विकासतर्फ लम्किदै दैलेख

ऐतिहासिक महŒव बोकेको दैलेख विस्तारै विकासको दौडमा लम्किएको छ । ज्वाला र ऐतिहासिक दुल्लू दरबारको नामले समेत चिनिने दैलेख आफैमा स्रोत र साधनले भरिपूर्ण छ । यहाँ भएका प्राकृतिक स्रोतको उचित सदुपयोग नहुँदा विकासको गति अपेक्षाकृत भने छैन । तर पनि विकास र समृद्धिको सवालमा भने दैलेखीले निराश हुनुपर्ने अवस्था छैन । जिल्लामा रहेका प्राकृतिक सम्पदाहरूको सही सदुपयोग गरेको खण्डमा समृद्धिको सपना पूरा हुनसक्छ । भर्खरैमात्र स्थानीय तहको चुनाव सम्पन्न भएको छ । करिब २० वर्षको अन्तरालमा जनप्रतिनिधि आएका छन् ।
जिल्लामा रहेका ११ वटै स्थानीय तह स्रोत र साधनमा सम्पन्न छन् । मात्र अब तिनको सदुपयोगको योजना निर्माण हुन आवश्यक छ । हालसम्मको अवस्था हेर्दा जिल्लामा भौतिक विकासको गति सुस्त छ । अब यो गतिलाई तीव्र बनाउँदै विकासको भोक मेटाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ । अब जिल्लाका गाउँ र नगरपालिकाको नेतृत्वकर्ताले स्थानीय स्रोत साधन परिचालनको योजना निर्माणमा ध्यान दिन आवश्यक छ । योजनाबद्ध विकासबाट नै स्थानीय सरकार सवल र समृद्ध हुन सक्छन् । स्थानीय स्रोतको परिचालन गर्नका लागि अब पूर्वाधार निर्माणमा जोड दिनुपर्दछ । हरेक स्थानीय तह र तिनका वडाको केन्द्रसम्म सडक विस्तार हुन जरुरी छ । यस्तै अन्धकारमा रहेका बस्तीलाई अब विद्युतीकरणमार्फत् उज्यालो बनाउने योजना टड्कारो आवश्यकता हो ।
पूर्वाधार निर्माण र गुरुयोजना बनाउने हो भने, दैलेखलाई देशकै समृद्ध र सवल जिल्ला बनाउन सकिन्छ । यहाँको पञ्चकोशी क्षेत्रमा रहेको ज्वाला, जहाँ पेट्रोलियम पदार्थको अथाह भण्डार रहेको छ । यसको उत्खनन् भएमा जिल्लामा विकासको मूल नै फुट्नेछ । यसका लागि अब जिल्लाले सामूहिक पहल गर्नुपर्दछ । अर्कोतर्फ पर्यटनको सम्भावना पनि उत्तिकै छ । प्रचार–प्रसारको अभावमा यहाँका सम्पदाहरू ओझेलमा परेका छन् । ऐतिहासिक दुल्लू दरबार र नेपाली भाषाको पहिलो शिलालेख पनि यहाँ छ । यसको उचित संरक्षण र प्रचार–प्रसारको अभाव भएको हो । अब यसतर्फ पनि नवनिर्वाचित जनप्रतिनिधिहरूले ध्यान दिएमा विकासको गतिमा दौडिदै गरेको जिल्लालाई थप तीव्र गतिमा अगाडि बढाउन सम्भव छ ।
स्रोत र साधन भएर मात्र हुँदैन । त्यसलाई परिचालन गर्ने योजना चाहिन्छ । दैलेखमा अर्को सम्भावना भनेको जलविद्युत नै हो । जलविद्युत आयोजना सञ्चालनमा आए विकासले कसरी फड्को मार्छ भन्ने उदाहरण हेर्न धेरै टाढा जानुपर्दैन । हामीले नौमूले क्षेत्रलाई हेरे पुग्छ । त्यहाँ सामान्य कामको लागि पनि सदरमुकाम दैलेख आउनुपर्ने झन्झट हटेको छ । जग्गाको मूल्य दोब्बर वृद्धि भएकोे छ । सदरमुकामका धेरै भन्दा धेरै मानिसहरू नैमूलेमा जग्गा खरिद बिक्रीमा व्यस्त भएका छन् । हिजोआज जग्गा प्लटिङ्क हुँदैछ । नेकपा माओवादीले थालेको १० वर्षे जनयुद्धको चपेटामा परेको नौमूले क्षेत्रले पछिल्लो समय आफ्नो छुटै पहिचान बनाउँदै हाइड्रो हवको रूपमा नै पहिचान बनाएको छ । ‘विकासको पहिलो पूर्वाधार सडक रहेछ । सड्क निर्माण भए विकासले गति लिएको एमाले नेता लिलबहादुर राम्जालीले भने । २१ किलोवाटको लघु जलविद्युत आयोजनाले नौमूलेलाई झलमल्ल बनाएको छ ।
त्यो सँगसँगै दुई वटा हाइड्रो निर्माण भएको नौमूलेमा नयाँ पदमखोला हाइड्रोको शिलान्यास गरिएको छ । स्वदेशी लगानीको ४.५ मेगावाटको पदमखोला जलविद्युत आयोजनाको शिलान्यास भएको हो । पछिल्लो समय नौमूलेमा बेग्ला–बेग्लै तीन वटा हाइड्रो बन्दैछन् । द्वारीमा निर्माणाधीन ३.७५ मेगावाटको द्वारीखोला हाइड्रो परीक्षणको चरणमा छ । नौमूलेमा ४.२ मेगावाट क्षमताको लोहोरे हाइड्रो निर्माण चरणमा छ । डोल्टीपावर कम्पनी अन्तर्गत पदमखोला हाइड्रोको शिलान्यासपछि नौमूले क्षेत्रको मुहार नै परिवर्तन भएको छ । जिल्लाका अन्य स्थानमा पनि यो सम्भावना छ । यसकारण पनि अब स्थानीय सरकारले साना जलविद्युत आयोजनाहरू सञ्चालनमा जोड दिनुपर्दछ । यसले जनतालाई उज्यालोतर्फ लैजान सहयोग गर्नेछ ।
दैलेखमा फलफूलको पर्याप्त सम्भावना छ । सुन्तलाको लागि जिल्ला नै परिचित छ । कृषिमा आधुनिकीकरण गर्दै किसानलाई अनुदान दिने र सिँचाइको व्यवस्थापन भएमा आम्दानीको स्रोत बढ्नेछ । जिल्लामा नयाँ रोजगारी सिर्जना हुनेछ । यसले हालको युवा विदेश पलायन हुने समस्यालाई रोक्न सकिनेछ । यस्तै सडक विस्तार र निर्माणको कामलाई पनि प्राथमिकतामा राख्न आवश्यक छ । यसका लागि स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधिहरूले पूर्वाधार निर्माण गर्दै स्थानीय स्रोत परिचालको योजना बनाउन अब ढिला गर्नु हुँदैन । भिजन र योजना भएको नेतृत्वले सम्भावनाहरूको पहिचान गर्दै पर्यटन, जलविद्युत र फलफूल विकासका कार्यक्रमलाई प्राथमिकता दिए दैलेखले छोटो समयमा नै विकास र समृद्धिको काँचुली फेर्न सक्नेछ ।

प्रकाशित मितिः   २९ असार २०७४, बिहीबार ११:१८