मप विश्वविद्यालयका कमजोरी र सुधार्नुपर्ने पक्षहरू

नेपालमा बहुविश्वविद्यालयको अवधारणा आइसकेपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना वि.सं. २०६७ साल असार ३ गते भएको हो । २०५२ सालदेखि मध्यपश्चिमेली जनताको अथाह त्याग, तपस्या र संघर्षबाट २०६७ सालमा यस विश्वविद्यालय औपचारिक रूपले स्थापना भइ २०६८ सालबाट यस विश्वविद्यालयको उपकुलपतिमा प्रोफेसर पदमलाल देवकोटा नियुक्ति भइसकेपछि नियमित रूपले पठन–पाठन हुँदै यहाँसम्म आइरहेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना गर्नको निम्ती मध्यपश्चिमेली जनताले एउटा नेतृत्व बनाएर कार्यदल गठन गरे ।

यहाँका राजनीतिक दलहरू, प्राध्यापकहरू, शिक्षकहरू, वकिल, कर्मचारीहरू, पत्रकारहरू, विद्यार्थीहरू, व्यपारीहरूको भेलाबाट विश्वविद्यालय स्थापना मूल समिति नै गठन गरेर स्थापना कार्यलाई अगाडि बढाइयो । व्यापक जनदबाबका कारण सरकारले विश्वविद्यालय स्थापनाका विभिन्न कार्यदल गठन ग¥यो । २०५९ सालमा विश्वविद्यालय स्थापना सम्बन्धमा सम्भाव्यता कार्यदल, २०६१ मा प्रस्ताविक प्रारूप तयार गर्न गठित कार्यदल र २०६३ मा प्रस्ताविक मध्यपश्चिमाञ्चल विश्वविद्यालयको तयारी समिति । उक्त कार्यदल गठन भइसकेपछि ती तीनै कार्यदलले मध्यपश्चिमाञ्चल विश्वविद्यालय मध्यपश्चिम क्षेत्रमा आवश्यक भएको र मध्यपश्चिमाञ्चलमा स्थापना गर्न सम्भव भएको सुझाव सरकार समक्ष बुझाएपछि वि.सं. २०६५ फागुण १६ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वविद्यालय स्थापनाको लागि सैदान्तिक सहमति ग¥यो ।
मध्यपश्चिमेली जनताले २०५२ सालदेखि ठूलो त्याग, तपस्या र संघर्ष गर्दै, आर्थिक संकलनको लागि धार्मिक महायज्ञ सञ्चालन गर्दै र विभिन्न व्यक्तिहरूबाट चन्दास्वरूप आर्थिक तथा जमिन संकलन गर्दै विश्वविद्यालय स्थापना गरेका हुन् । मूलतः यो विश्वविद्यलय क्षेत्रीय विश्वविद्यलयको अवधारणा अनरूप खोलिएको नेपालको तेस्रो विश्वविद्यालय हो । मध्यपश्चिमेली जनताको जीवनस्तर उकास्नको लागि र यहाँका जनता शिक्षाको पहुँचबाट विभिन्न कारणले पछि परेकाले शिक्षाको जीवनस्तर उकास्नको लागि यो विश्वविद्यालयको स्थापना भएको हो । मध्यपश्चिम क्षेत्र सबै तरवले पिछडिएको र शिक्षाको हिसाबले पछि परेको क्षेत्र भएकोले गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदानको लागि यो विश्वविद्यालय स्थापना भएको हो । उच्च शिक्षाको अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्र बनाउने, उच्च शिक्षाको विकासबाट समाजको विकास गर्ने, यहाँका गरीब जनताको जीवनस्तर माथि उठाउने, यहाँ पाइने स्रोत तथा साधनहरूको उचित प्रयोग गरी अनुसन्धान तथा अन्वेषकको केन्द्र बनाउने हेतुले यो विश्वविद्यालयको स्थापना भएको हो ।
हाल विश्वविद्यालयले मानविकी र समाज शास्त्र, व्यवस्थापन संकाय, शिक्षा संकाय, विज्ञान तथा प्रविधि संकाय, र इन्जिनियरिङ्ग संकाय गरेर जम्मा पाँच वटा संकाय आफ्नै केन्द्रीय क्याम्पसमा पठन–पाठन गर्दै आइरहेको छ । विश्वविद्यालय स्थापनाको सुरुकै अवस्थामा विश्वविद्यालयका पदाधिकारीहरू भ्रष्टचारको मुद्दामा मुछिएपछि अस्तव्यस्त अवस्थामा रहेको विश्वविद्यालय पछिल्लो समयमा विस्तारै अगाडि बढिरहेको देखिन्छ । विश्वविद्यालयका पाँच वटैै संकायमा सेमेस्टर प्रणालीमा पढाइ भइरहेको छ । विश्वविद्यालयको गरिमा बढाएको इन्जिनियरिङ्ग संकायले सिभिल, हाइड्रोपावर र कम्प्युटर इन्जिनियरिङ्गका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले २०७३ सालबाट नेपालमै पहिलो पटक हाइड्रोपावर इन्जिनियरिङ्ग सञ्चालन गरेकोले यसप्रति सबै विद्यार्थीहरूको आकर्षण बढेको देखिन्छ । नेपालमा हाइड्रोपावरको प्रचूर मात्रामा सम्भावनाहरू भएकोले नेपालका अधिकांश जिल्लाबाट हाइड्रोपावर इन्जिनियरिङ्ग अध्ययन गर्न विद्यार्थीहरू आएको देखिन्छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयसँगै स्थापना भएका अन्य विश्वविद्यालयको तुलनामा यो केही अगाडि भएता पनि विभिन्न कारणले सोचेजस्तो परिणाम हासिल गर्न सकिरहेको छैन ।
पछिल्लो समयमा आएर विभिन्न कारणले विश्वविद्यालयको भविष्य खस्किदो अवस्थामा देखिन्छ । यसै सन्दर्भमा भर्खरै हुर्कदै गरेको विश्वविद्यालयलाई विश्वविद्यालयका पदाधिकारीहरूले राजनीति गर्ने थलो बनाएकाले यसको प्रत्यक्ष असर विश्वविद्यालयको भविष्यमा पर्न गएको देखिन्छ । विश्वविद्यालय स्थापना भएको सात वर्ष बितिसक्दा पनि विश्वविद्यालयको सेवा आयोगलाई निष्क्रिय बनाएर अहिलेसम्म कुनै पनि प्रध्यापक तथा कर्मचारीहरूको स्थायित्वको प्रक्रिया अगाडि नबढ्नुले पनि यसको प्रत्यक्ष असर विश्वविद्यालयको भविष्यमा पर्न गएको देखिन्छ । सेवा आयोगले विज्ञापन गरेको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म उक्त विज्ञापनको परीक्षा मिति नतोकिनुले सबैमा शंका उपशंका जन्माएको छ । विश्वविद्यालयका पदाधिकारीहरूले केन्द्रीय क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरूलाई उचित मूल्यांकन नगरिनु, सेवा सुविधाबाट वञ्चित बनाइनु, विभिन्न नियुक्ति प्रक्रियामा योग्य र सक्षम व्यक्तिलाई नियुक्ति नगरेर राजनीतिक कोठाबाट कर्मचारी तथा प्रध्यापकहरू नियुक्ति गरिनुका कारणले राम्रो र सक्षम कर्मचारी तथा प्रध्यापकहरू विश्वविद्यालयमा बस्न नरुचाएको देखिन्छ । समग्रमा विश्वविद्यालयमा हुने सबै क्रियाकलापमा पदाधिकारीहरूले विश्वविद्यालयलाई एकलौटी तरिकाले सञ्चालन गर्न खोजेको देखिन्छ । जसको कारण विश्वविद्यालयमा धेरै समस्याहरू निम्त्याएको छ ।
यस्तै गरेर विश्वविद्यालयको गहनाको रूपमा रहेको सबैभन्दा कान्छो इन्जिनियरिङ्ग संकायमा यसको प्रत्यक्ष असर परेको देखिन्छ । हाल इन्जिनियरिङ्ग संकायमा सिभिल, हाइड्रोपावर र कम्प्युटर गरेर तीन वटा कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेको छ । सुर्खेत जस्तो दक्ष जनशक्ति, मानवस्रोत र साधनको अभाव हुने ठाउँमा झनै विश्वविद्यालयका पदाधिकारीहरूको क्रियाकलापले यो संकायमा प्रत्यक्ष असर पुगेको देखिन्छ । शिक्षण पेसामा प्राविधिक मान्छेले खासै रुचि नराख्ने भएको र झनै यस विश्वविद्यालयमा प्राविधिक कर्मचारी तथा प्रध्याकपहरूलाई अरु संकायसँग तुलना गरेर सेवा सुविधाबाट वञ्चित बनाइएकोले राम्रो र योग्य प्रध्यापक तथा कर्मचारीहरू विश्वविद्यलयमा बस्न नचाहेको देखिन्छ । जसको कारण केन्द्रीय क्याम्पस लथालिङ्ग भएर विद्यार्थीहरूले विभिन्न समस्याहरू भोग्दै आइरहेका छन् ।
विश्वविद्यालय स्थापना भएको सात वर्ष बितेर यहाँसम्म आइपुग्दा विश्वविद्यालयले पाँच वटा संकाय सञ्चालन गर्दै गर्दा दुई हजार–दुई हजार पाँच सय विद्यार्थीहरू विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् । भर्खरै हुर्कदै गरेको विश्वविद्यलयमा विश्वविद्यालयका पदाधिकारीहरूले विद्यार्थीहरूको समस्यालाई नबुझेर केन्द्रीय क्यामपसहरूमा कुनै यातायातको सुविधा नभएको खण्डमा करोडौं खर्च गरेर पदाधिकारी चढ्ने गाडी खरिद गरिदैं छ । जुन उद्देश्यले यो विश्वविद्यालय मध्यपश्चिमेली जनताले गरेका हुन् तर उद्देश्य अनुरूप विश्वविद्यालय अगाडि नबढेको देखिन्छ । गरीब, दलित र पिछडिएका क्षेत्रका बालबच्चाले पढ्ने विश्वविद्यालय हाल आएर विश्वविद्यालय प्रशासनले धनी र सम्पन्न परिवारका बालबच्चा पढाउने थलो बनाइदैछ । विश्वविद्यालय पूर्ण सरकारी लगानीमा सञ्चालन भएता पनि वर्षेनी १० प्रतिशत शुल्क वृद्धिका कारण अब मध्यपश्चिमेली गरीब जनताका छोराछोरीले पढ्न नपाउने माहोल सिर्जना गरिदैंछ । विद्यार्थीहरूको पक्षमा बोल्ने साझा संगठन स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालयमा नभएको त होइन, स्वतन्त्र विद्यार्थी युनियन भएता पनि विद्यार्थीहरूका समस्याहरू र विश्वविद्यालयका समस्याहरू स्ववियुले ध्यान नदिएर प्रशासनको पक्षमा बोल्दा झनै प्रशासनले मनोमानी गरेको देखिन्छ । विश्वविद्यालयमा भएका अन्य विद्यार्थी संगठहरूले विद्यार्थी, प्रध्यापक तथा कर्मचारीहरूको र समग्र विश्वविद्यालयको पक्षमा आवाज उठाउँदै गर्दा विद्यार्थीहरूको मुद्दा नै नसुन्नु, र
पदाधिकारीहरूले वार्ता र सहमतिबाट समस्याहरूको समाधान गरिनुको सट्टा बल प्रयोग गरेर सिधै बाइकट गर्न खोज्नुले विद्यार्थीहरूलाई झन् आक्रोसित पार्ने काम गरिन्छ । विश्वविद्यालयको ईतिहास नै भुलेर पदाधिकारीहरूले विश्व–विद्यालयलाई निजीकरण, व्यपारीकरण, राजनीतिकरण र मनोमानी ढङ्गले सञ्चालन गरिनुले भोलि गएर कतै मध्यपश्चिमेली जनताको दुःख र संघर्ष बालुवामा पानी हाले जस्तो त हुने होइन भन्ने कुरा सबैको मनमा छाएको छ ।
यो विश्वविद्यालय भर्खरै हुर्कदै गरेको हुनाले विश्वविद्यालयलाई कसरी हुर्काउने, कस्तो वातावरणमा हुर्काउने, कस्तो बनाउने भन्ने कुरा विश्वविद्यालयका पदाधिकारीहरूको हातमा छ । यदि उहाँहरूले विश्वविद्यालको इतिहास, मध्यपश्चिमेली जनताको त्याग, तपस्या र संघर्षलाई नभुलेर आफ्नो व्यक्तिगत स्वार्थ, राजनीतिक स्वार्थबाट माथि उठेर, विद्यार्थीको, प्रध्यापक तथा कर्मचारीहरूको र समग्र विश्वविद्यालयको पक्षमा रहेर अगाडि बढेमा साँच्चिकै विश्वविद्यालय लक्ष्य अनुसार अगाडि बढ्नसक्छ । अनि मात्र सुर्खेतस्थित यो विश्वविद्यालय एउटा नमुना विश्वविद्यालय बनेर देश तथा विदेशीहरूका लागि शैक्षिक नमुनाको केन्द्र बन्न सक्छ ।

प्रकाशित मितिः   ५ श्रावण २०७४, बिहीबार १५:३६