पहिलो भेटमै विवाह प्रस्ताव

१९ वर्षको अल्लारे उमेर थियो । साथीहरूको लहैलहिमा लागेर घरबाट विहे गर्छु भन्दै निस्किएको मान्छे । घरको सहमति भने थिएन । जबरजस्ती घरबाट विहे नै गर्छु भन्दै निस्किए टेकेन्द्र महतरा । पुषको महिना थियो । उनले पहिला केटी हेरेका भने थिएनन् । घरबाट बिहे गर्ने उमेर भएको छैन भन्दा पनि उनी कसैको कुरा नसुनेर साथीहरूसँग घरबाट निस्किए ।

उनी काठमाडौंमा बीएड पढ्दै थिए । विवाहका लागि केटी हेर्न भनेर दैलेखको बेलपाटातिर लागे । उनले पहिला केटी हेरेर पछि विहे गर्न भने गएका होइनन् । उनले कुनै केटी हेरेका थिएनन् । तर, पनि जसरी हुन्छ विहे गरेर फर्केन सोचले घरबाट निस्किएका थिए । उनी बाल्यकालदेखि नै जे काम गर्छु भन्थे त्यो काम गरेर देखाउँथे । झुट कहिल्यै बोल्दैनथे । तर, यस पटक भने घरमा छोराले विवाह गरेर ल्याउन सक्दैन झुट बोल्यो भन्ने ठानेका थिए ।
महतरा बेलपाटाको स्कुलमा पुगे केटी हेर्न । त्यो स्कुलमा सयौं केटीहरू थिए । उनको नजर भने एउटी युवतीमा पर्न गयो । के देखेर उनले ती युवतीलाई एकै नजरमा मन पराए उनलाई नै पत्तो भएन । उनी भन्छन्, ‘सयौं युवतीहरू थिए उनमा नै गएर नजर रोकियो किन मलाई नै थाहा भएन ।’ गहुँ गोरो वर्णकी ती युवतीमा के थियो जुन टेकेन्द्रलाई एकै नजरमा तान्यो टेकेन्द्र अहिले पनि पत्तो लगाउन सकेका छैनन् । उनी भन्छन्, ‘खै उनमा के थियो त्यस्तो अझै थाहा पाएको छैन । भगवानले जुराएको र लेखेको पाइन्छ भन्थे मेरो भाग्यमा उनी लेखेर नै उनी मलाई मन परेको होला ।’
उनले एक नजरमा मन पराएको युवती अरु कोही नभएर गीता तिमिल्सेना थिइन् । उनी त्यति बेला कक्षा दशमा पढ्दै थिइन् । टेकेन्द्रले उनीसँग परिचय गरे । महतरा नयाँ साथी बनाउन अघि सरिहाल्थे । गीतासँग पनि उनी छोटो समयमा नै घुलमिल भए । एक–दुई घण्टा कुरा गरेलगत्तै उनले गीतालाई मन पराएको कुरा उनलाई राखे । तत्कालै विवाहको लागि समेत प्रस्ताव गरे । उक्त प्रस्ताव सुनेर सुरुमा त गीता अलमलमा परिन् । टेकेन्द्रका साथीहरूले पनि गीतालाई सम्झाए । टेकेन्द्र पढेलेखेका थिए । उनी पढाइमा अब्बल थिए । कक्षामा सधैं प्रथम हुन्थे । साथीभाइको सुझावपछि गीतालाई पनि टेकेन्द्र आफ्नो लागि उपयुक्त लाग्यो । उनले सोचिन् ‘यतिको पढेको केटा भएपछि जिन्दगी राम्रोसँग नै चल्छ ।’ त्यसैले उनले टेकेन्द्रको विवाह प्रस्तावलाई स्वीकार गरिन् । त्यतिबेला गीताले टेकेन्द्रको मन र रूपमा हेरिनन् उनले टेकेन्द्रको केवल पढाइ र उनको क्षमता हेरेर विहेको लागि हुन्छ भन्दै घरमा कुरा गर्न पठाइन् ।
टेकेन्द्र एक्लै गीताको घरमा गए । उनका बुवाआमासँग विवाहको कुरा गरे । गीताको घरपरिवारले पनि छोरीले नै मन पराई सके पछि हुन्छ भन्ने उत्तर दिए । त्यसपछि टेकेन्द्रको सुखीको सीमा नै रहेन । विवाह गर्छु भनेर घरबाट निस्किएको एघार दिनमा गीता विहेको लागि राजी भइन् । गीताको घरपरिवारको सहमतिमा र गाउँलेको नजरमा उनीहरूले वि.सं. २०६० सालमा भागी विवाह गरे । टेकेन्द्रले विवाह गर्नुको उद्देश्य अलि फरक थियो । घरमा आमा एक्लै भएका कारण उनले आफूले विवाह गरेर श्रीमतीलाई घरमा छोडेर आफू निर्धक्कसँग काठमाडांै पढ्न पाउँछु भन्ने उद्देश्य थियो । छोरा घरबाट निस्किएको एघार दिनमा बुहारी लिएर आउँदा टेकेन्द्रको घरपरिवार एक छिन् त चकित नै परेका थिए । छोराले ठट्टा गरेको होला भन्ने सोचेका उनका घरपरिवार बुहारी देख्दा चकित त पर्ने नै भए । टेकेन्द्रको ठूलो परिवार थियो तर, घरमा काम गर्ने भने कोही थिएनन् । उनका दाइ भाउजु दुवै जागिरे भएको हुँदा घरमा आमाले मात्र काम गर्नुपर्ने भएकाले उनले विहे गर्ने निधो गरेका थिए ।
०००
पिता हरिलाल महतरा र माता डम्मरकुमारी महतराको कोखबाट २०४१ सालमा गोगनपानी दैलेखमा जन्मिएका टेकेन्द्र महतराको बाल्यकाल रमाइलोसँग बित्यो । घरको कान्छो छोरा अरु सन्तानले भन्दा उनले बढी सेवा सुविधा पनि पाए । पढाइमा सधंै प्रथम हुने महतरा बाल्यकालमा लजालु स्वभावका थिए । विद्यालयमा सधैं इमान्दारिताको पुरस्कार पनि पाउँथे । शान्त स्वभाव थियो । उनी बाल्यकालदेखि नै
नयाँ–नयाँ काममा निकै उत्सुकताका साथ ध्यान दिन्थे । यतिसम्म कि नयाँ रेडियो फुटालेर फेरि त्यसैलाई नयाँ बनाउँथे । एसएलसी पास पार्वती मावि गोगनपानीबाट पास गरेका महतराले कक्षा १२ भने वीरेन्द्र बहुमुखी क्याम्पस सुर्खेतबाट पास गरे । उनले काठमाडौंबाट ब्यार्चुलर महेन्द्ररत्न क्याम्पस काठमाडौंबाट पास गरे । उनले एमए त्रिचन्द्र कलेजबाट पास गरे । समाजशास्त्र र कानुन गरी विषयमा दुई वटा विषयमा स्नातकोत्तर गरे । अहिले उनी बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा उप–प्राध्यापकको रूपमा कार्यरत छन् ।
०००
पिता ज्ञानबहादुर तिमिल्सेना र माता मनकुमारी तिमिल्सेनाको कोखबाट वि.सं. २०४१ सालमा बेलपाटा दैलेखमा जन्मिएकी गीताको बाल्यकाल रमाइलोसँग नै बित्यो । गीता बाल्यकालमा गाउँभरीका बालबालिकालाई जम्मा पारेर उनीहरूसँग खेल्ने र उनीहरूलाई सजाय दिने गर्थिन् । घरको काममा भन्दा पनि बढी उनी बच्चाहरूसँग धेरै रमाउँथिन् । बाल्यकालमा उनी अनुशासित र नरिसाउने स्वभावको थिइन् ।
विवाहपछि गीता घरमा बसिन्, टेकेन्द्र पढ्न काठमाडौं फर्किए । माइतीमा सबैको माया ममतामा हुर्किएकी गीता विवाहपछि घरमा सबै काम गर्नुपर्ने भयो । उनलाई घाँस काट्न र सिमल्न समेत आउँदैनथ्यो । घरमा गाई, बाख्रा धेरै भएका कारण काम धेरै नै गर्नुपथ्र्याे । माइतीमा काम नगरेकी गीताले घरमा सबै काम गर्नुपथ्र्याे । बिहान घरको काम सकेर घाँस काटेर गोठाला जानुपथ्र्याे ।
श्रीमान् पढ्न काठमाडौं गएपछि गीताले घरमा संघर्ष गरिन् । गाउँलेले गीतालाई नानाथरी कुरा सुनाउँथे । उनले भनिन्, ‘मलाई गाउँलेले तेरो श्रीमान् त काठमाडौंमा डिग्री पढ्छ, अब उतै विहे गरेर बस्छ तँलाई धोका दिन्छ जस्ता कुरा सुनाउँथे मैले कहिल्यै गाउँलेको कुरा सुनिनँ ।’ उनलाई टेकेन्द्रप्रति विश्वास थियो । पढाइ सकेपछि राम्रो जागिर खाने र सुखँसँग पाल्ने कुरामा ।
गीताले ६ वर्ष घरमा बसेर संघर्ष  गरिन् । टेकेन्द्रको पढाइ सकिएपछि उनले कोहलपुरमा जागिर गर्न थालेपछि गीता पनि उतै गइन् । दुःख र मेहेनत गरेपछि सुख पाइन्छ भन्ने कुरा सही रहेछ जस्तो लाग्छ गीतालाई अहिले । बिहे गर्दा एसएलसी दिएकी गीताले बीचमा ६ वर्ष पढाइ छोडिन् । टेकेन्द्रले गीतालाई कोहलपुरमा लगेर फेरि पढ्ने हौसला दिए । दुई छोरा–छोरी जन्मिसकेपछि गीताले स्नातक उत्तीर्ण गरिन् । अहिले टेकेन्द्र परामर्शदाता र गीता व्यवस्थापक भएर युनिक ब्रेन सुर्खेत सञ्चालन गरिरहेका छन् ।
यो जोडी एकअर्काेको जन्मदिन र विवाह वर्ष आउदासँगै हुँदा सँगै मनाउने गर्छन् । सँगै नहुँदा फेसबुक र फोनमार्फत् एकअर्काेलाई शुभकामना दिने गर्छन् । उनीहरू कहिलेकाहीं श्रीमान् श्रीमती बीचमा झगडा नभए सम्बन्ध बलियो नहुने बताउँछन् । उनीहरू भन्छन्, ‘श्रीमान्–श्रीमती भएपछि एकअर्काेमा कहिलेकाही सामान्य झगडा भयो भने एकअर्काेको कमीकमजोरी बाहिर आउँछन् र त्यसलाई सुधार गरेर अगाडि बढ्दा सम्बन्ध दिगो हुन्छ ।’ श्रीमान्–श्रीमती दुवै जना सक्षम भएको जोडीमा कहिले फाटो नहुने उनीहरूको भनाइ छ । उनीहरूले एक जना सक्षम र अर्काे असक्षम भयो भने त्यो सम्बन्धमा फाटो आउन सक्ने बताए । यो जोडीका अनुसार दाम्पत्य सम्बन्धलाई दिगो बनाउनका लागि एक अर्काेप्रतिको विश्वास हुनु पर्दछ । दुवै जना सक्षम भए एकअर्काे प्रति अविश्वास हुँदैन ।
टेकेन्द्रलाई गीताको सहनशिलता, काम गर्दा नआतिने र धर्यता गर्न सक्ने बानी मन पर्ने गर्छ । उनले भने, ‘जहाँ गए पनि विश्वास गरेर मलाई स्वतन्त्रता दिने उनको बानी मन पर्छ ।’ त्यस्तै गीतालाई पनि टेकेन्द्रको जे कुरामा पनि सक्षम र क्षमतावान बानी मनपर्ने गर्छ । गीतालाई कहिलेकाहीं अलि छिटो रिसाउने बानी भने हटाई दिएको भए हुन्थ्यो जस्तो लाग्ने गर्छ ।

प्रस्तुतीः गीता थापा

प्रकाशित मितिः   १४ श्रावण २०७४, शनिबार १९:५१