विकटता मात्र छैन चिङ्काडमा

सुर्खेतको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चिङ्गाड गाउँपालिका साविकका मटेला, अवलचिङ्ग, रानीबास, रजेना र पाम्का गरी पाँच गाविस मिलाएर बनाइएको हो । पूर्वमा सिम्ता गाउँपालिका, पश्चिममा दैलेखको गुराँस गाउँपालिका, दक्षिणमा लेकबेसी नगरपालिका, उत्तर–पूर्वमा जाजरकोटको शिवालय गाउँपालिका र दक्षिण–पश्चिममा वीरेन्द्रनगर नगरपालिका रहेको यो गाउँपालिका सुर्खेतको सबैभन्दा सानो स्थानीय तह पनि हो । जसमा ६ वटा वडा मात्र रहेका छन् । प्राकृतिक वातावरण र हावापानीका दृष्टिले एकदमै राम्रो र उपयुक्त मानिन्छ । भू–वनौटको हिसाबले सुर्खेतकै अत्यन्त विकट छ । यहाँ ठूल्ठूला भीरपाखा र प्रशस्त छाँगा छहराहरू छन् । भौगोलिक विकटताको कारण अझै पनि सबै ठाउँमा सडक बाटो पुगेको छैन । पुगेका ठाउँमा पनि एकदमै अवस्था दयनीय अवस्था छ । कच्ची बाटोकै कारण बाह्रैमास गाडी चल्ने अवस्था छैन । वर्षामा बाटो ठप्प हुन्छ ।

चिङ्गाडको कुनै पनि क्षेत्रमा विद्युत पुगेको छैन । शिक्षा स्वास्थमा पनि एकदमै कम पहुँच छ । जनताहरू अझै पुरातन रुढिवादी विचारधारामा गुम्सिएका छन् । जनचेतनाको कमीको कारण थुप्रै सामाजिक कुरितिहरू व्याप्त छन् । सुर्खेत जिल्ला भन्ने बित्तिकै सुगम क्षेत्रको रूपमा चिनिन्छ । तर यहाँको हरेक सूचकहरू केलाएर हेर्ने हो भने कसै गरेर पनि यसलाई सुगम क्षेत्र मान्न सकिन्न । तर पुनर्संरचना गर्दा भौगोलिकता मिलाउनकै लागि भए पनि यसलाई सुर्खेतमै समेटिएको होला सायद । नत्र त्यहाँका अधिकांश वडालाई दुर्गम क्षेत्र यानी जाजरकोटतिर नै राख्दा न्याय हुन्थ्यो होला । यहाँ राजनीति एकदमै अस्वच्छ र भ्रष्ट प्रकृतिको छ । हरेक ठाउँमा राजनीतिक हाबी छ । खादा बस्दादेखि लिएर नोकरी चाकरी सबैतिर यसको प्रभाव छ । हरेक पार्टी आफ्नो आधिपात्य जमाउन चाहन्छन् जसको परिणाम यो क्षेत्र पछाडि पर्नु र विकटको विकटै रहनु हो । यो भयावह स्थितिले जोकसै चिङ्गाडबासीको पनि मन दुख्नु स्वभाविक नै हो ।
हामी झण्डै हरेक कुराको नराम्रो पक्षमात्र खोज्ने बानी परी नै सकेका छौं भन्दा हुन्छ । राम्रो पक्षलाई स्वीकार्न हाम्रो स्वाभिमानले मान्दैन । चिङ्गाडको भौगिलिक विकटता त छँदैछ । त्यसलाई हामी चाहेर पनि परिवर्तन गर्न सक्दैनौं । तर यहाँको विकासका निम्ती त केही गर्न सकौंला नि । यहाँ विकटता मात्र छैन अन्य थुप्रै सम्भावना पनि छन् । तर हामी आफ्नो अगाडिको हिरा चिन्न खोज्दैनौं बरु सुनको खोजीमा दूरदराजसम्म पुग्न पनि चुक्दैनौं । प्रकृतिले हामीलाई विकटता त दियो नै त्योभन्दा पनि प्राकृतिक सुन्दरता नि दिएर हामीमाथी ठूलो गुण लगाएको छ । तर हामी भने एउटै कुरो भौगोलिक विकटतालाई लिएर हरहमेसा प्रकृतिलाई सराप्नमै समय खर्चिरहेछौं ।
सुविधाको उपलब्धताको हिसाबले चिङ्गाड विकट भए पनि यहाँ प्रशस्त मात्रामा डाँडाकाँडा, टापुटाकुरा, छाँगाछहरा र झरनाहरू तथा अन्य थुप्रै प्राकृतिक सम्पदाहरू छन् । हामीले तिनको विवेकपूर्ण ढङ्गले प्रयोग गर्नसक्यौं भने आर्थिक रूपमा सबल बन्न सकिने प्रशस्त सम्भावना तथा अवसरहरू छन् । यहाँको एउटा महŒवको क्षेत्रको रूपमा मालिकालाई पनि लिने गरिन्छ । यो सुर्खेत दैलेख र जाजरकोट जिल्ला जोड्ने त्रिवेणीको रूपमा पनि चिनिन्छ । सुर्खेतकै अग्ला चुचुरामध्ये यो पनि एक हो । यहाँबाट दैलेख, सुर्खेत, बाँके, बर्दिया लगायत थुप्रै ठाउँको अवलोकन गर्न सकिन्छ । सो चुचुरोमा मालिका बज्यैको मन्दिर पनि निर्माण गरिएको छ । हरेक वर्ष जनैपूर्णिमाको दिन त्यहाँ गएर वर माग्दा आँटेको पूरा हुने जनमानसमा विश्वास छ । त्यसैले त्यसदिन चिङ्गाड लगायत दैलेखको गुराँस गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिका विभिन्न ठाउँबाट दर्शनार्थीहरू दर्शन गर्न जाने गर्छन् । यसलाई अझ व्यवस्थित फर्न सके यो एउटा पर्यटकीय तथा धार्मिकस्थलको रूपमा विकसित गर्न सकिने प्रशस्त सम्भावना छ । सायद त्यो क्षेत्र भरतमा हुन्थ्यो त उसले केके बनाइसक्थ्यो होला ।
एकपटक म भारतको गुजरात भ्रमणमा गएको थिएँ । सुरेन्द्रनगर जिल्लाको चोटिला नगरपालिकामा यस्तै एउटा डाँडोमा अवस्थित चामुण्डा माताजी मन्दिरमा दर्शन गर्न जाँदा मैले मालिका बज्यै मन्दिरलाई नि सम्झन बाध्य भएको थिएँ । चोटिला मन्दिर भएको क्षेत्र उच्च टापुमै भए पनि मालिका जति अग्लो त छँदै छैन । तर पनि माथी टापुमा मन्दिर बनाएको ठाउँसम्म जान नौ सय ९९ वटा सिँडी निर्माण गरिएको छ । दिनहुँ विभिन्न ठाउँबाट आउने हजारौं दर्शनार्थीको भिडभाड हुन्छ त्यहाँ । तर मालिका ? किन सकेनौं हामीले मालिकालाई त्यस्तो बनाउन ? के हामीमा त्यो सामथ्र्य छैन ? पक्कै पनि छ । तर हामीमा त्यसो गर्ने इच्छाशक्ति छैन भन्दा अनुचित नहोला । यदि हामीले पनि मालिकाको चुचुरोमा व्यवस्थित मन्दिर बनाई तलदेखि त्यहाँसम्म सिँडी निर्माण गर्नसके एक हजारभन्दा बढी नै सिँडी बन्नेछन् । अझै त्यहीं टोपमा भ्युटावर निर्माण गर्न सके अवलोकन क्षेत्र बनाउन सकिछ । यदि हामीले त्यसो गर्नसके मालिका चिङ्गाडको मात्र हैन यो क्षेत्रकै गहना बनाउन सकिन्थ्यो । अर्को यहीं मालिकाको तलतिर उत्तरगंगा नदी छ । त्यो नदी उत्तरतिर बग्ने हुँदा यसलाई उत्तरगंगा भनिएको होला सायद । यसलाई पनि सबैतिर चिनाउन सके गतिलो पर्यटकीय गन्तव्य बन्नसक्छ । अर्को रह्यो गुराँसे झरना । गुराँसे पनि एकदमै सुन्दर र रमणीय क्षेत्र छ । यहाँ बाह्रैमास पानी बगिरहन्छ । यसको मूल उत्तरगंगा नदी लगायत अन्य थुप्रै खोला खोस्टाहरू छन् । यहाँ वर्षा याममा एक्दमै ठूलो छहरा पर्ने हुँदा नजिक जान सक्ने अवस्था हुन्न । तर हिउँद याममा छहरा पर्नेदेखि भित्रबाट पनि वारपार गर्न सकिन्छ । यो झरना चिङ्गाड खोलाको मूल पनि हो । छहरा पर्ने ठाउँमा त हिउँदमा पनि ठूलै पानी हुन्छ । तर तल आउँदा पानी छिरेकोले केही सानो हुनेगर्छ । त्यहाँको पानी छिरेर रामघाट निस्किने भन्ने पनि कसैको दाबी छ । तर सत्यतथ्य भने पत्ता लागि सजेको छैन । यसबाट विद्युत उत्पादन गर्नसके चिङ्गाडका केही क्षेत्रमा विद्युत आपूर्ति गर्न सकिने सम्भावना छ । तर यतातिर कसैको चासो देखिदैन ।
यसै क्षेत्रको पुछारमा अवलचिङ्ग, रजेना, पाम्काको तलतिर फलामखानी तामाकानी पत्ता लागेको भए पनि त्यसको उचित उत्खनन् हुन सकेको छैन । यस क्षेत्रको प्रायः सबैतिर प्रशस्त मात्रामा वनजंगल भएकोले पशुपालन र कृषिको थुप्रै सम्भावना रहेको छ । तर यतातिर सरकारी तथा गैरसरकारी निकाय र जनस्तरबाट उचित पहल नचालिनुले यहाँको आर्थिक अवस्था दयनीय छ । जनस्तरमा गरिबी बेरोजगारी व्याप्त छ । अधिकांश जनताले रातदिन काम गरेर पनि वर्षभरीमा रोजिरोटी पु¥याउन धौ–धौ पर्छ ।
अन्तमा, हामी भौगोलिक विकटताले त पिछाडि परेका छौं फेरि पनि आर्थिक र सामाजिक विकटता सिर्जना गरेर आर्थिक सामाजिक रूपमा पनि पछाडी पर्ने अर्को गल्ती नगरौं । लागि यहाँ पर्यटन प्रबद्र्धन र कृषि तथा पशुपालनका लागि पकेट क्षेत्र घोषाणा गरी सरकारी तथा गैरसरकारी क्षेत्र र जनस्तरबाट उचित पहल कदम चालिनु आवश्यक छ । यहाँको अर्को समस्या भनेको सडक बाटो र बजारीकरण पनि हो । उचित बजार व्यवस्थापन र सडक बाटो निर्माण गरिदिए मात्र पनि कृषि तथा पशुपालनबाट मनग्य लाभ लिनसक्ने देखिन्छ । आशा छ नवनिर्वाचित जनप्रतिनिधि सँगसँगै अन्य सरोकारवाला निकायको पनि यतातिर चासो जानेछ । अब समृद्ध चिङ्गाड बनाउने जिम्मेवारी हाम्रो काँधमा आजको छ ।

(लेखक चिङ्गाड–४ मटेला निवासी हुन् ।)

प्रकाशित मितिः   २२ श्रावण २०७४, आईतवार १५:५३