‘पहिला मागें, त्यसपछि भगाएँ’
रथ चल्नलाई दुई पांग्राको आवश्यकता हुन्छ । एक पांग्राले मात्र रथ चलाउन सम्भव हुँदैन । त्यस्तै हो मान्छेको जीवन पनि । हरेक मान्छेलाई एक्लै जीवन बिताउन गाह्रो हुन्छ । जीवनको रथ सहज रूपमा चलाउनलाई अर्जुनप्रसाद सुवेदीलाई पनि जीवनसाथीको अभाव खट्किरहेको थियो । जागिरको शिलशिलामा उनी बर्दिया पुगेको समयमा आफन्त भाई पर्नेसँग उनको भेट भयो । विवाह गर्ने उमेर भयो केटी चाहिएको कुरा गर्दा उनै भाईकै चिनजान आफन्तकोमा केटी हेर्न गए ।
सुवेदीलाई अलि–अलि डर पनि थियो पहिलो पटक केटी हेर्न गएका थिए त्यो पनि परिवार विना एक्लै । सलक्क मिलेको जिउडाल, गोरी वर्णकी केटी देखेपछि सुवेदीलाई केटी एकै नजरमा मनप¥यो । केटीको बानी व्यवहारप्रति सुवेदीको ध्यान गएन । उनी हेर्न गएको युवती सुमनको रूप देखेरै सुवेदीले मन पराए ।
उनी बबई सिँचाइ आयोजना बर्दियामा काम गर्थे । जागिरको शिलशिलामा बर्दिया पुगेका सुवेदीको जीवनले नयाँ मोडमा जाला भन्ने सोचेकै थिएनन् । उनी भन्छन्, ‘भाग्यमा लेखेको हुँदो रै’छ देखेको नहुने रै’छ ।’ सुमन त्यतिबेला कक्षा १० मा पढ्दै थिइन् । घरमा आफूलाई हेर्न केटा आएको छ भन्ने सुनेर उनी कोठाभित्र लुक्न गएकी थिइन् । उनले सोचेकी थिइन्, केटा हेर्न मात्र आएको हो बिहे कै कुरा त गर्दैन होला । तर, सुवेदीले उनलाई एकै नजरमा मन पराए अनि बिहेकै कुरा चलाए । सुमनको बुबा इन्डियन आर्मी भएका कारण बिहे भने उनको बुबा आएपछि हुने पक्का भयो ।
सुवेदी र सुमनबीचमा भेटेर कुरा भने भएको थिएन । बिहेको कुरा पक्का भएपछि सुवेदीलाई सुमनको मायाले झन् तान्न थालेको थियो । सुवेदीलाई अब सुमनसँग भेट्न नगए कस्तो–कस्तो हुन थालेको थियो । उनी लुकी–लुकी सुमनलाई भेट्न जाने गर्थे । सुमनलाई भेट्न जानको लागि सुवेदी १५ किलो मिटरको दूरीमा साइकल चलाएर जाने गर्थे । विवाहको कुरा छिनेपछि भने सुवेदी र सुमन एकआपसमा भेट्ने र कुराकानी क्रम बाक्लिदै थियो । सुमनको बुबालाई बिदा लिएर घर आउन केही समय लाग्ने भएको हुँदा उनीहरूको बिहेपछि सरेको थियो । अहिले विवाह नगरेपछि लगन छैन रे भन्दै सुवेदीले सुमनलाई फकाउँथे । तर, सुमन भने बुबाको प्रतिक्षामा थिइन् । दुवै जना एकआपसमा भेट्दा सधैं विवाहको कुरा नै हुने गथ्र्यो । सुमन सधैं भन्थिन् विवाह बुबा आएपछि नै गर्नुपर्छ । तर, सुवेदीले भने भागेर विवाह गर्नका लागि फकाइ रहन्थे । अन्त्यमा सुवेदीको मायाले जित्यो । सुमनलाई सुवेदीले भागेर विवाह गर्नका लागि मनाएरै छोडे । दुवै जनाको घरपरिवारको सहमती थियो विवाह गर्नलाई तर पनि उनीहरूले विवाहको लागि कुर्न सकेनन् । अनि उनीहरूले २०५२ सालमा भागी विवाह गरे ।
पिता वेदप्रसाद सुवेदी र माता पदमकला सुवेदीको कोखबाट २०२० सालमा गाग्रेताल सुर्खेतमा जन्मिएका अर्जुनप्रसाद सुवेदीको बाल्यकाल पढाइ र खेलकुदमा बित्यो । उनी बाल्यकालमा पढाइ बाहेक खेलकुदमा औधी रुची राख्थे । सहयोगी भावनाका सुवेदी बाल्यकाकलदेखि नै सामाजिक सेवामा लाग्नुपर्छ भन्ने स्वभावका थिए । उनले प्राविसम्मको शिक्षा गाग्रेतालको विद्यालयमा पढे । त्यसपछि अमर ज्योति माविमा पढेका सुवेदीले बीचमै पढाइलाई रोकेर व्यापारतिर लागे । उनका बुबाले पहिलादेखि नै बजारमा खाद्य पसल राखेको कारण पनि सुवेदीलाई व्यापारमा लाग्नुपर्छ भन्ने प्रेरणा मिल्यो ।
भारतको कलकत्तामा २०३० सालमा जन्मिएकी सुमनको बाल्यकाल केही भारतमा केही पर्वतमा बित्यो । उनको बुबा इन्डियन आर्मी भएका कारण उनी भारतमा जन्मिएकी थिइन् । सुमनका परिवार पर्वतबाट बसाइँ सरेर बर्दिया आएका थिए । कक्षा तीनसम्म पर्वतमा पढेकी सुमनले कक्षा चारदेखि भने बर्दियामा पढिन् । कक्षा १० सम्म मात्र पढेकी सुमनको बाल्यकाल रमाइलोसँग बित्यो । बाल्यकालमा उनी शान्त, अलि–अलि लजालु स्वभावकी थिइन् ।
२२ वर्ष थिइन् विवाह गर्दा सुमन । सुवेदीले सुमनलाई बर्दियाबाट भगाएर सुर्खेत आउँदा नेपालगन्जसम्म कपास बोक्ने बसमा आए । त्यस समयमा अहिलेको जस्तो बसहरू नपाइने हुँदा त्यो रात नेपालगन्जमा नै बसे । भोलिपल्ट विहानै उनी सुमनलाई लिएर सुर्खेत आए । सुमनलाई भगाएर ल्याएका कारण उनलाई डर पनि लागेको थियो । सुमनलाई भने सुर्खेतको ठाउँ नौलो थियो । त्यसअघि उनी सुर्खेत आएकी थिइनन् । तराईमा बसेको हुर्केको भएकाले उनलाई बाटोमा आउँदा डाँडाकाँडा देख्दा अचम्म लागेको थियो । उनले मनमनै कल्पना पनि गरिन् । सुर्खेत पनि पहाड नै होला भन्ने । तर, उनले सोचे भन्दा धेरै फरक पाइन् । उनलाई सुर्खेत मनप¥यो ।
सुमनको बाबुआमाको मागेर छोरीको विवाह गरिदिउँला भन्ने सपना सबै चक्नाचुर भयो । मागेर दिने भनेको केटाले छोरी भगाउँदा सुरुमा त उनीहरू धेरै रिसाए । हरेक बाबुआमाको सपना हुन्छ आफ्नो छोरा छोरीको राम्रो कुल घरानको घरमा विवाह होस् भन्ने । सुमनका बाबुआमाले पनि छोरीलाई मागेर नै विवाह गरिदिने कुरा पक्का गर्दागर्दै पनि छोरी भागेर विवाह गरेको सुन्दा सुमनको बाबुआमालाई मात्र होइन सबैका बाबुआमालाई रिस उठ्नु स्वभाविकै हो ।
विवाहपछि सुमनलाई घरमा सासु ससुराको मायाले बुबा आमाको माया बिर्सायो । सबैको माया ममताले सुमनलाई माइतीको झझल्को मेटायो । विवाहअघि छोरी हुनु र विवाहपछि बुहारी हुनुमा धेरै फरक छ । छोरी हुँदा स्वतन्त्र रूपमा हिँड्न पाइन्छ तर, विवाहपछि बुहारी भएर अरुको कुरा मान्नुपर्छ । जुनसुकै काम गर्दा पनि अरुको अनुमति लिएर गर्नुपर्ने, सानादेखि ठूलालाई आदार सम्मान गर्नुपर्ने हुन्छ । तर, सुमनले यस्ता कुनै कुराको अनुभन गर्न पाइनन् ।
विवाह भएको केही समयपछि नै उनीहरूले होटल व्यवसाय सुरु गरे । काममा व्यस्त हुने भएकाले सुमनलाई बुहारी हुँदाको अनुभव कस्तो हुन्छ थाहा नै भएन । श्रीमान् श्रीमती भएपछि एकआपसमा झगडा हुनु भनेको सामान्य कुरा मान्छन् यो जोडी । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमतीको झगडा परालको आगो जस्तै हो जति दन्किए पनि एकै छिनमा निभि हाल्ने ।’ सुवेदी समाज सेवामा धेरै लाग्ने भएकाले उनी घरको काम भन्दा बढी बाहिरको काममा व्यस्त हुन्छन् । सुमनलाई कहिले काहीं ठूलै कार्यक्रममा खाना, खाजाको अडर आयो भने सघाउने पनि गर्छन् । सुवेदी अहिले वीरेन्द्रनगर वडा नम्बर ११ को वडा सदस्यमा निवार्चित भएका छन् । धेरै जसो समय उनी घरमा भन्दा वडा कार्यालयमा नै हुन्छन् । त्यति मात्र होइन उनी लोक दोहोरी गीत प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षसमेत छन् ।
समय र फुर्सद भएसम्म यो जोडी घुम्न पनि जाने गर्छन् । एकअर्काेको जन्मदिन र विवाह वर्ष आउँदा उनका छोरीहरूले नै मनाइ दिने गर्छन् । तीन छोरीको साथमा आफ्नो जन्म दिन र विवाह वर्ष मनाउने गर्छन् ।
यो जोडीले एकअर्काेको बानी व्यवहारका बारेमा भने खुलेर बोले । सुवेदीलाई सुमनको सहनशीलता बानी एकदमै मनपर्ने गर्छ । सुवेदीले सुमनको हटाउनु पर्ने नराम्रो बानी भने अहिलेसम्म भेटाएका छैनन् । त्यस्तै सुमनलाई पनि सुवेदीको सबै बानी मनपर्ने गर्छ । उनीहरूका अनुसार जीवन भनेको कसैका लागि हो । कसैका लागि नै संघर्ष गर्दैमा जीवन जाने गर्छ । उनीहरू भन्छन्, ‘जीवन साथी भनेको फरक संस्कार फरक रितिरिवाजबाट आएर मृत्यु सम्म साथ दिने साथी हुन् ।’
साझा बिसौनी ।