर केन्द्रीय बालकल्याणको निर्देशनपछि राजधानी लगियो । ती बालबालिकाहरू हाल कहाँ छन् भन्ने जिल्ला बालकल्याणलाई कुनै जानकारी नै छैन । यस्तै, हुम्लामा गत आर्थिक वर्षमा एक जना बालक फर्काइएको बताइएको छ । यसरी अनुगमनका क्रममा बालबालिका भेटिएमा उद्दार गरी ल्याइन्छ भने, अझैं सयौंको संख्यामा बालबालिका राजधानीका गैरकानुनी बालगृहमा श्रमिकको रूपमा काम गरिरहेको हुनसक्ने हिमाली नविन समाजले जनाएको छ । बालबालिकाको उद्दार गरी पुनस्र्थापनामा सहयोग गर्दै आएका हिमाली नविन समाजका वरिष्ठ पुनर्मिलन अधिकृत सुरेन्द्र लामाले कर्णालीबाट प्रत्येक वर्ष सयौंको संख्यामा बालबालिका राजधानीका अवैध बालगृहमा लिने गरिएको बताए ।
‘कानुनी रूपमा बालबालिका लिने तथ्यांक न्यून देखिए पनि गैरकानुनी रूपमा बालबालिका ओसार पसार भयावह बन्दै गएको छ,’ उनले भने । द्वन्द्वकालीन समयमा अझै कति बालबालिका लिएर कहाँ हराए कसैलाई जानकारी नभएको उनको भनाइ छ । गरिबीको फाइदा उठाउँदै दलालहरूले बालगृह सञ्चालन गरेको र समाज सेवाको नाममा डलर भजाउनेसमेत काम गरिरहेको आरोप लगाए । साथै उनले एक पटक सबै बालगृहमा अनुगमन कडाइका रूपमा हेर्दा अझै पनि गैरकानुनी तरिकाले बालबालिका राखिएको भेटिनसक्ने बताए ।
साझा बिसौनी ।