शैक्षिक चर्तिकला
व्यवहारिक शिक्षाको व्यवस्था तथा शिक्षा सुधारका विभिन्न योजना अनि नाराहरू हामी प्रशस्तै भेट्ने गर्छौ । कयौं पार्टी, सरोकारवाला निकाय तथा आम नागरिकसमेत शिक्षामा आधुनिकीकरणका साथ–साथै व्यवहारिक अनि जीवनपयोगी भएको हुनुपर्नेमा जोड दिइरहेका छन् । सरकारी विद्यालयमा विद्यार्थीको चाल ह्वात्तै घटेको वर्तमान अवस्था पनि छ ।
सरकारद्वारा छनौटमा परेका सक्षम शिक्षक, प्रायः स्थानमा शिक्षणको लागि प्रयाप्त शिक्षण सिकाइ प्रविधि, शिक्षकलाई निजी विद्यालयको तुलनामा राम्रो सेवासुविधा तथा समयसमयमा शिक्षककालागी तालिम अनि गोष्ठीहरू । अर्को पक्षमा प्रायः भर्खरका नौला युवाद्वारा शिक्षण गरिने निजी विद्यालयहरू । जहाँ शिक्षक जीवन जिउनसमेत कठिन अवस्थामा रहेका हुन्छन् । उसका आवश्यकताहरू समेत परिपूर्ति गर्न गाह्रो भइरहेको अवस्था छ । जसलाई समय–समयमा न त कुनै शिक्षण तालिमको व्यवस्था गरिन्छ न त शिक्षण सिकाइबारे ज्ञानवृद्धिका कार्यक्रम नै ल्याइएको हुन्छ । निजी विद्यालयका शिक्षकको योग्यता निर्धारण हुन्छ ऊ द्वारा सिकाइएका विद्यार्थीहरूले प्राप्त गरेका अंकका आधारमा । शिक्षककै लागि भएता पनि विद्यार्थीले घोक्नै पर्छ । र, विद्यार्थी घोक्छ पनि । राम्रो प्रतिशत बोकेको नतिजाले सारा विद्यालयको नै इज्जत बढाइदिन्छ हाम्रो समाजमा ।
निजी विद्यालयको रूपमा स्थापना भएका केही विद्यालयहरूको उदाहरण लिउँ । ‘एसईईको नतिजामा विद्यालयले कति जना विद्यार्थी कुन स्थानमा पास गराउन सफल भयो ?’ यही नै हो विद्यालय तथा हाम्रो समाजको मानसिकता । हामी यसैको आधारमा विद्यालयको स्तर निर्धारण गर्ने गरेका छौं । जब एसईईको नतिजा सार्वजनिक हुन्छ तब सुरु हुन्छ, शैक्षिक चर्तिकला । विद्यालयद्वारा विभिन्न ग्रेड हासिल गरेका विद्यार्थीहरूको बधाईले ढाकेको अदृश्य विज्ञापन दिइन्छ । शैक्षिक व्यापारमा उनै विद्यार्थीहरूलाई प्रयोग गरिन्छ । विद्यार्थी भर्नामा अभिभावक पनि त्यही ग्रेड हासिल गरेको विद्यालय छनौट गरिरहेका हुन्छन् । विद्यालयको शैक्षिक प्रणालीका कारण विद्यार्थीको सिकाइ, सोचाइ तथा व्यवहारका आएको परिवर्तन र विद्यालयहरूको भौतिक रचनात्मक अवस्था जहाँ विद्यार्थीको सिकाइ दिगो रहोस् भन्ने बारेमा सायदै कमै मात्र अभिवाभकहरूले सोच्ने गरेका छन् । ‘फलानोको बच्चा त्यो स्कुलमा जान्छ भने मेरो पनि’ भन्ने अभिवाभकहरूको हाम्रो समाजमा कमी छैन । महँगो विद्यालयमा बच्चा पढाउनु नै समाजमा सम्भ्रान्त हुनु भन्ने सोच्नेहरूको कमी छैन हाम्रो जमातमा । वर्तमान समयमा कैयौं विद्यालयले शैक्षिक समयमा फेरवदल गरेका छन् । कोही विद्यार्थीलाई बिहान ६ देखि साँझ ६ सम्मै विद्यालयमा अड्काउन खोज्छन् भने कोहीले बिहान ९ देखि साझ ५ सम्म । यसलाई सरसर्ती हेर्दा यो प्रणाली विद्यार्थी सिकाइको लागि हुँदै होइन । यो प्रणाली नै हो घोकन्ते विद्यार्थी उत्पादनको लागि । यो प्रणाली हो, अर्को वर्ष बढीभन्दा बढी विद्यार्थीले राम्रो ग्रेड ल्याउन भन्नेको । यो प्राणालीले समाजमा रचनात्मक व्यक्तिहरूको कमीमा सिधा भूमिका निर्वाह गरेको छ ।
‘चौबीस घण्टामा १२ घण्टासम्म विद्यार्थीलाई विद्यालयमा शिक्षा दिनु, कत्तिको जायज ?’ यस विषमा यो पंक्तिकारले हाम्रो समाजमा विभिन्न भूमिका अन्तर्गत नेतृत्व गरिरहेका व्यक्तिहरूसँग उहाँहरूको राय लिएको थियो, उहाँहरूका विचारहरू जस्ताको त्यस्तै । ‘बिहानदेखि साँझसम्म निरन्तर पढाइ हुँदा अभिभावहरू छोराछोरीले पढिरहेका छन् भनेर खुशी त होलान् तर, बालबालिकाहरूमा अनावश्यक बोझ थोपरिएको हो । यस्तो शिक्षाले बालबालिकाहरूलाई सिर्जनात्मक भन्दा भनि घोकन्ते शिक्षातर्फ अग्रसरता गराइएको हुन्छ । जसको कारण सिर्जनात्मक क्षमतामा नकारात्मक असर पार्छ, लगातार यति लामो समयसम्म पढाइ मात्र नभइ अन्य अतिरिक्त क्रियाकलापमा सहभागी गराउन सकेको भए राम्रो हुन्थ्यो’ लक्ष्मी भण्डारी, पत्रकार ।
‘घटौंसम्म पढाइमा मात्र कसैले पनि ध्यान दिन सक्दैन । धेरै समय एकै प्रकारको क्रियाकलापमा शरीर उपस्थित रहला तर दिमाग उपस्थित हुन सक्दैन । जसरी दिमागलाई काम गर्नको लागि अक्सिजन र गुलकोजको जरुरी हुन्छ त्यसरी नै विद्यार्थीलाई विश्रामको जरुरी छ, स्वतन्त्र समयको जरुरी छ, यतिसम्मकी आँखालाई पनि विश्राम चाहिन्छ । निरन्तर पढाइले आँखामा असर गर्छ र धेरै प्रकारका रोगहरूले आँखामा संक्रमण गर्न सक्छन् । पढाई सँगसँगै विभिन्न प्रकारका क्रियाकलापहरूको आयोजना गर्दा शिक्षण सिकाइ कार्यक्रम पनि प्रभावकारी रहन्छ’ जानुका गैरै, चिकित्सक, मध्यपश्चिम क्षेत्रीय अस्पताल, सुर्खेत ।
‘लगातार १२ घण्टासम्म विद्यार्थीलाई शिक्षण दिनु राम्रो हो जस्तो लाग्दैन किन कि अबदेखि पशुपन्छीलाई समेत आठ घण्टा भन्दा बढी काम गराउन पाउँदैन भने विद्यार्थी त एउटा बच्चा हो उसलाई पढाइ बाहेक अन्य मनोरञ्जनात्मक कुराको पनि खाँचो हुन्छ’ मानबहादुर खड्का, पत्रकार । ‘विद्यालय तथा अभिवाभकका सपनाहरूका लागि विद्यार्थीलाई सिधै प्रेसर दिएको भएन र ?’ चन्द्रनाथ योगी, पर्यटन व्यवसायी ।
‘वर्तमान समयमा बिहानदेखि साझसम्म पढाइमा निरन्तरता दिनु अहिलेको परिपेक्षमा एकदमै सही हो । जस अन्तर्गत विद्यालयको नयाँ वर्तमान शिक्षा तथा टेक्नोलोजिक कुरामा बढी प्राथमिकता दिनुपर्छ जस्तो लाग्दछ । विद्यालयको शैक्षिक प्रणालीमा आधुनिकता सँगसँगै अभिभावकमा आफ्नो छोराछोरीको भविश्यको बारे केही नभए पनि २५ प्रतिशत सकारात्क सोचको विकास हुन्छ । यस विषयमा सबैको सकारात्मक सोचको आवश्कता रहेको हुन्छ’, छवि तिवारी, धुलियाविट, सुर्खेत ।
‘पढाइ आफैमा राम्रो काम । बिहान ६ देखि साँझ ६ सम्म घोटिनु अहिलेका केटाकेटीको इच्छा विपरित हो । विद्यालय र अभिवाभक त्यो अर्थमा सफल हुनेछन् जब विद्यार्थी सोचे अनुरूप भए भने मात्र, सिकाइ त सिक्लान् तर रचनात्मक पक्कै बन्ने छैनन् । घटौंसम्म जोतिने गोरुले फल त फलाउँछ तर आखिरमा जीवनभर जोतिनु बाहेक उसँग अन्य कुनै विकल्प रहनेछैनन् । दुईचार अंक बढी ल्याएर अभिवाभक र विद्यालयको इज्जत राख्नुभन्दा फेल भएरै पनि रचनाकार हरिवंश बन्न राम्रो’ विपिनविक्रम जिसी, लाटीकोइली, सुर्खेत ।
‘विश्वमा अहिले मानिसले आठ घण्टा काम, आठ घण्टा खेलकुद तथा मनोरञ्जन र आड सुत्न पाउनुपर्छ भनेर वकालत भइरहेको बेला कलिलो मस्तिष्क मा १२ घण्टासम्म पढाइको बोझ दिँदा साना नानीहरूको रचनात्मक सिकाइमा नकारात्मक असर पर्नेछ ।’ गणेश रावत, अध्यक्ष, मध्यपश्चिम सेवा समाज, कुवेत ।
विद्यालय यस्तो स्थान हो जहाँ भविष्यका वैज्ञानिक, राजनीतिज्ञ, लेखक, कलाकार तथा समाजका विभिन्न विधाका मानिसहरूले आफूलाई जानी नजानी उल्लेखित विधाहरूमा आफै तिखारिरहेका हुन्छन् । बालबच्चाहरूको खुबी तथा ईच्छाविरुद्धमा विद्यालय, अभिभावक तथा समाज र हामीले घोकन्ते सिकाइलाई प्राथमिकता दिदैं रोबोट उत्पादन गरिरहेका छौं । रोबोट जो अरुको माध्ययमबाट चल्छ, अन्यद्वारा चलाइने रोबोटले के समाजमा आफूलाई भिन्दै रूपमा परिचित गराउँला ? समाजमा युवा जमातभित्र बढ्दो मात्रामा रहेको नशाको प्रयोग पनि यस्तै रोबोट जमात अन्तर्गत रहन्छ, त्यो रोबोट जसले आफूलाई परिचित गराउँन खोज्दा पनि हार खाएको थियो । नशामा रम्न चाहने रोबोट त्यही हात्ती नै हो जसलाई विद्यालय, अभिभावक तथा समाज र हामीले नै रुख चढ्ने बनाउन चाह्यौं ।
साझा बिसौनी संवाददाता ।