‘देउता रिसाउँछन्, बरु गोठमै मर्छौं’
लैनचौर (दैलेख), २ साउन ।
अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो । हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको छ । सुनसान घर । कोही कसैसँग बोल्दैनन् । आँगनमा केही नयाँ मान्छेहरू देखेपछि देर्जुकुमारी शाहीले मुन्टो केही तन्काउन खोजिन् । दुई महिलाहरूले समातेर उनलाई बाहिर कौसीसम्म ल्याए ।
कपाल मुन्डन गरेका छोरा प्रेमबहादुर शाहीले छाउगोठमा सर्पले डसेर मृत्यु भएकी आफ्नी बहिनीको घटना सुनाइरहँदा कौसीमा एउटा पुरानो धोतीले शरीर ढाकेकी देर्जुकुमारी मुख छोपेर सुक्सुकाइरहेकी थिइन् । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ६ लैनचौरकी २३ वर्षीया तुल्सी शाहीको छाउगोठमै सर्पले टोकेपछि मृत्यु भएको थियो । त्यो नवौं दिन थियो, बाहिर पानी त सिमसिमाइरहेको मात्रै थियो । तर छोरीको मृत्युले शोकमा डुबेकी आमा देर्जुका आँखाबाट आँशु भने अविरल थिए ।
यतिमात्रै होइन, यही गाउँमा गत जेठ ८ गते अर्की एक किशोरीको पनि छाउगोठमै मृत्यु भइसकेको छ । सोही गाउँकी १४ वर्षीया लालसरा विकले पनि छाउगोठमै सर्पले टोक्दा जीवन त्यागिन् । तर यो कुरा बाहिर आएन । लालसराको समाचार बन्न नपाउँदै तुल्सीले पनि त्यस्तै छाउगोठमा जीवन त्याग्नुप¥यो । दुई महिनाको अवधिमा दुई जना किशोरी गुमाइसकेको यो गाउँमा अझैं पनि महिनावारी ‘छाउ’ भएका महिलाहरूलाई उत्तिकै अमानवीय व्यवहार छ ।
करोडौं खर्चिएर विभिन्न गैरसरकारी संस्थाहरूले दैलेखमा साविकका आठ वटा गाविसलाई छाउपडीमुक्त गाविस घोषणा गरेका थिए । तर अवस्था अहिले पनि उस्तै छ । त्यो बेला पुलिस पनि साथ थियो, एनजीओको पैसा थियो, कैयौं छाउगोठ अभियन्ताहरूले नै भत्काएका थिए । तर अभियानको बेलामा गाउँका छाउगोठमात्रै भत्किए, गाउँका मानिसहरूको सोंच भने भत्किन सकेन । अहिले गाउँमा सबैको घरमा ‘छाइछुइ’ प्रथा उस्तै छ । चाहे त्यो शिक्षित होस् वा अशिक्षित नै । दैलेखका धेरैजसो छाउप्रथा भएका गाउँहरूमा अहिले छुट्टै त्यस्तो छाउगोठहरू छैनन् । तर प्रत्येक घरमा अहिले पनि महिलाहरू रजस्वला भएपछि गाई र भैंसीसँगै सुत्न बाध्य छन् । ‘छाउ’ भएका महिलाहरू गाइभैंसीसँगै सुत्छन् । तर उनीहरूले त्यसको दुधदही खान पाउँदैनन् । गाउँलेहरू भन्छन् ‘देउता रिसाउँछन्, घरमा नराम्रो हुन्छ ।’
रोपाइँको मेलो सकेर फर्किरहेका महिलाहरूलाई गाउँका शिक्षक भुवन शाही जिस्क्याउँदै थिए । ‘पाखा स¥या हौला, नछुए है…’ अनि वर्सादी
(पानी छेक्ने प्लास्टिक) ओढेकी कोकिला विकले भनिन्, ‘छुन्नम् छुन्नम्, तीन दिन त भो, गोठमै सुतिराछम् ।’ फेरि शिक्षक शाहीले सम्झाए, ‘पशुसँग सुतेर नि देउता खुशी हुन्छन् ? अस्ती तुल्सीलाई साँपले टोकेर मरेको बिस्र्यौ ?’ अर्की महिला जंगिइन, ‘त्यस्तो भनेर हुन्छ, मरे नि मरिन्छ त देउतालाई रिसाउन हाल्नुहुन्न ।’ अनि उनी आफैंले कहानी सुनाउन थालिन्, ‘केही वर्ष पहिला रजस्वला भएको बेलामा घरमा खाना बनाए, तर खान दिने बेलामा मेरो मुन्टो बाँङ्गियो । अनि धामीझाँक्रीले झारफूक गरेर सिधा पारिदिए ।’ घरमा कोही नभएपछि पाखा सरे पनि उनले बाहिरै खाना बनाएकी थिइन् रे । ‘अनि देउता रिसाका रै’छन्, छाउ हुँदा भान्सा छोएपछि मरे पनि मरिन्छ । यो त बार्ने नै हो, देउता रिसाउन हुन्न ।’
महिलाहरूको टोली घरतिर लागे पनि शिक्षक शाही भन्दै थिए, ‘यी सुन्नुभो यस्तो छ गाउँको हालत, यस्तो सोंचलाई कसरी चेन्ज गर्न सकिन्छ र ?’ गाउँमा क्रिश्चियन धर्म मान्ने एकाध घरपरिवारबाहेक हरेक घरमा कुनै न कुनै रूपमा छाउप्रथा अझैं जिउँदैछ ।’ धेरै घरपरिवारमा ‘रजश्वला’ भएका महिला, किशोरीहरूमाथि यति अमानवीय व्यवहार छ कि, त्यो देख्दा लाग्छ ‘बाहिर सर्नु’ एक अपराध नै हो । सुनसान रातमा पशुहरूसँगै सुत्नुपर्ने महिलाहरू त्यो पीडालाई व्यक्त गर्नै सक्दैनन् । कोही त अझ घरबाहिर पेटी अनि खुल्ला ठाउँमै बस्छन्, त्यसमा पनि अझ भर्खरका किशोरीहरू । ‘छाउ’ बारेकै बखत कतिपय महिलाहरू ज्यान गुमाइसकेका छन्, कति बलात्कृत भएका छन् । अनि ती घटनाहरू प्रहरी प्रशासनसामु पुग्दैनन् । गाउँका अगुवाहरूले मिलापत्रमै मुद्दा सकिदिन्छन् ।
गैरसरकारी संस्थाहरूले छाउप्रथाको नाममा पैसामात्रै खन्याए । सरकारी तहबाट अहिलेसम्म कुनै पनि पहल भएको छैन । न त सरकारले त्यसलाई कुनै चासो नै दिएको छ । जिल्ला समन्वय समिति दैलेखले भर्खरमात्रै छाउ भएका घरहरूको तथ्यांक संकलन सुरु गरेको छ । तथ्यांक अनुसार अहिले दैलेखमा पाँच सय ७३ छाउगोठ छन् । तर महिला विकास कार्यालयसँग अहिलेसम्म त्यही तथ्यांकसमेत छैन । सरकारी तवरबाट छाउप्रथा भएका यी ठाउँहरूमा न त्यसको उन्मूलनका लागि कुनै कार्यक्रमहरू भएका छन्, न अभियानहरू चलेका छन् । प्रधानाध्यापक योगीका अनुसार गाउँमा सबैको घरमा त्यस्तै संस्कार छ । धेरैजसो गाउँका घरहरूमा माथिल्लो तलामा परिवार बस्छन् भने तल्लो तलामा गाइवस्तु बाँधिन्छ । अनि महिलाहरू महिनावारी भएपछि तीनै पशुसँग सुताइन्छ । गोठ न सफा हुन्छ न उनीहरू सुत्ने कपडाहरू नै । ‘यो संस्कार त धेरै गढिसकेको छ, मान्छेहरू मान्दै मान्दैनन्’ उहाँ भन्छन्, ‘पहिला त मान्छेको सोंच बदल्नुपछर्, जबर्जस्ती होला जस्तो लाग्दैन ।’ छाउगोठमै बहिनी गुमाएका प्रेमबहादुर शाहीलाई अब लाग्न थालेको छ ‘यस्तो गर्नु झनै पाप हो’ तर, उनी भन्छन्, ‘हामीले पो छोरीबैनी गुमायौं, पीर छ दर्द छ हामी दुःखमा छौं । फेरि पनि हामीले छाउ बारेनौं भने छाउ बार्ने सबै गाउँलेले हामीलाई आगँनमासमेत हिँड्न दिन्नन् ।’ छाउ नबार्दा देउता रिसाउने डर त छँदैछ, त्यसमा पनि एउटाले संस्कार फेर्दा सामाजिक बहिष्कारमा पर्ने डर अझैं त्यहाँका मानिसहरूमा छ ।
साझा बिसौनी संवाददाता ।