छाउपडी हटाउन ‘नयाँ पुस्ता’ तगारो

सुर्खेत, ७ साउन ।
छाउपडी प्रथा उन्मूलनमा पढेलेखेको शिक्षित ‘नयाँ पुस्ता’ नै मुख्य तगारो बनेको छ । गाउँका शिक्षित व्यक्तिहरूले नै रजस्वलाको समयमा महिलालाई छाउगोठमा सुताउने गरेका छन् । अर्कोतर्फ पढेलेखेका र जागिरे महिलाहरू महिनावारी हुँदा आफै छाउगोठमा सुत्दै आएका छन् । शिक्षित भनिएका व्यक्ति र ‘नयाँ पुस्ता’ ले नै छाउ बार्ने कु–संस्कारलाई अंगाल्न थालेपछि छाउपडी उन्मूलनमा झन् चुनौती थपिएको हो ।
प्रदेश नम्बर ६ र ७ का जिल्लामा छाउपडी प्रथा अन्त्यका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले विभिन्न चेतनामूलक अभियानहरू सञ्चालन हुँदै आएका छन् । तर छाउपडी प्रथा गलत हो भन्ने बुझेको शिक्षित पुस्ताले नै प्रतिवाद गर्नुको साटो यो प्रथालाई अंगाल्न थालेको छ । गाउँका अगुवा, जागिरे महिला र पढेलेखेका व्यक्तिहरूले नै छाउ बार्न नछोडेपछि यो कु–संस्कार विस्तारै नयाँ पुस्तामासमेत हस्तान्तरण हुँदै गएको छ । धार्मिक अन्धविश्वास र चेतनाको कमीले गर्दा छाउपडी उन्मूलनमा कठिनाइ भइरहेका बेला यही कु–संस्कार अंगाल्न थालेपछि नयाँ पुस्ता अभियानमा थप तगारो बनेको हो ।


कक्षा १० सम्म अध्ययन गरेकी दैलेखको लैनचौर निवासी १४ वर्षीया कृष्णकला विक छाउगोठमा सुत्न थालेको चार पटक भयो । महिनावारी एक सामान्य प्रक्रिया हो भन्ने उनलाई राम्रोसँग जानकारी छ । तर गाउँकै शिक्षकका घरमासमेत छाउ बार्दै आएको देखेकी उनका परिवारले छाउगोठमा सुताउँदा प्रतिवाद गर्न सक्दिनन् । बरु उनी भन्छिन्, ‘गाउँमा सबैले बार्छन्, हामीले मात्र नबार्दा अरुले फरक दृष्टिले हेर्छन् । समाजमा बहिस्कृत हुनुभन्दा त छाउगोठमै सुत्छौं, एक्लै प्रतिवाद कसरी गर्नु ?’ सुर्खेत पोखरीकाँडा निवासी २७ वर्षीया डीलसरा नेपाली स्थानीय एक सहकारी संस्थाको उपाध्यक्ष छिन् । स्नातक तहसम्म अध्ययन गरेकी उनी पनि महिनावारी हुँदा छाउगोठमै सुत्छिन् । ‘छाउपडी प्रथा गलत हो, तर घरमा केही नराम्रो हुँदा मलाई नै दोष दिन्छन्’ उनले भनिन्, ‘परिवार गाली खानुभन्दा त गोठमै सुत्छु, बेकारमा समाजको नजरमा किन पर्ने ?’
शिक्षित र नयाँ पुस्ताले प्रतिवाद नगरेकै कारण छाउपडी प्रथाले जरा गाढ्दै गएको दैलेखका स्थानीय विकास अधिकारी डिलाराम पन्थी बताउँछन् । ‘धार्मिक अन्धविश्वासले मात्र होइन, बुझेको नयाँ पुस्ता पनि छाउपडी उन्मूलनमा तगारो बनेको छ’ उनले भने, ‘सामान्य नागरिकलाई त बुझाउन सहज छ, तर अब यहाँ शिक्षित नयाँ पुस्ताले नै यसलाई अंगाल्न थाल्यो । गाउँका शिक्षकका घरमा नै छाउगोठ छन्, महिला स्वास्थ्यकर्मी नै आफै छाउगोठमा
सुत्छन् ।’ समाजका बुद्धिजीवि र अगुवाले नै छाउ बार्दा अभियान प्रभावकारी हुन नसकेको उनको भनाइ छ । पछिल्लो समय पढेलेखेकाहरूले नै छाउपडीलाई आत्मसात् गर्न थालेको र विस्तारै नयाँ पुस्तामा समेत हस्तान्तरण भइरहेको भन्दै उनले छाउपडी उन्मूलनमा अब नयाँ पुस्ता मुख्य चुनौतीको रूपमा देखिएको उल्लेख गरे ।
छाउपडीविरुद्धको अभियानमा लागेकाहरू स्वयम्ले पनि यसलाई त्याग्नसकेका छैनन् । सुर्खेतमा गैरसरकारी संस्थाहरूले छाउगोठ भत्काउन शिक्षित किशोर–किशोरीहरू नै परिचालन गरे । उनीहरू अभियानको पक्षमा खुलेरै लागे । छाउपडी प्रथा गलत भएको र छाउगोठ ज्यानमारा भन्दै यसलाई उन्मूलन गर्ने अभियानको नेतृत्व नै गरे । तर हिजोआज अभियानको नेतृत्व गर्ने उनै किशोरीहरू छाउगोठमा फर्केका छन् । गाउँका अधिकांश शिक्षिका र महिला स्वास्थ्य स्वयम्सेविकाहरू आफै छाउ बार्छन् । बाहिर देखावटी रूपमा यो प्रथा गलत भन्नेहरूले नै घरमा छाउ बार्ने गरेका कारण समस्या भएको महिला तथा बालबालिका कार्यालय दैलेखका प्रमुख अनिता ज्ञवाली बताउँछिन् । उनी भन्छिन्, ‘चेतना फैलाएर मात्र के गर्नु ? पढेलेखेकाहरू नै छाउगोठ छोड्न मान्दैनन् । शिक्षित भनिएकाहरू नै गोठमा सुतेपछि, सामान्य महिलाहरूले पनि संस्कारको नाममा पीडा भोग्नु परेको छ ।’
शिक्षित र नयाँ पुस्ताले गलत प्रथाको डटेर प्रतिवाद नगरेसम्म छाउगोठबाट महिलाहरूलाई घरभित्र ल्याउन मुस्किल हुने छाउपडीविरुद्धका अभियन्ता सुर्खेत बावियाचौरका अमर कार्कीले बताए । दैलेखका स्थानीय विकास अधिकारी पन्थीले भने अब सचेतनासँगै कानुनी कारबाही पनि आवश्यक रहेको बताए । उनले भने, ‘संस्कारको नाममा कहिलेसम्म महिलालाई छाउगोठमा बली दिने ? अब छाउगोठमा सुताउनेलाई कारबाही हुनुपर्छ । कारबाही र सजाय नहुँदा पनि कु–प्रथाले जरा गाढेको हो, अब राज्यले यसतर्फ पनि सोच्नु पर्दछ ।’

प्रकाशित मितिः   ८ श्रावण २०७४, आईतवार १५:२७