‘एक घर, एक महिला रोजगार’
सुर्खेत, १४ साउन ।
वीरेन्द्रनगर नगरपालिकाले ‘एक घर, एक महिला रोजगार’ नीति कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले निर्धारण गरेको क्षेत्रगत नीति अन्तर्गत सामाजिक क्षेत्रमा प्रत्येक एक घरमा एक महिलालाई अनिवार्य रोजगार बनाउने योजना अघि सारेको हो ।
उक्त नीति अन्तर्गत महिलालाई उत्पादनमा जोड्ने योजना नगरपालिकाले बनाएको छ । महिलाहरूलाई नै उद्यमशील तथा आत्मनिर्भर बनाउन यस्तो नीति अवलम्बन गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । उक्त नीतिको मूल मर्म महिलालाई व्यवसायिक सीप प्रदान गर्दै क्षमता विकासमा जोड दिनु भएको ढकालले जनाइन् । ‘एक घर, एक महिला रोजगार’ नीतिलाई कार्यान्वयनका लागि अवलम्बन गर्दै महिलालाई उत्पादनका क्षेत्रमा जोड्न योजनाबद्ध रूपमा व्यवसायिक सीप विकास तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ’ वीरेन्द्रनगर नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यो नीति महिलाहरूका लागि मात्र नभएर यसले समग्रमा सामाजिक विकासमा महŒवपूर्ण सघाउ पु¥याउने ढकालले बताइन् ।
नगरपालिकाले यस्तो नीति सार्वजनिक गरेपछि यहाँका महिलाहरूले पनि खुशी व्यक्त गरेका छन् । नीति राम्रो भएको भन्दै उनीहरूले यसको कार्यान्वयनमा जोड दिएका छन् । ‘नीति राम्रो छ’ नेकपा माओवादी केन्द्र सुर्खेतकी नेतृ हरिमाया शर्माले भनिन्, ‘नीति बनाएर मात्र हुँदैन यसको व्यवहारिक रूपमा कार्यान्वयन गर्नु प्रमुख कुरा हो ।’ उनले बेरोजगार महिलाहरूलाई रोजगारी दिलाउने कुरा राम्रो भएको बताइन् । नगरपालिकाको उक्त नीति कार्यान्वयनका लागि सबैभन्दा पहिला महिलाहरूको क्षमता, सीप र दक्षताको पहिचान गर्नुपर्ने र उनीहरूको आवश्यकतालाई ध्यान दिएर सीप विकास तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव शर्माको छ । वीरेन्द्रनगर नगरपालिकाभित्र थुप्रै सिमान्तकृत महिलाहरू रहेको भन्दै शर्माले यस्तो नीति कार्यान्वयनमा ती महिलाहरूलाई प्राथमिकता दिन आग्रह गरिन् ।
महिलाहरूलाई आर्थिक रूपमा सक्षम र सबल बनाउन सके लैंगिक समानता कायम हुन मद्दत पुग्ने महिला अधिकारकर्मीहरू बताउँछन् । यसका लागि पनि महिलाहरूलाई स्वरोजगार बनाउनुपर्ने उनीहरूको तर्क छ । आर्थिक रूपमा कमजोर भएकै कारण महिलाहरूले विभिन्न खालका हिंसा खेप्नुपरेको भन्दै उनीहरू महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन वीरेन्द्रनगर नगरपालिकाले लिएको ‘एक घर, एक महिला रोजगार’को नीति उपयुक्त भएको बताउँछन् । महिला अधिकारकर्मी एवम् आवाज संस्था सुर्खेतकी कार्यक्रम संयोजक पवित्रा शाहीले उक्त नीति कार्यान्वयन भएमा महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सघाउने बताउँछिन् । ‘नीति राम्रो छ, यसले महिलाहरूको आर्थिक क्षमता विकास गराउन मद्दत पु¥याउँछ’ शाहीले साझा बिसौनीसँग भनिन्, ‘तर नगरपालिकाले नीतिलाई नीतिकै रूपमा मात्र सीमित नराखी कार्यान्वयन गर्न जरुरी छ ।’
यसअघि पनि सीप विकासका नाममा सरकारी तथा गैरसरकारी निकायबाट थुप्रै
बजेट खर्च भइसकेको छ । तर सीप विकासका नाममा अपूर्ण तालिम दिएर बजेट सक्ने गरेको गुनासो पनि सुनिने गरेको छ । त्यसैले अब भने वीरेन्द्रनगर नगरपालिकाले व्यवसायमुखी सीप दिनुपर्ने धारणा राख्छिन् शाही । उनले महिलाहरूलाई व्यवसायमुखी सीप सिकाउनका साथै उनीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणका लागि पनि नीतिगत निर्णय स्थानीय सरकारले गर्नुपर्ने बताइन् । वीरेन्द्रनगरमा सीप भएर पनि स्वरोजगार हुन नसकेका महिलाहरू पनि रहेको भन्दै शाहीले त्यस्ता महिलाहरूलाई व्यवसायमा स्थापित गर्ने नीति पनि नगरपालिकाले अवलम्बन गर्नुपर्ने सुझाव दिइन् । ‘कतिपय महिलाहरू सीप नभएर बेरोजगार छन् भने कतिपय महिला सीप भएर पनि स्वरोजगार हुन सकिरहेका छैनन्’ शाहीले भनिन्, ‘यस्ता महिलाहरूको पहिचान गरेर कुन महिलालाई के आवश्यकता छ त्यही प्रदान गर्नुपर्दछ ।’
नगरपालिकाले ‘एक घर, एक महिला रोजगार’ नीतिसँगै महिलाहरूको आर्थिक, शैक्षिक, सामाजिक विकास लगायत समग्र सशक्तीकरणको पक्षलाई अगाडि बढाउन विशेष कार्यक्रम सञ्चालन गर्नेसमेत जनाएको छ । यस्तै महिला शिक्षामा जोड दिदैं निजामती सेवामा महिलाको पहुँच वृद्धि गर्नका लागि लोकसेवा आयोगका कक्षाहरू सञ्चालन गर्ने, महिला विशेषज्ञ अस्पतालको स्थापना गर्ने लगायतका नीति तथा कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाले प्रथम नगरसभामार्फत् पारित गरिसकेको छ । नगरपालिकाको त्रिवर्षीय आवधिक योजनामा महिलाद्वारा सञ्चालित र स्थानीय कच्चा पदार्थमा आधारित व्यापार एवम् व्यवसाय र उद्यमको करमा २० प्रतिशत छुट दिने नीतिसमेत अवलम्बन गरिने जनाएको छ ।
साझा बिसौनी ।